प्रतिजैविक औषधिको व्यवस्थापनका लागि जनचेतना आवश्यक

Advertisement

काठमाडौं । वातावरण क्षेत्रका जानकारले प्रतिजैविक औषधिको व्यवस्थापनको कमीले हुने वातावरण प्रदूषण नियन्त्रण गर्न जनचेतना आवश्यक रहेकोमा जोड दिएका छन् ।

‘प्रतिजैविक प्रतिरोध राष्ट्रिय कार्ययोजना’ तयारीका क्रममा वातावरणीय विषयमाथिको छलफलका क्रममा उनीहरुले प्रतिजैविक औषधि उत्पादन गर्ने, बिक्री वितरण गर्ने र प्रयोग गर्नेलगायत सबैमा जनचेतना जगाई यसबाट हुने वातावरणीय प्रदूषण नियन्त्रण गर्न सकिने धारणा व्यक्त गरेका छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार गरिरहेको सो कार्ययोजनामाथि वन तथा वातावरण मन्त्रालयको वातावरण विभागसँगको अन्तक्र्रिया कार्यक्रममा उपमहानिर्देशक सफला श्रेष्ठले प्रतिजैविक औषधिको व्यवस्थापनको विषय शैक्षिक पाठ्यक्रममा समावेश गर्न सुझाव दिए।

उहाँले आमसञ्चार माध्यममार्फत आम जनतालाई पनि यसबारेमा जनचेतना जगाई वातावरणीय प्रदूषण नियन्त्रणका लागि प्रभावकारी अनुगमन संयन्त्रसमेत गठन हुनुपर्ने बताए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले प्रतिजैविक औषधिको व्यवस्थापन नहुँदा वातावरण क्षेत्रमा पर्ने असर नियन्त्रणका लागि मापदण्ड निर्धारण गर्न आवश्यक रहेकोमा जोड दिए ।

कार्ययोजनाले जनचेतना र ज्ञान अभिवृद्धि, अनुसन्धान र सरसफाइ सङ्क्रमण रोकथाम, औषधिको समुचित प्रयोग एवं प्रतिजैविक प्रतिरोध समस्या निराकरणका लागि दिगो लगानीको उद्देश्य राखेको डब्लुएचओका राष्ट्रिय परामर्शदाता कृष्णमान श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा मन्त्रालयका इञ्जिनीयर तुलसीनारायण महर्जन, काठमाडौँ महानगरपालिकाको वातावरण विभागका प्रमुख हरि श्रेष्ठ, मन्त्रालयको वातावरण विभागका शङ्करप्रसाद पौडेल, हेल्थ केयर फाउण्डेसन नेपालका महेश नकर्मीलगायतले प्रतिजैविक औषधिको समुचित प्रयोग र उचित व्यवस्थापनले वातावरण क्षेत्रमा हुने प्रदूषण नियन्त्रण गर्न सकिनेमा जोड दिएका थिए ।

प्रतिजैविक औषधि आवश्यक मात्राभन्दा बढी वा कम सेवन गरेमा, पशुपक्षीमा वृद्धिवद्र्धकका रुपमा जथाभावी प्रयोग गरेमा प्रतिजैविक प्रतिरोध हुनसक्छ । यसको समाधानका लागि चिकित्सकको सल्लाहअनुसार मात्र प्रतिजैविक औषधिको प्रयोग गर्ने, सामान्य रुघाखोकीजस्ता रोगमा प्रतिजैविक औषधिको प्रयोग नगर्ने, निर्धारित मात्रामा प्रतिजैविक औषधि सेवन गर्नुपर्छ ।

Advertisement

Advertisement

Advertisement