राजश्वमा १.६४ प्रतिशतको योगदानसहित हामी अग्रणी करदाता: चौधरी ग्रुप, सिजी टेलिकमलाई सफल बनाइने

Advertisement

काठमाडौं । आर्थिक बर्ष २०७४/७५ मा चौधरी ग्रुप सम्वद्ध कम्पनीहरुले सरकारी राजश्वमा नौ अर्ब ६७ करोड रूपियाँ योगदान गरेको जनाएको छ । उक्त आर्थिक बर्षमा संकलन भएको कुल सरकारी राजश्वमा ग्रुप म्वद्ध कम्पनीमार्फत् गरिएको राजश्वको योगदान एक दशमलव ६४ प्रतिशत रहेको छ ।

चौधरी ग्रुपले आर्थिक बर्ष २०७३/७४ को तुलनामा आर्थिक बर्ष २०७४/७५ मा २२ दशमलव ७२ प्रतिशत बढि राजश्व सरकारी ढुकुटीमा दाखिला गरेको जनाएको छ । उक्त वर्ष ग्रुपले सात अर्ब ८८ करोड रूपियाँ राजश्वमा योगदान गरेको थियो ।

आर्थिक बर्ष २०७२/७३ मा भने ग्रुपले पाँच अर्ब ५९ करोड रूपियाँ राजश्वमा योगदान गरेको थियो । ग्रुपका अध्यक्ष विनोद चौधरीले सरकारी राजश्वमा उच्च योगदान पुर्याउन सकेकोमा आफू गौरवान्वित भएको बताएका छन् ।

उनको भनाई उदृत गर्दै ग्रुपले भनेको छ, ‘नेपालमा बढ्दो लगानी र फैलिदै गएको व्यवसायबाट अन्ततः रोजगारी सिर्जना र राजश्वमा हाम्रो योगदान बढ्दै गएको छ । हामी उच्च व्यवसायिक मर्यादा एवं पारदर्शीतामा विश्वास गर्छौं । हाम्रो प्रयासले राष्ट्रिय विकासमा योगदान पुग्नेछ भन्ने विश्वास छ ।’

चौधरी ग्रुपले चालू आर्थिक बर्ष २०७५/७६ मा नेपालमा २० अर्ब लगानी गर्ने जनाएको छ । केही प्रोजेक्ट सम्पन्न भईसकेको र केही कार्यान्वयन चरणमा रहेको जनाउँदै ग्रुपले यस्ता मुख्य प्रोजेक्टहरुमा पाल्पामा देशकै ठूलो मध्येको एक खानीसहितको सिमेन्ट उद्योग, काठमाडौंमा ताज भिभान्ता होटल, चितवनमा सपिङ मल, होटलसहित मल्टिप्रपोज मल ‘ल्याण्डमार्क’, सुनसरीमा सिजी इण्डस्ट्रियल पार्क, १८ मेगावाट क्षमताको मिडिल मोदी एवं ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत् आयोजनालगायत रहेको जनाएको छ ।

सिजी इण्डस्ट्रियल पार्क नवलपुरमा रहेका उद्योगहरुको विस्तार र आधुनिकीकरणमा पनि लगानी विस्तार गरिएको जनाउँदै ग्रुपले जसमा सिजी ब्रुअरी, प्याकेजिङ, स्न्याक्स फुड एवं सफ्ट ड्रिङक्स लगायतका उद्योग रहेका छन् ।

चौधरी ग्रुप देशकै अत्याधुनिक प्रविधियुक्त डिजिटल टेलिकम कम्पनी ‘सिजीलाई फसेल’ कार्यान्वयनको तयारीमा रहेको छ । यस परियोजनामा मात्रै करिब २५ अर्ब लगानी हुने जनाइएको छ । यस परियोजना कार्यान्वयनमा सम्वद्ध निकायबाट आवश्यक समर्थन र सहयोग प्राप्त हुने आफूहरुको विश्वास रहेको ग्रुपको भनाई छ ।

चौधरी ग्रुपमा १० हजारभन्दा बढि कर्मचारी कार्यरत रहेका छन् । ग्रुपअन्तर्गत उत्पादित वस्तु तथा सेवाको व्यवसायमा हजारौँको सहभागिता रहेको जनाउँदै चौधरी ग्रुपले नवलपरासीमा स्थापना गरेको सिजी इन्डष्ट्रियल पार्क दक्षिण एसियाकै उत्कृष्ट मध्येको एक मानिदै आएको जनाएको छ । ग्रुपले प्रदेशनम्बर ५ को बर्दिया र प्रदेश नम्बर १ को सुनसरीमा पनि औद्योगिक पार्क स्थापना गरिरहेको छ ।

चौधरी ग्रुप कर्पोरेट हाउस हो । ग्रुप सम्वद्ध कम्पनीका शेयरधनीहरुले लाभांस कर तिर्छन् जुन, व्यक्तिगत करमा प्रतिविम्बित हुँदैन भन्दै चौधरी ग्रुपले आफूहरु राष्ट्रकै अग्रणी लगानीकर्ता र करदाता भएको जनाएको छ । ग्रुपले दशकौंदेखि अनुकुल एवं प्रतिकुल दुवै परिस्थितिमा नेपालमा लगानी विस्तार गर्दै आएको जनाउँदै ग्रुपले भविष्यमा लगानीमा उच्च बृद्धि गर्दै देशको आर्थिक विकासमा योगदान गर्न तयार रहेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement