पाण्डे समूहको शंका– छाया सेन्टरलाई असफल बनाउन शेष घलेले स्थानीयलाई उचाले

Advertisement

काठमाडौं । ठमेलस्थित ऐतिहासिक सम्पदा कमलपोखरी मासेर व्यापारिक कम्प्लेक्स ‘छाया सेन्टर’ बनाइएको भन्दै स्थानीय आन्दोलिन भइरहेको बेला सेन्टरका सञ्चालकहरुले भने गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेले स्थानीयलाई उचालेर छाया सेन्टरलाई असफल बनाउन खोजेको आशंका गरेका छन् ।

छाया सेन्टर नजिकै घलेले पनि पाँच तारे होटल निर्माण गरिरहेका छन् । तारे होटलसहित कर्पोरेट हाउसहरुको अफिस, मनोरञ्जन स्थल, सपिङ स्टोर आदि रहने छाया सेन्टर नेपालकै ठूलो व्यापारिक कम्प्लेक्स हो । पाण्डे समूहले बनाएको छाया सेन्टर र घलेको निर्माणाधिन तारे सेराटन होटल दुरीले नजिक, उचाईले पनि अग्ला अग्ला र सेवा पनि मिल्दोजुल्दो रहेको छ ।

छाया सेन्टरका मुख्य लगानीकर्ता पाण्डे समूहले आफूहरु प्रतिस्पर्धीको रुपमा आएकाले छाया कम्प्लेक्सलाई असफल बनाउन शेष घलेले स्थानीयलाई पैसा दिएर उचाल्ने काम गरेको आशंका गरेको हो । आन्दोलन गरिरहेका स्थानीयले भने उक्त आरोपको खण्डन गरेका छ । बैंकर्स पृथ्वीबहादुर पाण्डे र ज्योतिप्रकाश पाण्डेले आफ्नी आमाको नाममा झण्डै पाँच अर्ब लगानीमा छाया कम्प्लेक्स बनाएका हुन् । ज्यातिप्रकाश पाण्डे अहिले इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत पनि हुन् ।

कमलपोखरी बचाउ अभियानका एक सदस्य यादवलाल कायस्थले स्थानीयको आन्दोलनलाई असफल बनाउन अबैध कम्प्लेक्सका लगानीकर्ताले आफूहरुलाई विभिन्न आरोप लगाउने, ज्यान मार्ने धम्की दिने, अदालतको सम्वन्धित फाँटका कर्मचारीहरुलाई आर्थिक प्रलोभनमा पारेर मुद्दा आफ्नो पक्षमा पार्ने प्रयासमा लागेको बताए ।

उनले भने– हामीलाई कहिले शेष घलेले उचाल्यो, कहिले कस्ले उचाल्यो भनेर आरोप लगाइएको छ । फरक फरक मानिसहरुलाई फोन गर्न लगाएर ज्यान मार्नेसम्मको धम्की दिने काम भएको छ । हामी कसैले उचालेर आन्दोलनमा लागेको होइन् । ऐतिहासिक सम्पदा कमलपोखरी बचाउन लागेको हो ।

कायस्थका अनुसार राजगुठीलाई निजी गुठी बनाई केही मानिसलाई हातमा लिएर व्यापारिक कम्प्लेक्स बनाइएको बताउँदै सम्पदा मासेर कम्प्लेक्स बनाउँदैमा विकास नहुने बताए । उनले पैसा र पावर देखाएर पाण्डे समूहले भवन ठड्याएको भन्दै सम्पदा संरक्षणको अभियानबाट आफूहरु कुनै पनि हालतमा पछि नहट्ने बताए ।

यता छाया कम्प्लेक्सका प्रवन्ध सञ्चालक महेश्वर श्रेष्ठले भने आफूहरुले शेष घलेलाई दोष नलगाएको जिकिर गरे । उनले वैधानिक तरिकाले निर्माण भएको छाया सेन्टरमा केही मानिसले अवरोध सिर्जना गर्न खाजेको मात्रै हो भन्दै त्यस्तो आन्दोलनले केही फरक नपर्ने बताए ।

श्रेष्ठले आफूहरुले शेष घलेलाई पनि नचिनेको र आन्दोलन गर्नेहरुलाई पनि नचिनेको बताए । उनले भने– शेष घले को हो ? चिनेको पनि छैन, कुनै रिलेशन पनि छैन् । उनले अदालतमा विगत दुई बर्षदेखि मुद्दा विचाराधिन रहे पनि आफूहरुले आफ्नो पक्षमा फैसला गराउन कुनै गलत काम नगरेको बताए । मंगलबार पनि सर्वोच्चमा छाया सेन्टरविरुद्ध स्थानीय भागवत नरसिंह प्रधानले दर्ता गरेको मुद्दाको तारेख थियो ।

Advertisement

Advertisement

Advertisement