राहत शिक्षक र प्रहरीबीचको मुठभेडले नयाँ बानेश्वर तनावग्रस्त

Advertisement

काठमाडौं । सहमतिविपरित संघीय शिक्षक ऐन जारी गर्न लागिएको भन्दै विरोधमा उत्रिएका राहत शिक्षक र प्रहरीबीच मुठभेड हुँदा नयाँ बानेश्वर क्षेत्र दिउसो तनावग्रस्त बन्न पुगेको छ । माइतीघरबाट नयाँ बानेश्वरको निशेषित क्षेत्रतर्फ अघि बढ्न लागेका शिक्षकहरुको जुलुसलाई रोक्न खोज्दा प्रहरी शिक्षकहरुबीच झड्प भएको हो ।

उनीहरुलाई रोक्न प्रहरीले पानीको फोहोरा प्रयोग गर्नुका साथै लाठीचार्ज गरेको थियो भने शिक्षकहरुले भने ढुँगा प्रहार गरेका थिए । त्यस क्रममा केही शिक्षकहरु घाइतेसमेत भएका छन् । सामुदायिक विद्यालयमा कार्यरत उनीहरुले आफूहरुलाई पेशागत सुरक्षा हुनुपर्ने भन्दै त्यसका लागि संघीय शिक्षा ऐनमा नै व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

उनीहरुले आफ्ना माग सम्बोधन नभए सशक्त आन्दोलन सुरु गर्ने पनि चेतावनी दिएका छन् । सामुदायिक विद्यालयमा राहत कोटामा काम गर्ने यस्ता शिक्षकहरुको संख्या हजारौं रहेको छ । उनीहरुले आफूहरुलाई स्वतः दरबन्दीमा रुपान्तरण र आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गर्नुपर्ने माग गरेका छन् । शिक्षकहरुले सहमतिविपरित शिक्षा मन्त्रालयले ऐन ल्याउने काम अघि बढाएकाले विरोधमा उत्रिनुपरेको बताएका छन् ।

Advertisement

Advertisement

Advertisement