वायुसेवा निगममा मदन खरेललाई झड्का, वाइडबडीको मर्मतसम्वन्धी सुरुको टेण्डर नै सदर गर्न निर्देशन

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमले वाइडबडी जहाजको इन्जिन रिपियर, ओभरहल र मेन्टिन्यासका लागि गरिएको अघिल्लो टेण्डर रद्द गरी बदनियतपूर्ण तरिकाले अर्को टेण्डर गरिएको ठहर गर्दै रितपूर्वक गरिएको अघिल्लो टेण्डरलाई नै सदर गर्न सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ ।

समितिको सोमबार बसेको बैठकले निगमको आर्थिक विनियम २२३ विशेष परिस्थितिमा मात्रै लागू हुने र नियमित प्रक्रियामा सार्वजनिक खरिद ऐन र यसले निर्धारण गरेको प्रक्रिया नै आकर्षित हुने भन्दै अघिल्लो टेण्डरलाई रद्द गरी दोस्रो टेण्डर गर्ने निगमका कार्यकारी अध्यक्ष मदन खरेलको निर्णय गैरकानुनी र बदनियतपूर्ण रहेको ठहर गरेको हो ।

लेखा समितिको निर्णयमा भनिएको छ, ‘निगमको ए३२० का लागि आह्वान गरिएको इन्जिन रिपियर, ओभरहोल र मेन्टिनेन्स अफ भी२५२७क्षर््–ए५ टेन्डरमा निगमलाई फाइदा हुने र सार्वजनिक खरिद ऐन २०६३, नियमावली २०६४ र निगमको आर्थिक विनियमावली अनुरुप नै रहेकोले टेन्डर रद्द गर्नु औचित्यपूर्ण नभएकोले सुरुको टेन्डर प्रक्रियालाई नै अघि बढाउन निगमलाई निर्देशन दिने ।’

समितिका सदस्यहरुले टेण्डरमार्फत प्रतिस्पर्धाबाट ठेक्का छनोट गर्नु उत्तम उपाय हुँदाहुँदै कार्यकारी अध्यक्ष खरेलले आर्थिक प्रलोभनमा परेर अर्को टेण्डर गर्नतर्फ लागेको बताएका थिए । निगमको वाइडबडी जहाजहरुका लागि आह्वान गरिएको ‘पीबीएस कम्पोनेन्ट सप्लाई फर ए३३० एयरक्राफ्ट एण्ड इन्जिन’ टेन्डरमा निगमलाई प्राप्त चार कम्पनीहरुको प्रस्ताव मुल्यांकनबाट प्राविधिक रूपमा लुफ्थान्सा टेकनिक कम्पनीको प्रस्ताव प्रभावग्राही रहेको जनाएको छ । साथै निगमले पत्राचारमार्फत उक्त कम्पनीसँग प्रतिक्रिया मागेकोमा प्राप्त थप प्रस्ताव मितव्ययी समेत रहेको समितिको ठहर छ ।

साथै लेखा समितिले सो लुफ्थान्साको प्रस्ताव समावेश गर्दा सार्वजनिक खरिद ऐन, नियमावली र निगमको आर्थिक विनियमावली अनुरुप नै रहेको देखिएकोले सो प्रस्ताव समेत मूल्यांकनमा समावेश गरी अघिल्लो टेन्डर प्रक्रियालाई निरन्तरता दिन निर्देशन दिएको छ । साथै समितिले यस्तो टेन्डरमा भविष्यमा यस्ता समस्याहरु पुनरावृत्ति हुन नदिन थप आवश्यक कारबाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराएको छ ।

Advertisement

Advertisement

Advertisement