धर्म निरपेक्षता, गणतन्त्र र संघीयतामा पुर्नविचार गरिन्न भने जनसंघर्षमा उत्रिन्छौंः थापा

Advertisement

दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारले हालै तराइ विखण्डनबादी नेता सिके रावतसँग गरेको संझौता कुटिल, भ्रमपुर्ण र रहस्यमय भएको भन्दै यसले राज्यलाइ थप विखण्डन तर्फ थकेल्ने स्पष्ट पार्नुभएको छ ।

रिपोटर्स क्लव दाङमा थापा सोमबार विखण्डनवादी नेता रावतले आफ्नो अभिष्ट पूरा गर्न यो सम्झौता गरेको आरोप लगाए । उनले भने, ‘वर्तमान सरकारका प्रधानमन्त्री केपी ओली र राउतबीच सम्झौता भएको लगत्तै जनकपुरमा सिके राउत पक्षधरले प्रदर्शन गरेबाट सरकार उदाङ्गिएको छ । सरकारको सुरक्षा घेराभित्रै विखण्डनकारी नारावाजी हुनु अत्यन्तै दुर्भाग्यपुर्ण हो ।’

थापाले सम्झौताको दस्तावेज आएलगत्तै रावतले फेरि आफू तराइलाई भिन्न पार्ने विषयमा जनमत संग्रहमा जाने माग नछाडेको भन्नु कुटिल चाल भएको बताए । उनले राप्रपा धर्म निरपेक्षता, गणतन्त्र र संघीयताकै विषयमा पुर्नविचार गरौं भन्ने मागमा रहेको बताउँदै आफ्ना माग पूरा नगरे चैत १ गतेदेखि जनसंघर्षमा जाने बताए ।

थापाले भने, ‘चैत १ गते सबै जिल्ला अध्यक्षहरु र केन्द्रीय समितिको बैठक बस्दैछ, त्यसपछि कस्तो जनसंघर्षमा जाने भन्ने निर्णय हुनेछ ।’ उनले सर्वपक्षीय गोलमेच सम्मेलन वा गोलमेच सम्मेलन गरेर भए पनि धर्मनिरपेक्षता हटाई नेपाललाई हिन्दु राज्य घोषणा गर्नुपर्ने माग अघि सारे ।

त्यसैगरी एक अर्को प्रसंगमा नेता थापाले आफूले पार्टीको एजेण्डा छाडेर सरकारमा नगएको पनि जिकिर गरे । उनले भने, ‘राजसंस्था सहितको प्रजातन्त्र र धार्मिक स्वतन्त्रता सहितको हिन्दु राज्य राप्रपाको मुल एजेण्डा हो, सरकारमा गए पनि यो एजेण्डा छाडेका छैनौं ।’

त्यसैबीच राप्रपाको राष्ट्रिय स्वाभिमान यात्राको तेह्रौं दिन सोमवार तुलसीपुरको विरेन्द्रचौकमा कोणसभा सम्पन्न भएको सो पार्टीले जनाएको छ । सभामा थापाले राष्ट्रिय अखण्डताको रक्षा, धर्म निरपेक्षता विरुद्धको आन्दोलन भ्रष्टाचारमुक्त समाज र हिंसा मुक्त समाजको आन्दोलनमा सहभागी हुन आम नेपालीलाई आह्वान गरे ।

विसं २०६२÷६३ को आन्दोलनपछि राष्ट्रघाती नागरिकता ऐन ल्याएर सरकारले हजारौं विदेशीलाई नागरिकता दिएको तथा सनातन धर्म र संस्कृतिमाथी आक्रमण गरेको भन्दै त्यसका विरुद्ध यो अभियान सुरु भएको पनि बताए ।

Advertisement

Advertisement

Advertisement