कालोपत्रेका लागि पर्वतका सात सडक छनोट

Advertisement

पर्वत । ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी) कार्यक्रमअन्तर्गत कालोपत्रेका लागि जिल्लाका सात सडक छनोट भएका छन् ।

एशियाली विकास बैंकको सहयोगमा ती सडकको एक सय किलोमिटरभन्दा बढी भाग कालोपत्रे हुने भएको हो । पर्वतमा ६० किलोमिटर मात्रै सडक कालोपत्रे गर्न लागिएकामा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालको पहलमा करिव एक सय १० किलोमिटर सडक कालोपत्रे हुने भएको हो ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको ग्रामीण सडक सञ्जाल सुधार आयोजना समन्वय एकाइले गत सोमबार कालोपत्रेका लागि छनोट गरेको सडकमा जैमुनीघाट–खानीगाउँ–खलडाँडा हुँदै कार्कीनेटा सडकको कूल १५ किलोमिटर, देवीस्थान (ओखले)–लमाए–लिमिठाना–ठानामौला–बेतनी–थापाठाना सडकखण्डको १५ किलोमिटर तथा मिलनचोक–रातामाटा–शालिजा सडकको कूल १८ किलोमिटर सडक छन् ।

यसैगरी पातिचौर–बाजुङ्ग–क्याङ–नागी सडकको १८ किलोमिटर, रतिखोला–चित्रे–भदौरे सडकको कूल १९ किलोमिटर सडक, दोबिल्ला–पकुवा–गङ्गटे–आर्थर सडकको १५ किलोमिटर सडक तथा त्रिवेणी–टकलाक–सिगरकोस सडक पनि कालोपत्रे हुने भएको छ ।

आरसिआइपीको दोस्रो चरणअन्तर्गत आगामी तीन वर्षभित्रमा यी सडक कालोपत्रे गरिने अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।
ग्रामीण सडक सञ्जाल सुधार आयोजनाका अनुसार सडकको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्न एक वर्ष लाग्ने भएकाले २०२१ देखि कालोपत्रे शुरु गरिने भएको छ ।

आरसिआइपी कार्यक्रम मुलुकभरका १६ जिल्लामा लागू भएको छ । अहिले दोस्रो चरणको कार्यक्रमका लागि तयारीस्वरुप योजना छनोट भएको हो । डिपिआर तयार भएपछि दातृ निकाय र नेपाल सरकारको संयुक्त लगानीमा सडक निर्माणको काम अघि बढ्ने आयोजनाले जनाएको छ । यसअघि जिल्लाको १० वटा सडक कालोपत्रेका लागि छनोट भए पनि गण्डकी प्रदेशले सात वटा सडकमात्रै छनोट गरेको थियो ।
पातीचौर बजार संरक्षण योजना अन्तिम चरणमा 

मोदी गाउँपालिका वडा नं २ र ५ को सिमानामा पर्ने पातीखोलाको कटानले धनजनको क्षति हुन थालेपछि नियन्त्रण गर्न थालिएको छ । स्थानीय पातीचौर र आसपासको बजार क्षेत्रलाई वर्षौंदेखि पातीखोलाले कटान गर्न थालेकाले संरक्षणका काम अघि बढाइएको हो ।

मोदी–२ देउपुरमा सञ्चालित नयाँ मोदी–लेखनाथ एक सय ३२ केभीए प्रसारण लाइन आयोजनाले करीब पाँच करोडको लागतमा पातीचौरको सुन्चाप आसपासको बस्ती, पातीचौर बजार, पोखरा–बागलुङ र पातीचौर–मैदान सडकसमेत संरक्षण गर्ने गरी काम शुरु गरेको हो । गत पुसदेखि शुरु भएको काम अन्तिम चरणमा पुगेको उक्त गाउँपालिकाले जनाएको छ ।

सुन्चापदेखि पातीचौर बजारसम्म नै जालीका ढुङ्गा भर्ने काम भइरहेको छ । यसअघि वर्षामा आउने पातीखोलाको भेलले किनार आसपासका बस्तीमा समेत असर पुर्याउँदै आएको थियो । वर्षेनी खोलाले जमीन कटान गर्दै जाँदा खेत बगरमा परिणत भएपछि कतिपय परिवार बसाइँ पनि सरेका थिए । तीन वर्षअघि आएको बाढीले खोला किनारको रेन्बो ट्राउट माछा फार्म बगाउँदा उद्यमी यामप्रसाद शर्मा र हरि चुवाईंलगायतलाई ठूलो नोक्सानी भएको थियो ।

संरक्षण पछि मोदीवासी अब कहिल्यै खोलाको ज्यादती सहन नपर्ने आशामा छन् । “पुस्तौँदेखि धेरै पीडा सहेर बस्यौँ”, स्थानीय देउकली गौतमले भने, “अब आनन्दले निदाउन पाउने आशा जागेको छ ।” आयोजनाले १२ हजार घनमिटर जालीमा ढुङ्गा भरेकाले आसपासको करीब तीन सय रोपनी खेतीयोग्य जग्गासमेत संरक्षण हुने भएको छ ।

“त्यहाँका जनप्रतिनिधि र स्थानीयवासीले धेरैपटक आग्रह गर्नुभयो”, आयोजना प्रमुख रोशन अग्रवालले भने, “हाम्रो सवस्टेशनमा जाने बाटो पनि परेकाले काम थालेका हौँ ।”

नयाँ मोदी–लेखनाथ एक सय ३२ केभी प्रसारण लाइन आयोजना मोदीखोलामा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पठाइने भएको छ । तीन वर्षअघिदेखि नेपाल विद्युत् प्राधिकरणले यो आयोजना निर्माण शुरु गर्न थाले पनि मुआब्जा वितरण, वातावरणीय प्रभाव मूल्याङ्कनलगायतमा अवरोध हुँदा काम केही समय रोकिएको थियो ।

अबको १५ महीनामा सक्ने गरी काम भइरहेको आयोजनामा मोदीदेखि लेखनाथसम्म एक सय ३७ वटा टावर निर्माण हुनेछन् । आयोजना विद्युत् प्राधिकरणले भारतीय कम्पनीलाई रु दुई अर्बमा ठेक्का लगाएको हो ।

Advertisement

Advertisement

Advertisement