दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीलाई सहयोग सामग्री प्रदान

Advertisement

सुरुङ्गा  । दुर्घटना न्यूनीकरणमा सहयोग पुर्याउने उद्देश्ले प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालय इटहरी सुनसरीलाई दश थान मोटरसाइकलसहित रु ३५ लाखको सहयोग सामग्री प्रदान गरिने भएको छ ।

सडक दुर्घटना न्यूनीकरण महाभियान झापाले सो कार्यालयलाई १० थान मोटरसाइकल, ब्रेथ लाइजर र ह्वील लकसहित सात सय चालक तथा परिचालकलाई पोशाक वितरण गर्न लागिएको अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए ।

अभियानले आज बिर्तामोडमा पत्रकार सम्मेलन आयोजना गरी समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सडक दुर्घटना न्यूनीकरण महाभियानको दोस्रो चरणमा प्रदेश ट्राफिक प्रहरीलाई सो सामग्री प्रदान गर्न लागिएको संयोजक गिरीले बताए । उनका अनुसार सो सामग्री बिर्तामोडमा एक समारोहका बीच फागुन ३० गते ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिँदैछ ।

सडक दुर्घटना न्यूनीकरणसम्बन्धी १५ दिने अभियान प्रदेश नं.का १४ वटै जिल्लामा सञ्चालन गरिने प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश गौतमले जानकारी दिए । “फागुन ३० गते झापाबाट शुरु हुने सो महाभियान १५ दिनसम्म सञ्चालन हुन्छ”, प्रहरी नायब उपरीक्षक गौतमले भने ।

ट्राफिक भवन बन्दै

दुई करोड ५५ लाख रुपियाँको लगतमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको भवन निर्माण हुने भएको छ । बिर्तामोड नगरपालिकाले आठ कट्ठा जग्गा उपलब्ध गराएपछि भवन निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए । भूकम्प प्रतिरोधात्मक निर्माण हुने सो भवन तीन तलेको हुनेछ ।

Advertisement

Advertisement

Advertisement