विदेसिने कामदार ४० प्रतिशतले घटे, रेमिट्यान्समा ३० प्रतिशतको वृद्धि

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३९.१ प्रतिशतको गिरावट आएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.८ प्रतिशतले घटेको छ । नेपालीको प्रमुख श्रम गन्तब्य मलोसियाको रोजगारी आर्थिक वर्षको सुरुआतमै बन्द भएकाले विदेशिने नेपाली कामदारको संख्यामा उच्च गिरावट आएको हो ।

अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत नयाँ र वैधानिकीकरणका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा गत वर्षकोभन्दा ठूलो गिरावट आएको छ । तर यस्तो हुँदाहुँदै पनि विप्रेषण रेमिट्यान्स आप्रवाहमा भने ३०.२ प्रतिशतले वृद्धि भएको छ । यसै अवधिमा ६ महिनामा ४ खर्ब ४३ अर्ब ३६ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले घटेको थियो ।

श्रम तथा रोजगार मन्त्रालयले पुरानो संयन्त्रबाट कामदार लैजान नदिने कुराले मलेसियामा कामदार लैजाने गरी श्रम समझदारी भएपनि प्रक्रियाबारे कुरा नमिल्दा मलेसियामा नेपाली कामदार जाने बाटो बन्द छ । तर, मलेसियाबाहेक अन्य देश जाने नेपालीको संख्यामा पनि गत वर्षभन्दा केही कमी आएको छ ।

साउनबाट पुससम्म पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ४.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३.८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा मलेसिया जाने नेपालीहरुको संख्या उल्लेख्य मात्रामा घटेको छ ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय २८.७ प्रतिशतले वृद्धि भई ५ खर्ब ५ अर्ब ४३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १.८ प्रतिशतले घटेको थियो ।

Advertisement

Advertisement

Advertisement