नेताहरु भन्छन्– विप्लवका गतिविधिलाई नियन्त्रण गर्न हतार नगर्याभए हुन्थ्यो

Advertisement

काठमाडौं । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य अनिल झाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीका गतिविधिमाथि हतारमा प्रतिवन्ध लगाइएको बताएका छन् । सरकारले बधबार उक्त पार्टीका गतिविधिमाथि प्रतिवन्ध लगाएका थियो ।

रिपोर्टर्स क्लवमा बुधबार झाले भने, ‘यो कुरा त के हो भने जब कुनैपनि चिजलाई बढ्ता थिचिन्छ, त्यो झन माथितिर आउने स्थिति हुन्छ । यसलाई ‘ट्याक्टफुल्ली–ह्याण्डलिङ’ गर्न सक्नुपर्दथ्यो । २०५२ सालमा जब माओवादीहरु गएर तत्कालिन् प्रधानमन्त्रीलाई एउटा ज्ञापनपत्र बुझायो, त्यसलाई कुनै पनि वास्ता गरिएन । हुँदै जाँदा यत्रो ठूलो जनयुद्ध भयो । देश नै अहिलेसम्म फसिरहेको अवस्था छ ।’

उनले विगतको घट्नाबाट पाठ सिकेर सरकारले विप्लवमाथि कारबाही वा प्रतिबन्ध लगाउनु भन्दापनि वार्ता तथा सम्वादद्धारा समस्याको अवतरण गराउने प्रयास गरिएको भए राम्रो हुन्थ्यो भने । झाले भने, ‘वार्ता तथा सम्वादमार्फत सेफल्याण्डिङ गरेको भए भए नै उचित हुन्थ्यो ।’

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता देवेन्द्र पौडेलले सरकारले विप्लवमाथि हतारमा प्रतिबन्ध लगाएको टिप्पणी गरे । उनले भने, ‘हिजोको क्याविनेटको निर्णय जुन भएको छ, यसबारेमा पार्टीमा छलफल हुन बाँकी छ । म पार्टीको जिम्मेवार व्यक्ति भएको हुँदा मेरा कुराहरु म पार्टीको बैठकमा राख्छु । तर पनि म यतिमात्रै भन्न चाहन्छु कि यी समस्याहरु शान्तिपूर्ण तवरले नै हल गर्नुपर्छ । कुनैपनि पक्षलाई निषेध गर्ने र कहीँ न कहीँ जबरजस्त गर्ने, त्यसलाई कहीँ न कहीँ बाध्यात्मक कदम चाल्ने अवस्था सिर्जना गर्ने काम राज्य पक्षले गर्नुहुँदैन् ।’

पौडेलले अहिलेको सिजन र अवस्था भनेको शान्तिपूर्ण तवरले खुल्ला प्रतिस्पर्धामा आउनको निम्ति संविधानप्रदत्त अधिकारलाई अधिकतम प्रयोग गर्नुपर्ने भएको बताए । उनले थपे, ‘सरकारले अधिकतमभन्दा अधिकतम लचिलो भएर सबै पक्षलाई वार्तामा ल्याउनुपर्छ, यतिबेला सरकारको भूमिका हुनुपर्दथ्यो । त्यसलेमात्रै विकास निर्माणका कामहरु द्रुत गतिमा अघि बढाउन सक्छौं ।’

नेता पौडेलले विप्लवले पनि प्राप्त भएका उपलब्धिहरुको रक्षा गर्दै शान्तिपूर्ण तवरले आफूलाई प्रस्तुत गर्नुपर्ने बताए । उनले भने, ‘जनतामा जागरण ल्याउनुपर्छ भने पनि संविधानअनुसार नै गर्नुपर्छ । त्योभन्दा अरु तरिका अपनाईयो भने त्यसले स्वयम उहाँ र उहाँको पार्टीलाई राम्रो गर्दैन् ।’

राज्यले समस्याको समाधान गर्न वार्ता, सम्वाद तथा सहमतिकै प्रक्रियाद्धारा गर्नुपर्ने पौडेलको भनाई छ । उनले भने, ‘त्यसको लागि सरकारले अन्तिम र अधिकतम प्रयत्न गर्नुपर्छ । त्यो प्रयत्न गर्दागर्दै पनि राज्यले तोकेको विधि र प्रणालीविपरित एकपछि अर्को वार्ता तथा सहमति तोड्दै जाने काम भयो भने राज्यले त्यतिवेला आफ्नो स्टेप लिन सक्छ ।’

पौडेलले राज्यले नियन्त्रण गर्नै नसक्ने घट्नाहरु अहिले नघटेको पनि जिकिर गरे । उनले भने, ‘केही प्रकारका छिटपुट घट्नाहरु घटेका छन्, यसबारेमा छानबिन गरेर अन्तिम अवसर दिँदा नै राज्यको लागि राम्रो हुन्छ ।’

नेता पौडेलले थपे, ‘हामीहरु अहिले पनि हिजोका घाउहरु सुल्झाउने प्रयास गरिरहेका छौं । कतिपय पक्षले नेपाललाई द्वन्द्वको क्रिडास्थल बनाउन खोजिरहेका छन् । हामीले त्यसो गर्न दिनुहुँदैन् ।’

Advertisement

Advertisement

Advertisement