लैङ्गिक समानताले महिला गौरवान्वित

Advertisement

काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाम्फे र राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले १०९ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा देश विदेशमा बस्ने नेपाली महिलालाई शुभकामना दिनु भएको छ ।

आज उपसभामुख डा तुम्बाहाम्फे र उपाध्यक्ष दाहालले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै आम नारीको सुख, समृद्धि र प्रगतिको कामना गरेका छन् । उपसभामुख डा तुम्बाहाम्फेले राजनीतिक आन्दोलनबाट अन्तर्राष्ट्रिय महिला दिवस मनाउन शुरु गरिएता पनि हाल आएर यस दिनमा महिला अधिकार, सशक्तीकरण र समानताका सवालमा पनि बहस हुनथालेको बताएका छन् ।

“सामाजिक, आर्थिक कारणले विश्वमा महिलामाथि हुने उत्पीडन फरक भए पनि अझै पनि धेरै समस्या साझा छन् । राजनीतिक अधिकारदेखि महिलामाथि हुने हिंसाका घटनाको प्रवृत्ति उस्तै छ । तर, विश्व मञ्चमा ढिलै भए पनि पछिल्लो दशक महिलालाई अधिकार सम्पन्न बनाउन र राजनीतिक अधिकार प्राप्तिमा भने नेपालमा उल्लेख्य प्रगति भएको छ”, शुभकामना सन्देशमा उनले भनेका छन् ।

संविधानले सुनिश्चित गरेको अंशीय वंशीय अधिकार व्यवहारमा कार्यान्वयन गर्न अहिले भइरहेका प्रयासमा आम महिलाको चासो सकारात्मक रहेको उनको भनाइ छ ।

यस्तै राष्ट्रियसभाका उपाध्यक्ष दाहालले नेपालको संविधानले महिलाको हकलाई मौलिक हकको रुपमा स्थापित गरेको स्मरण गर्दै सबै किसिमको विभेद अन्त्य गर्दै समानुपातिक, समावेशी र समतामूलक समाज निर्माण गर्ने सङ्कल्प लिएको बताएका छन् ।

Advertisement

Advertisement

Advertisement