चितवनका नाम चलेका पर्यटकीय होटलका भान्सा घिनलाग्दो

Advertisement

चितवन । जिल्लाका ‘राम्रा’ भनिएका पर्यटकीय होटलमा गुणस्तरहीन सामान प्रयोग भएको र भान्सा फोहर रहेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालय चितवनले अनुगमन गर्दा होटलले ती मापदण्ड पूरा नगरेको पाइएको हो ।

जिल्लामा विशिष्ट व्यक्ति र विदेशी पर्यटकसमेत आउँदा बसोबास र खानपान गर्ने ती होटलले मिति सकिएका खानेकुरा प्रयोग गरेको, भान्साको सरसफाइमा ध्यान नदिएको, पकाएर राखिएका सामान सुरक्षित नरहेको डिभिजन कार्यालयका खाद्य निरीक्षक प्रदीप काफ्लेले बताए । उनका अनुसार भरतपुर गार्डेन रिसोर्ट, होटल रोयल सेञ्चुरी, आइल्याण्ड जङ्गल रिसोर्टलगायतका होटल अनुगमन गर्दा मापदण्ड पूरा नगरी भान्साघर सञ्चालन गरेको पाइएको छ ।

अनुगमनका क्रममा भरतपुर गार्डेन रिसोर्टको बेकरी उत्पादन कक्षमा राखिएका केकमा प्रयोग गरिने करीब १२ प्रकारका मिति सकिएका फ्लेबर पाइएपछि बेकरी नै बन्द गरिएको छ । दुई÷तीन वर्ष अगाडि नै मिति सकिएका फ्लेबर राखेको पाइएपछि तत्काल बेकरीजन्य पदार्थको उत्पादनमा रोक लगाइएको काफ्लेले बताए । बेकरी कक्षमा फोहर व्यवस्थापन र सरसफाइमा पनि लापर्वाही गरेको उनले जानकारी दिए ।

त्यस्तै लेबल नभएका घ्यु प्रयोग गरेको, भान्सा घरभित्र डस्टबिन खुला छाडिएको, फोहर भाँडा र ताजा तरकारी एकै ठाउँमा राखेको र खानेकुरा चिसो पारेर राख्ने कोठा (चिलिङ रूम)मा पकाइएका खानेकुरा नछोपी राखेको पाइएको छ ।

आइल्याण्ड जङ्गल रिसोर्टमा फोहर व्यवस्थापनमा व्यापक लापर्वाही गरेको पाइएको छ । फ्रिजमा लामो समयदेखि दुर्गन्धित हुने गरी राखिएको मासुजन्य पदार्थ, मःम र फ्रेञ्च फ्राई नष्ट गरिएको छ । आइल्याण्डले फोहर व्यवस्थापनमा आधारभूत आवश्यकता पनि पूरा नगरेको पाइएको काफ्लेले बताउनुभयो । बाहिरी फोहरबाट प्रत्यक्ष सम्पर्कमा रहने गरी भान्साघर खुला राखिएकाले तत्काल सुधार गर्न निर्देशन दिइएको छ ।

सेञ्चुरीमा भान्सामा फोहर, फ्रिजमा लामो समयदेखिको मासुजन्य पदार्थ रहेको पाइएको छ । उक्त होटललाई पनि तत्काल सुधार गर्न निर्देशन दिइएको छ । पर्यटकीय होटलमा भएका लापर्वाहीले यहाँको पर्यटन क्षेत्रमा नै नकारात्मक असर पार्ने व्यवसायीले बताएका छन् ।

सौराहासहित जिल्लामा पर्यटकीय स्तरका होटलका ११० भन्दा बढी होटल छन् । जिल्लामा दुई लाख हाराहारी स्वदेशी विदेशी पर्यटक घुम्नका लागि आउँछन् । पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा सौराहासहित चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र पर्ने गरेको छ । काठमाडौं, पोखरापछि चितवन देशकै तेस्रो प्रमुख पर्यटकीय गन्तव्य हो । भ्रमणका लागि जिल्लाको मूख्य आकर्षणको रुपमा भने निकुञ्ज क्षेत्र रहेको छ । क्षेत्रीय होटल सङ्घ नेपाल सौराहाका अध्यक्ष सुमन घिमिरेले यस्ता कार्यले पर्यटन क्षेत्रमा विश्वसनीयता घट्ने बताए । उनले होटलमा दक्ष जनशक्ति राखेर चुस्तदुरुस्त सेवा दिनुपर्ने बताए ।

Advertisement

Advertisement

Advertisement