जापानी सफलताको विशेष चिरफारः कसरी जन्मिए विश्वविख्यात ‘कर्पोरेट हाउस’हरु ?

Advertisement

[caption id="attachment_52711" align="alignleft" width="254"]ढुनबहादुर बुढाथोकी ‘संघर्ष’ लेखक[/caption]

१ पृष्ठभूमि

‘निप्पन’ अर्थात, उदाउँदो सूर्यको देश भनेर चिनिने ‘जापान’ दक्षिणपूर्वी एसियाली मुलुक हो । जापान, सामरिकरुपमा विश्वको सातौं शक्तिशाली र आर्थिकरुपमा तेस्रो (नोमिनल) र एसियाको दोस्रो ठूलो अर्थतन्त्र कहलिन्छ । जापानी मुद्रा अर्थात ‘ऐन’ अमेरिकी डलर र युरो पछिको तेस्रो शक्तिशाली मुद्रा हो । प्रतिकूल भूबनोट र प्राकृतिक स्रोतसाधनको अभाव हुँदाहुँदै पनि सफलताको शिखरमा पुग्न सफल हुनुको मुल कारण उपयुक्त संबैधानिक व्यवस्था, कानुनी शासन, राजनीतिक स्थायित्व, गुणस्तरीय शैक्षिक प्रणाली, परिश्रमी जनशक्ति, विज्ञान प्रविधिमा गहिरो लगाबलाई मानिन्छ ।

२ धरातलीय स्वरुप
कूल तीन लाख ७७ हजार ९३० बर्ग किलोमिटर भूभागमा फैलिएको जापान भूगोलको हिसाबले बिश्वको ६१ औं ठूलो मुलुक हो जुन जर्मन, नर्वे, मलेसिया, फिनल्यान्ड वा पोल्यान्ड समतुल्य छ । चारैतिरबाट प्रशान्त महासागरले फेरो मारेको जापान द्धीपहरुको समुच्चरुप पनि हो जहाँ होक्काइदो, होन्शु, शिकोकु, ख्युसु र ओकिनवा जस्ता चारवटा ठूला दीपहरुको एकल हिस्सा ९७ प्रतिशत छ । विश्वको तेस्रो ठूलो अर्थतन्त्र कहलाउने जापानमा कोइला, तेल, प्राकृतिक ग्यास, फलाम, खनिज, वन, नदीनाला, सुन लगायतका प्राकृतिक साधन दुर्लभ जस्तै छ ।

भौगोलिक बनावटका दृष्टिले जापान ‘रिङ अफ फायर’ कहलाउदछ जहाँ नर्थ अमेरिकन, प्यासेफिक, युरेसियन र फिलिपिनी टेक्टोनिक प्लेटहरु एकआपसमा टक्राउने सम्भावना रहँदा भूकम्प, ज्वालामुखी, सुनामी जस्ता प्राकृतिक विपदको उच्च जोखिम रहेको छ । जापानमा वर्षभरमा औषत १५ सय पटक र दैनिक औषत ४ पटक भूकम्प जाने गर्छ । ६–७ म्याग्निच्युडको भूकम्प जापानको लागि सामान्य मानिन्छ । तथापि, नेपालमा जस्तो भूकम्पले तहसनहस गर्न सक्दैन ।

जापानमा सक्रिय ज्वालामुखीको संख्या २०० अधिक छ । यी ज्वालामुखी जुनसुकै बेला बिस्फोट हुन सक्छन । माउन्ट आसो त्यस्तै सक्रिय ज्वालामुखी मध्येको एक हो । बैज्ञानिकहरुले जुनसुकै बेला बिष्फोट हुनसक्ने औंल्याएका छन् । स्मरण रहोस् सन् २०१४ सेप्टेम्बर २७ मा माउन्ट ओन्टाकेमा ज्वालामुखी बिस्कोट हुँदा ६३ जनाले ज्यान गुमाएका थिए ।

३ राजनीतिक विकास
सन् १८९० नोभेम्बर २९ मा जापानमा मेजी संबिधान जारी भएको थियो । सम्राटलाई शक्तिको स्रोत मानिएको उक्त संबिधानमा हाउस अफ पियर्स र हाउस अफ रिप्रेजेन्टिटिभ गरी द्धिसदनात्मक व्यवस्थापिकासहित प्रधानमन्त्रीको व्यवस्था थियो । उक्त संबिधान १९४५ सम्म वहाल रह्यो । दोस्रो युद्धको हारपछि १९४७ मे ३ मा नयाँ संबिधान जारी भयो जुन हालसम्म वाहल छ । उक्त संबिधान मुलतः बेलायती संसदीय व्यवस्थाबाट प्रभावित छ । बेलायतमा जस्तै संबैधानिक राजतन्त्र सहितको बहुदलीय प्रजातन्त्र बहाल छ । तथापि, राजसंस्था आलंकारिक भूमिकामा सीमित छ । प्रत्यक्ष्यरुपमा शासन व्यवस्थामा हाँक्ने वा कानुन बनाउने अधिकार प्राप्त छैन । वर्तमान सम्राट अकिहितो सन् १९८९ जनवरी ७ देखि सम्राटको रुपमा बहाल छन ।

जापानको व्यवस्थापिका बेलायतको हाउस अफ लर्ड र हाउस अफ कमन्स जस्तै हाउस अफ काउन्सिल र हाउस अफ रिप्रेजेन्टिटिभको प्रावधान छ । जापानी संसद अर्थात डायटमा हाउस अप काउन्सिलमा २४२ जना सदस्य र हाउस अफ रिप्रेजेन्टिटिबमा ४७५ जना सदस्यको प्राबधान छ । बेलायत जस्तै तल्लो सदन माथिल्लो सदनभन्दा शक्तिशाली रहेको छ । निर्वाचनमा सर्बाधिक मत प्राप्त गर्ने दलको नेता प्रधानमन्त्रीको रुपमा नियुक्त हुन्छन । हाल लिबरल डेमोक्रेटिक पार्टीका नेता सिन्जोआबे जापानको ५७ औं प्रधानमन्त्रीको रुपमा वाहल छन् । महत्वपूर्ण कुरा जापानको सरकार प्रायः पुरापुर कार्यकाल टिक्छ । सन् २०१२ मा प्रधानमन्त्रीको वागडोर सम्हालेका सिन्जोआबे सन् २०१७ अक्टुबरमा पुनः दोस्रो पटक नियुक्त भए ।

जापानको राजनीतिक फाँटमा पछिल्लो चरणमा महिलाको प्रतिनिधित्व बढदो छ । हालको प्रतिपक्षी दल कन्स्टिच्युटनल डेमोक्रेटिकको नेतृन्त महिला नेतृ रेमहो मुरारतले गरिरहेकी छन् । मुरारत आगामी दिनमा जापानको पहिलो महिला प्रधानमन्त्री बन्न सक्ने बताइन्छ । त्यस्तै जापानको राजधानी तथा विश्व कै सबैभन्दा बढि जनसंख्या रहेको टोकियो महानगरपालिको गर्भनरको पगरी महिला हस्ति नाकाकुण्डले गरेकी छन् ।

४ सामाजिक संरचना
सामाजिक संस्कृति कुनै पनि मुलुकको पहिचान मानिन्छ । त्यसो त जापानीहरुको उद्भव तथा आगमनको सन्दर्भमा एकमत छैन । भलै जापानमा चिनियाँ संस्कृतिको गहिरो प्रभाब नरहेको होइन । उनीहरु एसिया महादीपबाट आएर बिभिन्न दीपहरुमा बसोवास गरेका हुन भन्ने बहुमान्य धारणा छ । कतिपयको बिचारमा यिनीहरु मलायन, काकेशियन, मंगोलियनको बंशज पनि ठान्छिन ।

जापान धार्मिक र सांस्कृतिक सहिष्णुता कामय भएको मुलुक हो जहाँ शिन्तो धर्म ५१.८ प्रतिशतले, बौद्ध धर्म ३४.९ प्रतिशतले र क्रिश्चियत धर्म २.३ प्रतिशतले मान्दछन् । त्यस्तै, ९८.५ प्रतिशत जापानी (हेपबर्न), ०.५ प्रतिशत कोरियन, ०.४ प्रतिशत चाइनिज र ०.६ प्रतिशत अन्य जातजाती बसोवास गर्दछन । जापान बहुभाषिक मुलुक पनि हो । जापानमा मातृभाषा ‘राईक्युजन’बाहेक आइनु, बोनिन, निम्क, ओरकलगायतका भाषाहरु बोलिन्छ । जापानीहरु मातृ भाषालाई उच्च सम्मान गर्दछन जहाँ स्कुलस्तरको पढाई मातृभाषामा हुन्छ ।

जापानमा परम्परागत चाडपर्व, गीत–संगीत, नाटक, खेलकुदको यथेष्ट जर्गेना भएको छ । जापानभर करिब एक लाख प्रकारका चाडपर्वहरु मनाइन्छ । ती चाडपर्वमध्ये कम्तिमा एउटा चाड हरेक समुदायले मनाउँछ । जापानको हकमा मास्क लगाएर नाचिने परम्परागत नाच निकै लोकप्रिय छ । जापानिजहरु नयाँ बर्ष र क्रिसमस धुमधामका साथ मनाउँछन् । क्रिसमसमा केएफसीको खाना खान रुचाउँछन । जापानीहरु मुलतः सुमो, बेसबल, किन्डो, जुडो, कराँटे, एकिडो जस्ता खेल खेल्न त्यति कै रुचाउँछन ।

जापानीहरु बेतुकका कुरा मन पराउँदैनन् । अखबारमा हामीकहाँ जस्तो राजनैतिक वा फिल्मी कुराले प्रसय बिरलै पाउँछ । जापानीहरु सयलाई पैसा जत्तिकै महत्व दिन्छन । यहाँसम्म कि जापानीहरु मोवाइल फोनसहित स्नान गर्दछन । जापानमा सार्वजनिक सवारी ढिला छुट्न वा बिलम्ब गर्न छुट छैन् । मात्र ५ देखि १० मिनेट ढिला गरेमा लिखित जानकारी दिने मात्र होईन, यात्रु समक्ष आई यातायातका कर्मचारीले माफी माग्नुपर्छ ।

५ बृहत अर्थशास्त्र
कुनै मुलुकको कुल ग्रार्हस्थ उत्पादन (जीडीपी)को आकार कति ठूलो रहेको छ ? उक्त कुराले त्यस मुलुकको आर्थिक हैसियत निर्धारण गर्दछ । सन् २०१७ मा जापानको जीडीपी ४.८८ ट्रिलियन अमेरिकी डलर (नोमिनल) पुगेको थियो । यस हिसाबले जापान नोमिनल्ली बिश्वको तेस्रो र पर्चेजिङ पावर प्यारेटिल्ली चौथो ठूलो अर्थतन्त्र हो । जापानले सेवा र औद्योगिक क्षेत्रमा निकै राम्रो विकास गरेको छ । जीडीपीमा सेवा क्षेत्रको योगदान सन् २०१७ मा ७१.१ प्रतिशत र उद्योगको २७.७ प्रतिशत हुनुले यी दुई क्षेत्र सबल भएको सबुत मिल्छ । सेवा र उद्योगको तुलनमा जीडीपीमा कृषि क्षेत्रको योगदान वास्तब मै कम छ । जुन १.२ प्रतिशत योगदान रहेको छ ।

प्रतिव्याक्ति जीडीपीको अबस्थाले त्यस मुलुकको जनताको क्रयशक्तिको अवस्था निक्यौल गर्दछ । सन् २०१७ मा जापानको जीडीपी पर क्यापिटा ३८ हजार ५५० अमेरिकी डलर पुगेको छ । यस हिसाबले जीडीपी पर क्यापिटा नोमिनल्ली २० औ स्थानमा र पर्चेजिङ पावर प्यारेटीका हिसाबले २८ स्थानमा रहेको छ जुन उत्साहजनक नै हो । बिकासोन्मुख तथा कम विकसित मुलुकका लागि मुद्रास्फीति चुनौतिपूर्ण कुरा हो । तर जापान मुद्रास्फीतिको सकस रहेको मुलुक होईन, जुन कुरा सन् २०१७ मा कन्जुमर प्राइस इन्डेक्स ०.७ प्रतिशत हुनुबाट पुष्टि हुन्छ । नेपालमा मुद्रास्फीति दर ७–८ प्रतिशतभन्दा कम रहेको छैन । जापानको जस्तो अत्यन्त न्यून मुद्रास्फीति दर नेपालको लागि आकाशको फल जस्तै भएको छ । बिकसित मुलुकको आर्थिक वृद्धिदर स्वभाविककै रुपमा न्यून हुन्छ जुन कुरा पछिल्लो पछिल्लो पाँच बर्षको औषत आर्थिक बृद्धि १.१८ प्रतिशत मै सीमित हुनुबाट पुष्टि हुन्छ । त्यसमाथि जापानको आर्थिक बृद्धि सन् २०१७ मा ०.७ प्रतिशत मै संकुचित रहेको छ ।

६ आर्थिक अनुशासन
कुनै मुलुकको आर्थिक प्रगतिमा आर्थिक पारदर्शीताको ठूलो हात हुन्छ । जापानले भ्रष्टाचारलाई प्रगतिको बाधक ठान्दछ । भ्रष्टाचार अत्यन्त थोरै हुने मुलुकमा जापान गनिन्छ जुन कुरा हेरिटेज फाउन्डेसनले प्रकाशन गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनको प्रतिबेदनमा कूल १७६ मुलुकमध्ये २० औं स्थानमा रहनु वा कूल १०० अंकमध्ये ७२ स्कोर प्राप्त गर्नुबाट पनि पुष्टि हुन्छ । स्मरण रहोस, औषत स्कोर सन् २०१६ मा ईयु तथा पश्चिम युरोपको ६६ अंक र एशिया तथा प्रसान्त क्षेत्रको औषत अंक ४४ र विश्वको औषत अंक ४३ रहेको छ ।

७ व्यापारमैत्री बाताबरण
कुनै मुलुकमा किन उद्योग, धन्दा, ब्यापार ब्यवसाय मौलाउँछ ? किन बाह्य लगानी भित्रिन्छ ? किन उत्पादनले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्छ ? भन्ने कुरा त्यस देशको व्यवसायिक बाताबरणले निक्र्यौल गर्छ । यस दौडमा जापान सधै अग्रस्थानमा रहँदै आएको छ जुन कुरा बिश्व बैंक समूहले प्रकाशन गर्दै आइरहको डुइङ बिजनेस प्रतिबदेन २०१८ बाट अझ पुष्टी हुन्छ । प्रतिवेदनअनुसार जापान डुइङ बिजनेश इन्डेक्समा बिश्वका १९० मुलुकमध्ये ३४ स्थानमा रहेको छ । कूल ११ वटा परिसुचकलाई आधार मानि तयार पारिने यस प्रतिबेदनमा जापानले १०० मध्ये ७५.६८ स्कोर प्राप्त गरेको छ जसमा सम्पत्तिको हकमा ८६ स्कोर, न्यायिक प्रभाबकारितमा ७३.२ स्कोर, व्यापार स्वतन्त्रतामा ८१.७ स्कोर, श्रम स्वतन्त्रतामा ७९.२ स्कोर, मुद्रा स्वतन्त्रता ८५.४ स्कोर, व्यापार स्वतन्त्रतामा ८२.३ स्कोर, लगानी स्वतन्त्रतमा ७० स्कोर र वित्तीय स्कोेर प्राप्त गरेको छ ।

८ उत्पादनमूलक क्षेत्र
कुनै मुलुक समृद्धि बन्न उत्पादनमूलक उद्योगको अहम भूमिका हुन्छ । जापानमा पहिलेदेखि हाते कागज (बाशी) सामग्री (किताब, लालटिन, छाता, पङ्खा, चङ्गा, पुतली), माटोका (सेरामिक्स) सामग्री (कप, प्याला, थाली, घैटो, चियादानी), कपडा (रंगाई, कडाई, बुट्टा) बाँसका सामग्री (टोकरी, छाता, लालटिन, पङ्खा, नाङ्लो, वाँसुरी, धनुस वाण, चङ्गा), धातुका सामान (औंठी, मुद्री, हसिया, ताल्चा, बन्चरो, बाकस, बन्दुक, फर्निचर), काठका सामान (झ्याल, ढोका, सन्दुक, आलमरी, कठपुतली), बस्त्र बुनाई (कपास, रेशम, आषा, नालु) लगायतका कुटिर अद्योगको अग्रणी मुलुक मानिन्छ ।

मेजी शासनकाल (१८६८÷१९१२)मा उद्योग र व्यापारले तीब्रता पाएको नजिर छ । औद्योगिक बिकासको लागि सन् १८७० मा उद्योग मन्त्रालय स्थापना गरिएको थियो । सरकारले आफैले उद्योग खोल्नुका साथै उद्योग व्यवसायका लागि पूँजीको प्रबन्ध मिलाएको पाइन्छ । बिनिमय केन्द्र र व्यापारिक संगठनहरु स्थापना गर्न सरकार चुकेको पाइदैन । राज्यबाट संरक्षण र सुबिधा प्राप्त हुँदा मितशुई, मित्सुबिशी, सुमितोमो, याहुदा लगायतका औद्योगिक घरानाहरुको जन्म हुन पुगेको देखिन्छ । कपडा उद्योग प्रवद्र्धन गर्न गुणस्तरीय कपास र तिनका बिऊ आयात गरको पाइन्छ । सबथोकको चाँजोपाँजो मिल्दा जापानमा कपडा उद्योग फक्रेको पाइन्छ । १८७३ मा खानी बिभाग स्थापना मात्र भएन, खानी विभागले कोइला, फलाम सुन, चाँदीको उत्खनन् अगाडि बढाएको देखिन्छ । सन् १८९० मा आईपुग्दा बास्पशक्तिबाट चल्ने कपडा, मेसिन, शिसा, रेशम, सिमेन्ट, कागजका २५० वटा उद्योग खुल्न पुगेको थियो ।

जापानले महंगो र भरपर्दो वस्तु उत्पादनमा विश्वमा पृथक पहिचान बनाएको छ । उच्च मूल्यका र टिकाउपूर्ण सामानले जापानको ब्रान्ड इमेज बनिसकेको छ । स्टिलजन्य उत्पादन, पानी जहाज, हजाई जहाज, अटोमोवाइल, इलेक्टोनिक्स, केमिकल, वापर इक्युपमेन्ट, प्रशोधित खानामा जापानको बिशेष पडक रहेको छ । प्राकृतिक स्रोत साधनको अभाब हुँदाहुँदै बाह्य मुलुकबाट कच्चा आयात गरी निर्मित वस्तु विश्वभर निर्यात गर्न सक्नु जापानकोे खुबी मान्नुपर्छ ।

जापान तोसिवा, प्यानासोनिक, सोनी, एचटीसी, क्यानन्, एलजी, सामसुङ, हिताची, क्यासियो, होण्डा मित्सुबिसी, हुन्डाई, किया, निसान, टोयोटा, कावासाही, सुजुकी, माज्दा, यामाहा, सिटिजन, फुजी, लगायतका बहुर्राष्ट्रिय कम्पनीहरुको कर्पोरेट भूमि पनि हो जहाँ कुनै कर्पोरेट हाउस स्थापना भएपछि लामो समयसम्म जिवन्त रहन्छ । महत्वपूर्ण कुरा चाहीं विश्वका २०० बर्ष पूराना पाँच हजार ५८६ कम्पनीमध्ये चार हजार १४६ वटा जापानमा मात्र रहेकाछन् जबकी यस्ता कम्पनीको संख्या जर्मनीमा ८३७, नेदरल्यान्डमा २२, फ्रान्समा १९६ वटा मात्र छन् । विश्वका ठूला मोटर कम्पनीमध्ये छ वटा जापानमै रहेका छन् । अर्धकण्डक्टर कम्पनीमा पनि जापानको त्यति कै लगाव तथा पहुँच छ जहाँ २० वटा अर्धकण्डक्टर कम्पनीहरु सञ्चालनमा छन । प्रतिघन्टा ५०० किलोमिटर प्रतिघण्टा भन्दा दु्रतगतिमा गुड्ने बुलेट ट्रेनको प्रादुभाव जापानमै भएको हो ।

जापानले प्रविधिमा अब्बलता चुम्नुको मुल कारण खोज अनुसन्धान प्रतिको लगाब र लगानी पनि हो । उक्त कुरा खोज अनुसन्धानको क्षेत्रमा लगानी भएको धनराशी र मानव संशाधनबाट पनि पुष्टि हुन्छ । स्मरण रहोस्, जापानको खोज अनुसन्धानको बजेट १३० अर्ब अमेरिकी डलर रहेको छ भने ६८ हजार बैज्ञानिकहरु सोधकार्यमा जुटिरहेका छन् । प्रत्येक कार्ययोजना, बिधि र पद्धतिमा गर्नु, बिज्ञानसंगत ढंगबाट गर्नु, गुणचक्रको (क्वालिटी सर्कल) प्रयोग गर्नु, कार्यमा निरन्तर सुधार गर्नु (काईजेन), यन्त्रमानव (रोबोटो)को भरपूर प्रयोग गर्नु, काममा संलग्न श्रमशक्तिलाई मौद्रिक तथा अमौद्रिक उत्प्रेरणामा अनुबन्धन गर्नु जापानीहरुको कार्यशैली मानिन्छ । औद्योगिक उत्पादनको ५० प्रतिशत कार्य रोवोटोबाट सम्पादन भईरहेको छ । उद्योगधन्दा मौलाउँदा यसको सिधा प्रभाव जीडीपीमा पर्न गएको छ जहाँ जीडीपीमा औद्योगिक क्षेत्रको योगदान २७.७ प्रतिशत रहेको छ ।

९ बैदेशिक व्यापार
व्यापार व्यवसाय आर्थिक समृद्धिको इन्जिन मानिन्छ । जुन मुलुकमा व्यापार व्यवसाय मौलाउँछ, त्यो मुलुक धनी बन्न समय लाग्दैन । भलै व्यापार गर्न बस्तु तथा सेवा उत्पादन गर्नु अपरिहार्य हुन्छ । इसाको पाँचौ तथा छैठौं शताब्दीतिर जापानले चीन र कोरियासँग ठूलो परिमाणमा व्यापार गरेको पाइन्छ । २९ जुलाई सन् १५५८ मा जापान–अमेरिकाबीच एक सन्धी भई जापानका चार वटा बन्दरगाहहरु अमेरिकन जाहाज आउजाउका लागि खोलिदिनुको साथै आयात निर्यात शुल्क निर्धारण भएको पाइन्छ ।

त्यसो त जापानले १८५४ ताकाबाट पश्चिमा मुलुकसँग व्यापार सुरुवात गरेको पाइन्छ । अहिले जापानको व्यापार लगभग बिश्वभर फैलिएको छ । ओपेक, डब्लुटीओ, ओईसीडी, जी२०, जापानका मुख्य व्यापार साझेदारहरु हुन । सन् २०१६ मा जापानले ६४४.९ अर्ब अमेरिकी डलरको बस्तु तथा सेवा निर्यात गरेको छ भने सोही समयमा ६०६.९ अर्ब डलरको वस्तु तथा सेवा आयात गरेको थियो जहाँ ३८ अर्ब अमेरिकी डलर बराबरको आयातभन्दा बढि निर्यात गरेको थियो । जसमा अमेरिकामा २०.२ प्रतिशत, चीनमा १७.७ प्रतिशत, दक्षिण कोरियामा ७.२ प्रतिशत निर्यात भएको थियो । जापानमा मुलतः उर्जा र इन्धनको अभाब रहेको हुँदा पेटोलियम पदार्थ, ग्यास, कोईला आयात गर्दछ । आयात मध्ये २५.८ प्रतिशत चीनबाट, १२.४ प्रतिशत इयुबाट, ११ं४ प्रतिशत अमेरिकाबाट र ५ प्रतिशत अष्ट्रेलियाबाट आयात गरेको छ ।

१० पर्यटन क्षेत्र
जापान पहाड र पर्वतमालाले भरिएको मुलुक हो । यहाँ स–साना पर्वत श्रृङखलाहरु छन् । अनेकौ नदीनालाहरु छन् । हावापानीको बिधिकता छ । चिटिक्क परेको फुजी माउन्ट छ । यसले जापानको सुन्दरता बढाएको छ । त्यसमाथि जापान शहरै शहरको मुलुक हो । प्रत्येक शहरले पृथक मौलिक बिशेषताहरु बोकेका छन् । यी बिशेषतालाई जापानले पर्यटन प्रबद्र्धनको कडि बनाएको छ । जापानले पर्यटकीय सम्पदाहरुको व्यवस्थित र व्यवसायिक बिकास गरेको कारण सन् २०१६ मा दुई करोड ४३ लाख पर्यटक भित्राउन सफल भएको थियो । टोकियो आर्थिक तथा कुटनीतिक केन्द्ररुपमा रहेको राजधानी शहर हो भने क्योटो परम्परागत संस्कृति बोकको शहरको रुपमा, ओशाका– औद्योगिक नगरी र अन्तर्राष्टिय कम्पनीहरुको हबको रुपमा, योकोहामा ट्राभल, सपिङ र बन्दरगाहा शहरको रुपमा, नारा बिश्व सम्पदाको खजाना रुपमा, एमोरी मनोरञ्जन तथा हनिमुन शहरको रुपमा, ओकिनवा खुला समुद्र र सब टर्पिकल मौसमी शहरको रुपमा, हनाजवा तालतलैया, बगैचा र उद्धान शहरको रुपमा परिचित छन् । हेमेजी क्यास्टल (ऐतिहासिक दरवार), कुमामोटो क्यास्टल, क्योटो नारा, माउन्ट फुजी लगायत २१ वटा सम्पदाहरु युनेस्कोमा सूचिकृत छन् ।

११ जल सम्पदा
उद्योगधन्दा, व्यापार व्यवसाय मौलाएको जापानमा इन्धन र उर्जा अधिक आवश्यक पर्नु स्वाभाविक हो । जापानमा कोइला, डिजल, पेट्रोल, प्राकृतिक ग्यासको अभाव छ जसको कारण बर्षेनी ठूलो मात्रामा यस्ता वस्तुहरु आयात गरिन्छ । त्यस्तै उसको आवश्यकताको ३० प्रतिशत उर्जा न्युक्लियर पावरमार्पmत उत्पादन हुन्छ । आणविक उर्जा उत्पादनको लागि जापानले ओकिनवा, कासीवाजकी, फुकुसिमामा प्लान्ट स्थापना गरिएको छ । उर्जा आपूर्तिको लागि जलबिद्युत क्षेत्रको पनि जापानले साहारा लिएको छ । साना, ठूला र मझौला जलबिद्युत आयोजनाहरु निर्माण गरिएको छ । लघु जलविद्युतको उपादेयतालाई पनि जापानले नजरअन्दाज गरेको छैन । कूल एक हजार १९८ साना आयोजनाबाट तीन हजार २२५ मेगावाट क्षमताको जलबिद्युत उत्पादन गर्नु उक्त कुराको प्रमाण हो जुन कुल जलविद्युतको ६.६ प्रतिशत हो । त्यस्तै जापानले ड्याम बनाएर ठूला जलबिद्युत आयोजनाहरु निर्माण गर्न भ्याएको छ । एक हजार १६० मेगावाट क्षमताका ओकिही पावर प्लान्ट, एक हजार २०० मेगावाट क्षमताको तमरा पावर प्लान्ट र एक हजार २८० मेगावाट क्षमताको साईन टेकेसेगवा आदि उदाहरण हुन ।

१२ कृषि क्षेत्र
जापानमा क्राइस्ट जन्मनुभन्दा एक शताब्दी अगाडिबाट धानखेती गरेको पाइन्छ । यसै पनि जापान गृष्म ऋतुमा प्रयाप्त गर्मी र आद्रता रहेको मुलुक मानिन्छ । हावापानीका हिसाबले यहाँ तीन बाली लगाउन मिल्दछ । तीन बालीका रुपमा सागपात, धानगहुँ, जौ लगाउन सकिन्छ । कृषकले रेशमका किरा पनि पाल्दछन् । धान तथा अन्य बालीबाहेक चिया, रेशम र पशुपालन गरिन्छ ।

जापानमा कृषि क्षेत्रमा सुधार गर्न भूमिसुधार कार्यक्रम आगाडि बढाएको पाइन्छ । भूमिसुधार अन्तर्गत, जग्गा बिहीनलाई जग्गा उपलब्ध गराउनेदेखि लिएर बिजको तयारी, ब्याडको तयारी, रोपाईं, सिचाईं, खनजोत, मलको मात्रामा बढोत्तरी लगाएका सुधार गरेको पाइन्छ । सरकारले सहुलियत दरमा कृषि ऋण उलपब्ध गराउनुको साथै कृषिमा आधारित उद्योगलाई सुबिधा उपलब्ध गराएको पाइन्छ । बढि उत्पादन हुने बीउ प्रयोग र कृषि क्षेत्रमा अबलम्बन गरिएका सुधारका कारण सन् १९५२ मा ९५००० मेट्रिकटन चामल आयात गर्ने मुलुक सन् १९८८ मा धानमा आत्मनिर्भर भएको पाइन्छ । हाल जापानमा कृषि उत्पादन एक करोड ४० लाख टन रहेको छ भने आवश्यकता एक करोड छ लाख टन रहेको छ ।

१३ नेपाल जापान अन्तरङ्ग
नेपाल–जापानबीच सन् १९५६ जुलाई २८ मा दौत्य सम्बन्ध कायम भएको हो । जापानले जाइका र जापान के २ का नामबाट नेपाललाई सहयोग गर्दै आएको छ । नेपाललाई सर्बाधिक आर्थिक सहायता उपलब्ध गराउने मुलुकको रुपमा पनि जापान रहेको छ । उदयपुर सिमेन्ट, कर्णाली पुल, नयाँ बसपार्क, त्रिबि शिक्षण अस्पताल, बनेपा बर्दिवास सडक, कोटेश्वर सूर्य बिनायक सडक, जापानी सहयोगमा निर्मित केही आयोजना हुन् । जापानी सहयोगमा निर्माण भएका सबै आयोजना अब्बल छन् । उदपुर सिमेन्ट कारखाना सार्बजनिक क्षेत्रको सबैभन्दा बढि लगानी रहेको उत्पादनमूलक संस्थान हो भने कर्णाली पुल एकल पिलरमा निर्मित एसिया कै अनुपम पुल हो । त्यस्तै त्रिबि शिक्षण अस्पताल सार्बजनिक क्षेत्रको सुबिधा सम्पन्न अस्पताल मानिन्छ भने कोटेश्वर–सूर्यबिनायक सडक गुणस्तरीय र आकर्षक सडक मानिन्छ ।

जापानले काठमाडौं–नौबिसे सुरुङमार्गका लागि ऋण सहयोगको प्रतिवद्धता जनाएको छ भने बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनामा जाईकामार्फत ऋण सहयोग पनि भइरहेको छ । जापानले काठमाडौं उपत्यका शहरी यातायात सुधार आयोजना, भूकम्प प्रकोप पछिको पुनःस्थपना, अनौपचारिक अर्थतन्त्रलाई औपचारिकतामा रुपान्तरण कायक्रममा प्राबिधिक सहयोग उपलब्ध गराएको छ । २०१५।१६ मा कुल बैदेशिक सहायतामा जापानको हिस्सा ४.२७ प्रतिशत छ ।

कलमकारको धारणा
हामीले सधै जापानको प्रसंशा गर्ने गरिरहेका छौं । तर जापानी जस्तो परिश्रम गर्न सिकेका छैनौं । हामी जापानबाट सधै सहयोगको अपेक्षा गरिरहेका छौं । तर जापानले उपलब्ध गराएको सहायताको जर्गेना गर्न सकिरहेका छैनौं । हामीले जापानको राजनीतिक स्थायित्वलाई उदाहरण बनाउने गरेको छौं । तर हाम्रो सरकारलाई स्थायित्व दिन सकिरहेका छैनौ । हामीले जापानको डुइङ बिजनेश सूचक, ट्रान्सपरेन्सी इन्टरनेशनलका सूचकको वकालत गरिरहेका छौं । तर हाम्रो अबस्था सुधार गर्न सकिरहेका छैनौं । जहाँ कच्चा पदार्थको अभाव हुँदाहुँदै उद्योगधन्दा फक्राएको छ । नेपालमा जस्तो खोलानाला नभईकन पनि बुढीगण्डकी जस्ता थुपै्र आयोजनाहरु निर्माण भएका छन् । यसर्थ, मुलुकमा राजनीतिक परिवर्तनको अध्याय पुरा भएको र आर्थिक समृद्धिको बहस चलिररहेको परिप्रेक्ष्यमा जापानको आर्थिक समृद्धि नेपालको लागि पथप्रदर्शक नभइरहन सक्दैन । हुनसक्छ । हुुनुपर्छ ।

Advertisement

Advertisement

Advertisement