महिला नेतृ भन्छन्– नेतृत्व हामीलाई दिएको भए भ्रष्टाचार निर्मुल भइसक्थ्यो

Advertisement

काठमाडौं । महिना नेतृहरुले आफूहरुले संसदमै महिना हिंसा भोग्नुपरेको गुनासो पोखेका छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा रिपोर्टर्स क्लव शुक्रबार बोल्दै उनीहरुले महिला हिंसा माथिल्लो तहमै हट्न नसकेको गुनासो गरे ।

महिला नेतृहरुले महिला अधिकार स्थापनाका लागि आन्दोलन अझै आवश्यकता रहेको बताए । नेपालमा अझै पनि महिला पुरुषबीचको समानता स्थापित हुन नसकेकाले संघर्ष जारी राख्नुपर्ने बताए ।

नेपाल महिला संघकी अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य उमा रेग्मीले चुल्होदेखि शासनसम्म महिलाको सहभागिता पुरुषसरह बनाउका लागि संघर्ष जरुरी रहेको बताइन् ।

बिगतमा भएको महिला आन्दोलनले राज्यका विभिन्न निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको उल्लेख गर्दै रेग्मीले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताइन् ।

तर अहिले महिलाले पाएका अधिकार र आरक्षण कसैले माया गरेर दिएको नभई आफूहरुको संघर्षले प्राप्त भएको रेग्मीको दावी छ । आगामी दिनमा महिलामाथि हुने हिंसा र विभेद अन्त्यका लागि सबै महिला अधिकारकर्मी एकतावद्ध हुनुपर्नेमा उनले जोड दिइन् ।

रेग्मीले भनिन्, ‘शाषक र शाषित होइन । मालिक र दास होइन । श्रीमानले भात पकाउन र तरकारी काट्न किन हुँदैन ?’ उनले अमेरिकामासमेत महिलाप्रतिको दृष्टिकोण परिवर्तन भइनसकेकाले नेपालमा अहिलेको अवस्थालाई अत्यन्त दयनीय भन्न नमिल्ने बताइन् ।

रेग्मीले भनिन्, ‘अमेरिका जस्तो देशमा पनि महिला उम्मेदवार हिलारी क्लिन्टनलाई राष्ट्रपति चुनावमा हराइयो ।’ उनले निर्मला पन्तका बलात्कारी र हत्यारालाई सरकारले नै लुकाएको आरोप लगाइन् । “आठ महिनासम्म एउटा बलात्कारी किन पक्राउ परेन ? सरकारले नचाहेको हो, नसकेको होइन” –रेग्मीले भनिन् ।

उनले विभिन्न निकायको नेतृत्व महिलालाई दिने हो भने नेपालमा भ्रष्टाचारसमेत कम हुने दावी गरिन् । सबै क्षेत्रको नेतृत्व तहमा रहेका पुरुषहरुले नै भ्रष्टाचार गर्ने गरेको जिकिर गर्दै रेग्मीले महिला प्रधानमन्त्री बन्ने हो भने भ्रष्टाचार रोकिने दावी गरिन् ।

राष्ट्रिय जनता पार्टीकी महामन्त्री चन्दा चौधरीले पछिल्ला केही वर्षमा महिला आन्दोलनको उपलब्धि देखिए पनि पर्याप्त नभएको तर्क गरिन् । आरक्षण र ३३ प्रतिशतको बाध्यकारी नियमले मात्रै महिलाको सहभागिता बढेको उल्लेख गर्दै उनले स्थानीय निकायमा प्रमुख जति सबै पुरुष उपप्रमुखजति महिलालाई दिइएको गुनासो गरिन् ।

चौधरीले पनि निर्मलाका बलात्कारीलाई सरकारले नै लुकाएको आरोप लगाइन् । उनले भनिन् “निर्मला पन्तको हत्यारा पत्ता लागिसेकेको छ । तर सरकारले लुकाएको छ । गरिब र निमुखालाई मात्रै नियम लाग्ने हो ?” बलात्कारीलाई फास्ट ट्रयाकबाट कारबाही गर्ने व्यवस्थासहितको कानुन बनाउनुपर्नेमा उनको जोड छ ।

चौधरीले समाजमा मात्रै नभई संसदमा पनि महिला हिंसा हुने गरेको बताइन् । बजेट वितरणमा महिला सांसदलाई विभेद गरिएको उनको गुनासो थियो । चुनावकै बेला समानुपातिकतर्फ राख्ने अनि बजेट दिने बेलामा प्रत्यक्षतर्फका सांसदलाई धेरै दिने गरिएको चौधरीको आरोप थियो ।

उनले भनिन् “संसदमा महिलालाई शोषित बनाइयो । अब हामीलाई समानुपातिकबाट ल्याउनुपर्दैन । प्रत्यक्षमा चुनाव लड्न तयार छौँ ।” चौधरीले मिडियाले पनि महिलाको आवाजलाई कम महत्व दिएको आरोप लगाइन् । उनले भनिन्, “हामीले बोलेका कुरा किन महत्वपूर्ण मानिदैन ? पुरुष नेताले बोलेका कुरा मात्रै हाइलाइट गरिन्छ ।”

चौधरीले नेपालमा भएका भ्रष्टाचारका अधिकांश घटनामा पुरुषहरु नै संलग्न रहेको आरोप लगाइन् । जुन निकायमा पनि पुरुष नै प्रमुख भएकाले भ्रष्टाचार बढेको उल्लेख गर्दै उनले महिलाको भूमिका प्रभावकारी भएको ठाउँमा भ्रष्टाचार नभएको दावी गरिन् । आफूहरु प्रधानमन्त्री बनेर देश संचालन गर्नसमेत योग्य भएको चौधरीले बताइन् ।

नेकपाकी सांसद शान्ता चौधरीले अधिकार प्राप्तिका हिसाबले पछिल्लो समयको अवस्था सन्तोषजनक रहेको बताइन् । महिला संघर्षको उपलब्धिस्वरुप प्राप्त उपलब्धिलाई रक्षा गर्दै थप अधिकारका लागि अघि बढ्नुपर्नेमा उनले जोड दिइन् ।

निर्मला पन्तको बलात्कारीलाई सरकारले लुकायो भन्ने आरोपप्रति चौधरीले गम्भीर आपत्ति जनाइन् । पछिल्लो समय निर्मला प्रकरण नै सरकारको प्रमुख मुद्दा भएको दावी गर्दै उनले यो सरकारले बलात्कारी लुकायो भन्नेहरु दुई तिहाई सरकारदेखि डराउनेहरु मात्रै भएको तर्क गरिन् ।

निर्मला प्रकरणबारे संसदमा प्रधानमन्त्री र गृहमन्त्रीले पटक पटक जवाफ दिइसकेको र प्रहरी प्रशासनले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको चौधरीले बताइन् ।

उनको प्रश्न छ, “यो देशमा निर्मलाको मात्रै बलात्कार भएको छ र ? निर्मला जस्ता धेरैले हिंसा बेहोर्नुपरेको छ । अरुको विषयमा नबोल्ने ? किन निर्मलाको विषयमा मात्रै बोल्ने ?”

महिला अधिकारकर्मी तथा नयाँ शक्ति पार्टीकी सह संयोजक दुर्गा सोवले नेपालमा अझै पनि पुरुष र महिला समान हुन नसकेको बताइन् । उनले पछिल्लो एक दशकमा राजनीतिक रुपमा महिलाले फड्को मारे पनि पर्याप्त नभएको बताइन् ।

सुदूरपश्चिम प्रदेशमा छाउपडी र मधेसमा दाइजो जस्ता कुप्रथाको अन्त्य हुन नसक्दा महिला हिंसा कायमै रहेको सोवको भनाई थियो । नेपालमा महिला अधिकारकर्मीहरु आफू आवद्ध दलको आवश्यकतामा मात्रै आन्दोलन र संघर्षमा उत्रिने गरेको उनको आरोप छ । सोवले स्वार्थकेन्द्रित आन्दोलनका कारण महिलाको हक अधिकार अझै पनि सुनिश्चित हुन नसकेको तर्क गरिन् ।

उनले निर्मला पन्तको बलात्कारी अझै पनि पत्ता लाग्न नसकेकोमा असन्तुष्टी व्यक्त गरिन् । सोवले हत्यारा पत्ता लागिसके पनि सरकारले सार्वजनिक गर्न नचाहेको हो कि आशंकासमेत व्यक्त गरिन् ।

Advertisement

Advertisement

Advertisement