आफूहरुको माग सरकारले नसुनेको भन्दै प्रदर्शनमा उत्रने ट्याक्सी चालकहरुको तयारी

Advertisement

काठमाडौं । सरकारले आँफूहरुकोे माग पूरा नगरेको भन्दै ट्याक्सी चालकहरु आन्दोलनमा उत्रिने तयारी गरेका छन् । उपत्यका संयुक्त ट्याक्सी चालक व्यवस्थापन समितिले वैज्ञानिक भाडादर तोक्न महिनौंदेखि माग गर्दा पनि सुनुवाई नभएको भन्दै आन्दोलनमा उत्रनुपर्ने अवस्था आएको बताएको छ ।

समितिअन्तर्गतका एक ट्याक्सी चालक भुपाल थापाले अरु सबैका माग सम्बोधन गर्ने सरकारले आफूहरुका मागप्रति उदासिन बनेको भन्दै आउँदो शनिवार राजधानीमा प्रदर्शनमा उत्रने तयारी गरिएको बताए । काठमाडौंमा १० वर्षदेखि ट्याक्सी चलाउदै आएका रामेछापका थापाले भने, ‘सरकारले घरभाडा, कर र अन्य चिजहरुको भाडा बढायो तर हाम्रो परिश्रमको मूल्य बढेन, त्यसैले हामी यसरी आन्दोलनमा उत्रिएका छौं।’

शनिवारदेखि चल्ने आन्दोलन माग पूरा नभएसम्म लम्बिन सक्ने उनले बताए । आँफूहरुले सामान खरिद गर्नुपर्दा २०७५ सालको मूल्यमा खरिद गर्नुपर्ने तर २०६९ सालको मूल्यमा सेवा दिनुपर्ने भन्दै थापाले साहुको ट्याक्सी लिएर दिनमा दुई हजार साहुलाई दिनुपर्दा १० वर्षसम्म आफ्नो केही उपलब्धी नभएको गुनासो पोखे ।

चालक थापाले टुटल र पठाओको सेवाले पनि ट्याक्सी व्यवसायीलाई ठूलो असर पारेको गुनासो गरे । उनले भने, ‘एयरर्पोट, भन्सार र विभिन्न स्थानहरुबाट उनीहरुले कन्ट्याकमा यात्रु उठाइदिँदा ट्याक्सी चालकलाई घाउमाथि नुन छरेको जस्तै भएको छ । यसलाई रोक्न भन्न मिल्दैन तर सरकारले माग पूरा गरी ट्याक्सी व्यवसायका लागि छुट्टै नीति नियम र व्यवस्था बनाउन आश्यक छ ।’

Advertisement

Advertisement

Advertisement