निर्मला हत्या प्रकरणमा एसपी विष्टसहित आठ जना विरुद्व मुद्दा दायर

Advertisement

काठमाडौँ । प्रमुख एसपी डिल्लीराज विष्टसहित आठ जना विरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्धा दायर भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय कञ्चनपुरले बुधबार अभियोजनसहित पेश गरेपछि उनीहरु विरुद्व अदालतमा मुद्दा दायर भएको हो। मुद्दा दायर भएसँगै बुधबार नै ६ जनालाई जिल्ला अदालतमा उपस्थित गराइएको छ। दुई जना भने उपस्थित भएनन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी कृष्णराज ओझाका अनुसार तत्कालीन डीएसपी ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षकद्वय जगदिशप्रसाद भट्ट र एकेन्द्र खड्का, सइहरु हरिसिंह धामी र रामसिंह धामी तथा प्रहरी जवान चाँदनी साउद बुधबार अदालतमा उपस्थित भएका छन्। तत्कालिन एसपी डिल्लीराज विष्ट र सिआइबीका डीएसपी अंगुर जिसी भने अदालतमा उपस्थित नभएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता उत्तमराज सुवेदीले अदालतमा उपस्थित भएका छ जना प्रहरी कर्मचारीहरु प्रहरी हिरासतमा रहेको बताए ।

जिल्ला अदालत कञ्चनपुरका स्रेस्तेदार हरिकृष्ण सुवेदीले आठ जनाकै विरुद्व छुट्टा-छुट्टै मुद्दा दायर भएको बताए। उनले बिहीबारदेखि मुद्दाको सुनुवाई सुरु हुने बताए। अदालतमा पक्ष विपक्षबीचको बयानपछि थुनछेक आदेश हुनेछ। पुष ३ गते जिल्ला प्रहरी कार्यालयमा प्रमाण नष्ट गरेको अभियोगमा निर्मलाकी आमा दुर्गादेवी पन्तले जाहेरी दिएकी थिइन् । एसपी विष्टसहित तत्कालीन डीएसपी ज्ञानबहादुर सेठी, सिआइबीका डीएसपी अंगुर जिसी ,इन्सपेक्टर एकेन्द्र खड्का, इन्सपेक्टर जगदिश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउद विरुद्ध पनि जाहेरी दर्ता भएको थियो। यातना दिएकोमा तत्कालिन एसपी विष्टसहित, डीएसपीद्वय अंगुर जीसी र ज्ञानबहादुर सेठी र प्रहरी निरीक्षक एकेन्द्र खड्का विरुद्व जाहेरी दर्ता भएको थियो ।  सरकारले तत्कालिन एसपी विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टलाई सेवाबाट भविष्यमा अयोग्य नठहरने गरी वर्खास्त गरेको छ भने बाँकी ६ जना निलम्बनमा रहेका छन्।

गत साउन १० गते साथीको घरमा गएकी निर्मलाको साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो।

Advertisement

Advertisement

Advertisement