माउन्टेन हाइड्रोको आईपिओमा पहिलो दिनमा ५ हजार जनाको आवेदन

Advertisement

काठमाडौं । माउन्टेन हाइड्रो नेपाल लिमिटेडको आईपिओमा पहिलो दिन बिहीबार ५ हजार ४६९ जनाले चार करोड रुपियाँ बराबरको आवेदन गरेका छन् । कम्पनीले सर्वसाधारणका लागि छुट्टाएको १२ लाख ५० हजार कित्ता र आयोजना प्रभावित बासिन्दाका लागि यसअघि जारी गरेर अवितरित ५ लाख ६६ हजार ११० कित्ता गरि कूल १८ लाख १६ हजार ११० कित्ता आईपिओ निष्काशन गरेको हो ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार ५ हजार ४६९ आवेदनबाट ४ लाख ३ हजार २९० कित्ता शेयरको माग परेको छ । माउन्टेन हाईड्रोले फागुन २३ गतेदेखि साधारण शेयर आईपिओ निष्काशन गरेको हो। कम्पनीले कूल १८ करोड १६ लाख ११ हजार रुपियाँ बराबरको १८ लाख १६ हजार ११० कित्ता आईपिओ निष्काशन गरेको हो । १७ लाख ३९ हजार ७८८ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन पाउने जानकारी दिएको छ ।

निष्काशन गरिएको कूल शेयरमध्ये दुई प्रतिशत बराबरको ३६ हजार ३२२ कित्ता कर्मचारीहरु र ४० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ । बाँकी १७ लाख ३९ हजार ७८८ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

हाइड्रोले गत असार २२ गते देखि आयोजना प्रभावित स्थानीको लागि निष्काशन गरेको १२ लाख ५० हजार कित्ता आईपिओमध्ये ५ लाख ६६ हजार ११० कित्ता शेयर बिक्री भएको थिएन ।

माउन्टेन हाईड्रो नेपालको आइपिओमा इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्ता अर्थात पाँच हजार रुपियाँ देखि ८० हजार कित्ता अर्थात ८० लाख रुपियाँसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

Advertisement

Advertisement

Advertisement