उद्यमीले माछापालनमा करोड लगानी पुर्याउने योजना

Advertisement

बलेवा । ताराखोलामा रेम्बो ट्राउट माछापालन शुरु गरेका उद्यमीले लगानी बढाउने अभियान थालेका छन् ।

उद्यमीले करोड लगानी पुर्याउने योजना अगाडि सारेको व्यवसायीले बताए । १५ लाख रुपियाँमा काम थालेका उद्यमी पहिलोपटकको उत्पादन, बजारको माग र मूल्यबाट खुशी भएर लगानी बढाएका हुन् ।

ताराखोला गाउँपालिका–४ मा सञ्चालित ‘ताराखोला बहुउद्देश्यीय रेम्बो ट्राउट माछा फार्म’मा वित्तीय संस्थाले पनि लगानी बढाएका छन् । गण्डकी प्रदेशसभा सदस्य दीपा रोकासहित चार जनाले यो फार्ममा लगानी गरेका छन् । बागलुङ बजारका सुवास राजभण्डारी, ताराखोलाका जितबहादुर खत्री र दिवस खत्रीले चलाएको फार्ममा एकै याममा एक लाख माछा पाल्न सक्ने गरी क्षमता बढाउन लागिएको हो ।

पहिलो याममा १२ हजार ४५० बाट शुरु भएको फार्ममा दोस्रो याममा दोब्बर बनाइएको थियो । पानीको पर्याप्त सम्भावना भएकाले जग्गा खरीद गरेर उत्पादन क्षमता पाँच गुणा बनाउन लागेको राजभण्डारीले बताए । “गाउँ तहमै हरेक कृषि फसल उत्पादन गर्ने, पाहुनाले सुविधा सम्पन्न होटल र रेष्टुराँमा खान बस्न पाउने व्यवस्था पनि गर्दैछौँ” राजभण्डारीले भने, “हरेकले लगानी गरेर उत्पादन गर्न सक्ने बनाउन बाटो देखाएका हौँ ।” शुरुमा पोखरा र अन्य शहरी क्षेत्रमा बजार खोज्ने अभियान बनाएका उनीहरुले गाउँघर र बागलुङभित्रै धेरै खपत हुने देखेपछि लगानी बढाएको बताए ।

ट्राउट माछा भनेपछि ताराखोला पुग्ने हरेकले खाने योजना बनाउँछन् । सदरमुकाममा पनि थोक पसल सञ्चालन गरेर बिक्रीको प्रबन्ध गरिसकिएको रोकाले बताए । “माग गरेकालाई तत्काल पुर्याउन नसकिएकाले डेढ लाख भुरा पुर्याउने लक्ष्य बनाएका छौँ”, रोकाले भने, “त्यसका लागि जमीन र पानीको स्रोत व्यवस्थापन गर्दैछौँ । तीनवटा पोखरी थपेपछि उत्पादन बढाउन निर्माणको काम शुरु भएको छ ।”

लगानीका लागि वित्तीय संस्था सहमत भएपछि केही समयमै काम सक्ने लक्ष्य उनीहरुको छ । सोचेजस्तै व्यवसाय सञ्चालन गर्न सकेमा गाउँमै १० जनासम्म युवालाई रोजगारी दिन सकिने खत्रीले बताए । माछा फार्मसँगै रेष्टुराँ सञ्चालन गर्ने उनीहरुको योजना छ । आर्कषक गन्तव्यका लागि सदरमुकामदेखि भ्रमण र वनभोजका लागि आउनेलाई बस्ने खाने व्यवस्थाको होटल र रेष्टुराँ बनाउन स्थानीयलाई समेत जागरुक बनाउन लागेको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए ।

Advertisement

Advertisement

Advertisement