ढुङ्गा विस्फोटन गराई स्याफ्रुबेँसी–मैलुङ खण्डको अवरोध हटाईयो

Advertisement

रसुवा । गत साउन–भदौको वर्षाका कारण अवरूद्व स्याफ्रुबेँसी–मैलुङ खण्डको नयाँ राजमार्गको अवरोध हटाउने कार्य बुधबार साँझ सम्पन्न भएको छ । गल्छी–त्रिशुली, मैलुङ–स्याफ्रुबेँसी सडक सुधार आयोजनाका इञ्जिनीयर तुलाकान्त चौधरीका अनुसार स्याफ्रुबेँसी नजिक छोकलदेखि मैलुङसम्म नेपाली सेनाले गत वर्ष खोलेको १७ किलोमिटर राजमार्ग सतहमा वर्षाको पहिरोले ल्याएका ठूलाठूला ढुङ्गा विस्फोटन गराई स्काभेटरको सहायताले अवरोध हटाई साना तथा मझौला सवारीसाधन सञ्चालन गरिएको हो ।

नेपाली सेनाले डबल लेनको ट्र्याक खोली गत वर्षको वैशाख ६ गते सडक विभागअन्तर्गत रहेको सडक सुधार आयोजनालाई बुझाए पनि नाली तथा ठाउँठाउँको टेवा पर्खाल निर्माण एवं कालोपत्र गरी मजबुत पार्ने काम बाँकी हुँदै वर्षायाम शुरु हुँदा नयाँ ‘कटिङ’ स्थानका कमजोर भूभागमा अनगिन्ती पहिरो गई पुरिएका सडक सतह खुला गरिएको बताइएको छ ।

स्याफ्रु–मैलुङखण्ड राजमार्गमा नेपाली सेनाले ट्र्याक खोलेपछि परीक्षणबाहेक यसभन्दा अघि अन्य सवारीसाधन नगुडेको सडक सुधार आयोजनाले जनाएको छ । सडकको अवरोध हटाउन यही फागुन २१ गतेबाट विस्फोटन शुरू गरिए पनि २४ गते अपराह्न गएको सुक्खा पहिरोका कारण कम्प्रेसर मेसिन क्षति भई काबुभन्दा बाहिरको परिस्थिति सिर्जना हुँदा ट्र्याक खोल्ने काम केही दिन ढिलो भएको कार्यरत प्राविधिकले बताएका छन् ।

विस्फोटक पदार्थको सहायताले सडक सतहका ढुङ्गा विस्फोटन गराउन नेपाली सेनाको कालीजङ्ग गणले उल्लेखनीय सहयोग पु¥याएको सडक सुधार आयोजनाले जनाएको छ । गोसाइँकुण्डको त्रिशूलधाराबाट उत्पत्ति भई सानो आकारले बग्ने धुञ्चे पुछारको त्रिशूली नदीमा भने ग्रेगर ढुङ्गाले पुरी यातायातका साधन सञ्चालनको व्यवस्था मिलाइएको बताइएको छ ।

स्याफ्रुबेँसी–मैलुङ १७ किमी राजमार्गको मैलुङ र धुञ्चे पुछारको त्रिशूली नदीमा पक्की पुल, ठाउँठाउँको छेउ तथा कुनातर्फको मेसिनरी तथा ग्याबिन पर्खाल निर्माण र कालोपत्रका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सहित बोलपत्रको प्र्रक्रिया अगाडि बढिसकेको प्राविधिकले बताएका छन् ।

गल्छी–त्रिशुली–मैलुङ सडक सुधार आयोजनाका प्रमुख सुबोध देवकोटाले माथिल्लो निकायको निर्देशन र रसुवाका जनप्रतिनिधि तथा जनचाहनाअनुरूप नदी किनारबाट राजमार्ग खोलिए पनि तत्कालका लागि भने ‘सिङ्गल लेन’को हुने जानकारी दिनुभयो । बाह्र चक्के ठूला सवारीसाधन गुड्ने वातावरणका लागि थप फराकिलो पारी सतह मिलाउन एक साता लाग्ने प्राविधिकले जानकारी दिएका छन् ।

गल्छीदेखि त्रिशुली, वेत्रावती, कालिकास्थान धुञ्चे हुँदै रसुवागढी सम्म १०४ किलोमिटर र गल्छीदेखि वेत्रावती, मैलुङ हुँदै नदी किनारबाट रसुवागढीका लागि ७९ किलोमिटर कायम रही २५ किलोमिटर कमी हुने देखिएकाले नेपाल–चीनबीच व्यापार व्यवसाय अभिवृद्विका लागि नदी किनारको राजमार्ग छिटोभन्दा छिटो सञ्चालन गर्न सबै पक्षले विशेष चासो दिएको नागरिक समाजले जनाएको छ ।

नयाँ ट्र्याक सफा गरिएको उक्त राजमार्गमा नेपाल–चीन केरूङबाट सामान आयात निर्यातका लागि चल्ने यातायातको सुरक्षा व्यवस्था एवं नयाँ मार्गबाट हुनसक्ने गैरकानूनी क्रियाकलाप नियन्त्रणका लागि सुरक्षा प्रबन्ध मिलाइसकिएको स्थानीय प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले स्याफ्रु–मैलुङ खण्डको नयाँ राजमार्गमा सडक सुधार आयोजनाको कामलाई बाधा नपर्ने गरी प्राविधिकको राय सुझावका आधारमा यातायात सञ्चालनको व्यवस्था मिलाइने जानकारी दिए । रासस

Advertisement

Advertisement

Advertisement