राहत रकम पाउनबाट बाढीपीडित अझै बञ्चित

Advertisement

बाँके । बाढीबाट प्रताडित बाँकेको राप्तीपारिका एक हजार भन्दा बढी पीडितले अझै राहत रकम पाएका छैनन् । सरकारी ढिलासुस्तीका कारण बाढीपीडित करीब साढे चार वर्षदेखि राहत रकम पाउनबाट बञ्चित छन् ।

शहरी विकास मन्त्रालयले विसं २०७१ का बाढीपीडितलाई शहरी विकास तथा भवन डिभिजन विभागमार्फत वितरण गर्न निकासा गरेको विशेष राहत प्याकेजको रकम उनीहरूले अहिलेसम्म पनि नपाएको बाढीपीडित सङ्घर्ष समितिका अध्यक्ष जगदीशबहादुर सिंहले बताए ।

मन्त्रालयले जग्गा हुनेलाई रु तीन लाख र जग्गा नहुनेलाई तीन लाख ५० हजार रुपियाँका दरले दिने घोषणा गरेको थियो । शहरी विकास तथा भवन डिभिजन कार्यालयका अनुसार २०७१ को बाढीका कारण त्यहाँका एक हजार ६५२ परिवार पीडित थिए ।

बाँके र बर्दियाका बाढीपीडितका लागि ५९ करोड रुपियाँ उपलब्ध भएको बताउँदै उक्त कार्यालयका इञ्जिनीयर सुनिलकुमार ठाकुरले पहिलो किस्ता ५० हजार रुपियाँ, दोस्रो किस्ता एक लाख ५० हजार रुपियाँ र तेस्रो किस्ता एक लाख रुपियाँदेखि एक लाख ५० हजार रुपियाँ दिने भनिए पनि दोस्रो किस्ता अहिलेसम्म नआएको जानकारी दिए ।

बर्दियामा तीन हजार ५७९ बाढी प्रभावित रहेकामा तीन हजार २४८ ले पहिलो किस्तावापत ५० हजार रुपियाँ बुझेका छन् । राहतका लागि पीडित नआएपछि गएको वर्ष पहिलो किस्तावापत झन्डै २८ करोड रुपियाँ फिर्ता पठाएको र त्यसयता दोस्रो किस्ता नआएको इञ्जिनीयर ठाकुरले बताए ।

विसं २०७१ मा आएको ठूलो बाढीमा मुख्य गरी तत्कालीन होलिया, बेतहनी, गङ्गापुर, महेहिया, फत्तेपुर क्षेत्रमा बढी असर पारेको थियो । विसं २०७४ का सबै बाढीपीडितले पनि अझै राहत पाउन सकेका छैनन् । प्रमुख जिल्ला अधिकारी मदन भुजेलका अनुसार यसअघि  १९ करोड रुपियाँ विनियोजन गरिएकामा राप्तीसोनारी–८ र डुडुवा गाउँपालिका–३ मा रकम वितरण हुनसकेको थिएन ।

उनका अनुसार जिल्ला विपत् व्यवस्थापन समितिले सम्बन्धित गाउँपालिकामा रकम पठाइसकेको छ । कतिपय स्थानमा आन्तरिक कारणले वितरणमा ढिलाइ भएको हो । यसअघि राहत पाउनका लागि छनोटमा परेका बाढीपीडितका लागि एक अर्ब ३७ करोड ७४ लाख माग गरिएको छ ।

सङ्घीय आयोजना कार्यान्वयन एकाइ कार्यालयले सरकारसँग उक्त रकम माग गरेको आयोजनाका इञ्जिनीयर ठाकुरले बताए । विसं २०७३ मा छनोटमा परेका बाढीपीडितलाई राहत वितरणका लागि थप रकम मन्त्रालयसँग माग गरिएको छ । रकम प्राप्त भए राप्तीपारि क्षेत्रका बाढीपीडितलाई उक्त राहत वितरण गर्ने आयोजनाको तयारी छ । रासस

Advertisement

Advertisement

Advertisement