पानीजहाजको टर्मिनल सुस्ताको त्रिवेणी व्यारेजनजिक राख्न सकिने

Advertisement

काठमाडौं । नेपाल–भारत चल्ने पानीजहाजको टर्मिनल नेपालमा त्रिवेणी व्यारेजनजिक राख्न सकिने सम्भावना दुई देशको प्राविधिक टोलीको अध्ययनले देखाएको छ । नेपालमा पानीजहाजको सम्भावना खोज्न गठित समिति र भारतको अन्तरदेशीय जलमार्ग प्राधिकरण विज्ञ समूहले सोमबार अध्ययन गरी सुस्ता गाउँपालिकामा पर्ने गण्डक नदीको स्पर (ठोकर) नम्बर १२ आसपास तत्कालका लागि टर्मिनल बनाउन सकिने सम्भावित निष्कर्ष निकालेको हो ।

त्रिवेणी व्यारेजको पुलभन्दा तल्लो भागमा स्पर नम्बर १२ आसपास टर्मिनल बनाउन उपयुक्त देखिएको नेपालतर्फको टोलीका संयोजक जल तथा ऊर्जा आयोजनाका सहसचिव माधव बेल्वासेले बताए । भारतीय पक्षले यसबाहेक त्रिवेणी ब्यारेज पुलभन्दा माथिपट्टि नवलपुरको कावासोतीआसपास पनि टर्मिनल बनाउन सकिने जनाएको बेल्वासेले बताए ।

नेपालबाट समितिका संयोजक बेल्वासेसहित परराष्ट्र मन्त्रालयकी रिता धिताल, उद्योग मन्त्रालयका सहसचिव मधु मरासिनी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका गोपाल सिग्देल, तर्कराज भट्ट, महेश्वर श्रेष्ठलगायत थिए भने भारतबाट अन्तरदेशीय जलमार्ग प्राधिकरणका विज्ञ प्रवीर पाण्डेको नेतृत्वमा नौजनाको टोली थियो ।

पानीको मात्रा पनि निरीक्षण
प्राविधिक टोलीले ब्यारेजआसपासको क्षेत्रमा पानीको मात्राको निरीक्षण पनि गरेको छ । गण्डक नदीमा पानीको मात्रा अहिले कम देखिएको टोलीको अनुमान छ । तर, भारतले सिँचाइका लागि लगेको पानीको मात्रा घटाएर या अन्य विकल्पमा पानी बढाएर जहाज चलाउन सकिने सम्भावना रहेको समिति सदस्य तथा उद्योग मन्त्रालयका सहसचिव मधु मरासिनीले बताए । तर, पानीको गहिराइको मात्रा अध्ययन गर्न बा“की रहेकाले अहिल्यै स्पष्ट भन्न नसकिने उनको भनाइ छ ।

पहिलो चरणमा १.२ मिटर गहिराइमा एक सय मेट्रिकटनसम्मको जहाज चलाउन सकिने डिपिआर तयार भएको छ । तर, १.२ मिटरभन्दा कम गहिराइ भए अझै सानो जहाज चलाउने कि भन्ने विषयमा छलफल र अध्ययन गरिने मरासिनीले बताए ।

ब्यारेजबाट माथि ल्याउने विकल्प
ब्यारेजबाट पानीजहाज माथि कटाउने विकल्पमा पनि टोलीले अध्ययन गरेको छ । ब्यारेजबाट सीधै पुलमाथि आउन नसक्ने भएकाले गण्डक नहरको पानी बाइपास हुने स्थानबाट जहाज कटाउन सकिन्छ कि भन्ने अध्ययन भएकोमा तत्काल सम्भव नभएको निष्कर्ष टोलीको छ । दीर्घकालीन रूपमा भने यो विकल्प सोच्न सकिने मरासिनी बताउँछन् ।

मंगलबार कोसी ब्यारेजमा सम्भाव्यता अध्ययन
टोलीले मंगलबार कोसी ब्यारेजमा सम्भाव्यता अध्ययन गर्ने जनाएको छ । पानीजहाजका लागि नारायणी नदी (गण्डक) नै उत्तम देखिएकाले यसैलाई पहिलो प्राथमिकता दिइएको संयोजक बेल्वासेले बताए । दुवै नदीमा सम्भाव्यता अध्ययन गरेपछि टोलीले प्रतिवेदन तयार पार्ने र लगत्तै काठमाडौंमा बैठक बसेर निष्कर्ष निकाल्ने बेल्वासेले बताए ।

भारतीय अन्तरदेशीय जलमार्ग प्राधिकरणका विज्ञ प्रवीर पाण्डेले दुई देश सीमाभन्दा ४० किलोमिटरतल बाघासम्म भारतले पानीजहाजको डिपिआर तयार पारिसकेको जानकारी दिए ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement