फास्ट ट्रयाकको डीपीआर तयार भयो, यसैसाता सरकारलाई बुझाइने

Advertisement

काठमाडौँ । नेपाली सेनाले काठमाडौँ तराई द्रूत मार्ग (फास्ट ट्रयाक)को विस्तृत परियोजना प्रितिवेदन (डीपीआर) यसै साता सरकारलाई बुझाउने भएको छ ।

नेपाली सेनाको द्रूतमार्ग परियोजना प्रमुख योगेन्द्र खाँडले कोरियाली कम्पनी योसिन र पेङ्गवाले तयार पारेर परियोजनालाई बुझाएको प्रतिवेदनको अन्तिम रूप दिने काम भइरहेको बताउँदै मन्त्रिपरिषद्बाट पारितका लागि सरकारलाई यसै हप्ता सो प्रतिवेदन बुझाउने बताए ।

प्रतिवेदन मन्त्रिपरिषद्बाट पारित भएसँगै सेनालाई निर्माणको काम द्रूत गतिमा अगाडि बढाउन बाटो खुल्ने र निर्माणको कामले अझै गति लिने उनले बताए । यसअघि प्रारम्भिक विस्तृत परियोजना प्रतिवेदन फेब्रुअरी महिनामा नेपाली सेनाको मुख्यालयम बुझाइएको थियो ।

सरकारले यो प्रतिवेदन अनुमोदन गर्ने बित्तिकै सेनालाई सुरुङ, पुल जस्ता ठूला निर्माण कार्य अगाडि बढाउन सहज हुने उनले बताए ।

उक्त परियोजना कार्यालयले केही प्राविधिक विषय र सरकारले दिएको कार्यादेश अनुसार डीपीआरको आवश्यक अध्ययन गरिसकेको र कम्पनीले दिएको प्रारम्भिक प्रतिवेदनलाई नै केही सामान्य सुझावबाहेक खासै परिवर्तन नगरेको पनि प्रमुख खाँडले बताए ।

सरकारलाई बुझाउन लागिएको डीपीआरमा करीब ९९ वटा पुल कायम गरिएको उनले जानकारी दिए । यसअघि उक्त परियोजनाले पुलको संख्या कम गर्न तीनवटा थप सुरुङ निर्माण गर्ने अवधारणा अगाडि ल्याएको थियो ।

नेपाली सेनालाई उक्त दू्रतमार्ग निर्माणको सम्पूर्ण जिम्मेवारी दिइएको र त्यसलाई सेनाले ७६.२ किलोमिटर लामो सो मार्गलाई तीन मुख्य खण्डमा विभाजन गरी काम अगाडि बढाउने तयारी गरेको छ ।

१७ किलोमिटर सडक सेना आफैंले निर्माण गर्ने र ३७ किलोमिटर सडक निर्माणका लागि भरपर्दो नेपाली निर्माण कम्पनीलाई दिने र बाँकी २२.२ किलोमिटर सडक जसमा पुल र सुरुङ पर्छ त्यसलाई विदेशी कम्पनीलाई दिइने तयारी भइरहेको जनाइएको छ ।

गोरखापत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement