काठमाडौंवासीलाई निराश बनाउने मेलम्चीका कर्मचारीको उत्तर– पानी कहिले आउँछ, कुनै टुँगो छैन्

Advertisement

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाका कर्मचारीहरुले यस आयोजनाको पानी आउने कुरा अब कति समय लाग्छ भन्नै नसकिने तर्क गर्छन् । पछिल्ला बर्षहरुमा आयोजना सम्पन्न हुन लागेको भन्दै सरकारका मन्त्रीहरुले काठमाडौंवासीलाई आशा देखाउँदै आएकामा आयोजनाको विदेशी ठेकेदार हिंडेपछि आयोजनाका कर्मचारीहरुले काठमाडौंवासीलाई निराश बनाउने कुरा गर्न थालेका हुन् ।

आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्त भन्छन्, यो आयोजना कहिले अघि बढ्छ र कहिले काठमाडौंवासीले मेलम्चीको पानी पिउन पाउँछन् ? केही भन्न सक्ने अवस्था छैन् । आयोजना नै अनिश्चित भएपछि पानी आउने कुरा कसरी निश्चित गर्न सकिन्छ ? यसको कुनै टुँगो नै छैन् ।

उनले आयोजनाको बाँकी काम सम्पन्न गर्न नेपाली सेनालाई जिम्मा दिने कुरा सरकारको कुरा भएको बताउँदै आयोजनाले भने छिटो छरितोरुपमा काम सक्नेगरी नयाँ टेण्डरको तयारी गरिरहेको बताए । यद्यपि यसको पनि कुनै टुँगो लागिनसकेको पन्तले बताए । पन्तले नयाँ ठेक्का के कसरी अगाडि बढाउने भन्ने कुरामै अन्योलता रहेको बताए ।

सोही आयोजनासम्वद्ध एक नेपाली निर्माण कम्पनीका प्रतिनिधिले भने सेनालाई नै दिँदा पनि मेलम्चीको पानी आउन एक बर्ष कुनुपर्ने र नयाँ ठेकेदारले दिने हो भने दुई तीन बर्ष पनि लाग्नसक्ने बताउँछन् । उनका अनुसार आयोजनाको ९० प्रतिशतभन्दा बढि काम सकिएको देखिए पनि पानी बितरणसम्म धेरै खालको अप्ठ्यारा कामहरु आइरहने भएकाले मन्त्रीहरुले भनेजस्तो छिटो नहुने बताए ।

अर्कोतर्फ काम छोडेर हिँडेको इटालियन निर्माण कम्पनीबाट रकम लिन बाँकी रहेका आयोजनाका कर्मचारीदेखि आपूर्तिकर्ता र नेपाली निर्माण कम्पनीहरु आन्दोलनमा उत्रिएका छन् । कर्मचारीले सात महीना अघिदेखि काम गरेको तलब नपाएको बताएका छन् । आपूर्तिकर्ता र निर्माण कम्पनीहरुले आफूहरुले पनि करोडौं रुपियाँ सिएमसीबाट पाउन बाँकी रहेको भन्दै उक्त पैसा पाउने सुनिश्चित नभए काम अघि बढ्न नदिने चेतावनी दिन थालेका छन् ।

राससका अनुसार सुरुङ निर्माण कार्यमा मजदूरी गरेका पूर्णबहादुर लामिछानेले आफूले मजदूरी गरेको तलब नदिई कम्पनीले ठेक्का रद्द गरेर भागेपछि आफ्नो पसिनाको मूल्य कसरी लिने ? भन्ने चिन्ता लागेको बताए ।

त्यस्तै सिएमसीले ठेकेदार कम्पनीले स्थानीय ‘सप्लायर्स’ र ‘भेण्डर्स’ (ढुवानी तथा निर्माण उपकरण उपलब्ध गराउने कम्पनी)लाई मात्र १६ करोड ५० लाख ३८ हजार ५०० रुपियाँ भुक्तानी दिन बाँकी रहेको आपूर्तिकर्ता बताउँदै आएका छन् । उनीहरुले ठेकेदार कम्पनीले ठेक्का छाडेर हिँडेपछि भुक्तानीका विषयमा प्रधानमन्त्री, खानेपानीम न्त्री र आयोजनाको कार्यकारी निर्देशकलाई जानकारी गराउँदा पनि सुनुवाइ नभएको बताउँदै आफूहरुले पाउनुपर्ने रकम उपलब्ध नगराए आयोजनाको ‘साइट’ कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।

Advertisement

Advertisement

Advertisement