नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको प्राविधिक प्रस्ताव स्वीकृत, २२ अर्ब लागत अनुमान

Advertisement

काठमाडौं । नागढुङ्गाबाट सिस्नेखोलासम्मको नेपालकै पहिलो सुरुङ मार्गको प्राविधिक प्रस्ताव स्वीकृत भई आर्थिक प्रस्ताव खोल्ने प्रक्रिया शुरु भएको छ । तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले विसं २०६७ माघ २३ गते पदबहाली गरेको दिन सो सुरुङमार्ग निर्माण गर्ने निर्णय गरेका थिए ।

प्राप्त भएका छ वटा प्राविधिक प्रस्तावमध्येबाट स्वीकृत गरी आर्थिक प्रस्ताव खोल्ने गरी प्रक्रिया अघि बढाइएको नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ । मार्ग निर्माणका लागि एक जापानी र पाँच चिनियाँ कम्पनीले प्राविधिक प्रस्ताव पेश गरेको आयोजना निर्देशक श्यामप्रसाद खरेलले जानकारी दिए ।

प्राविधिक प्रस्ताव स्वीकृत भएका कम्पनीको मात्र आर्थिक प्रस्ताव खोलिने उनले बताए । आर्थिक प्रस्तावको सबै प्रक्रिया पूरा गरी वैशाख अन्तिम सातादेखि नै निर्माण व्यवसायी काममा परिचालन गर्ने गरी तयारी भएको आयोजनाले जनाएको छ ।

प्रवेश मार्गसहित ५.५६ किमी सुरुङ मार्ग निर्माणका लागि २२ अर्ब रुपियाँ लाग्ने लागत अनुमान गरिएको छ । साढे पाँच अर्ब प्रभावितलाई मुआब्जा वितरणमै खर्च हुनेछ । काठमाडौँको चन्द्रागिरी नगरपालिकाको वडा नं. १, ३ र ५ का पीडितलाई मुआब्जा वितरण शुरु भएको छ । हालसम्म दुई अर्ब ४० करोड रुपियाँ मुआब्जा वितरण भइसकेको जनाइएको छ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियत ऋण सहयोगमा दुई वर्ष अघिदेखि सुरुङ मार्ग निर्माण प्रक्रिया शुरु भएको थियो । सुरुङ मार्गका लागि जाइकाले १६ अर्ब रुपियाँ सहयोग गर्नेछ । छ अर्ब रुपियाँ सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने आयोजनाले छ ।

चार वर्षमा सुरुङ मार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसअघि जलविद्युत् र खानेपानी आयोजनाका लागि लागि सुरुङ निर्माण भएपनि यातायात नै सञ्चालन हुनेगरी पहिलोपटक मार्ग निर्माण गर्न लागिएको हो । मार्गमा दुईवटा साना ‘फ्लाई ओभर’ समेत निर्माण गरिने आयोजना निर्देशक खरेलले बताए ।

Advertisement

Advertisement

Advertisement