झण्डै चार लाख सेवाग्राहीको ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण बाँकी

yatayat-bivag

काठमाडौं । यातायात व्यवस्था विभागले सात महीनादेखि यताका मात्रै ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको बताएको छ । झण्डै चार लाख सेवाग्राहीको अनुमतिपत्र छपाइका क्रममा रहेको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए ।

उनका अनुसार पहिले सेवाग्राहीले आवेदन दिएको एक वर्षसम्मको वितरण गर्न नसकिएकामा अहिले त्यो अवधि कम हुँदै गएको छ । सात महीनामा छापिँदा पनि सेवाग्राहीलाई सुविधा नभएकाले त्यसमा सुधार गर्न लागिएको उनले बताए । उनले भने, “सेवाग्राहीले राजश्व तिरेको कम समयमा चालक अनुमतिपत्र दिनका लागि हामीले प्रयास गरिरहेका छौँ ।”

ss-college

सेवाग्राहीलाई आवेदन दिएको छोटो अवधिमा नै चालक अनुमतिपत्र वितरण गर्न १० लाख ‘कार्ड’ खरीद प्रक्रिया शुरु भएकोे विभागले जनाएको छ । विभागले एकै दिनमा धेरै अनुमतिपत्र छपाइकै लागि ‘मास प्रिन्टर’ खरिद गर्न लागेको छ । ‘मास प्रिन्टर’ को एक दिनमा सातदेखि आठ हजारसम्म ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ गर्ने क्षमता छ । उनले भने, “अहिलेभन्दा तेब्बर क्षमताको उपकरण हुँदा त्यसले अहिले रहेको समस्या हटाउन सक्नेछ ।”

देशभरका कार्यालय विभागअन्तर्गत गए पनि अनुमतिपत्र छपाइ र सफ्टवेयरको काम भने विभाग आफैँले गरिरहेको छ । यातायात व्यवस्था कार्यालय, वाग्मती (हाल प्रदेश न. ३ कार्यालय) ले भने झण्डै १३ महीनादेखिको चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको बताउँदै आएको छ ।