प्रचण्डको विप्लवलाई चेतावनी– अर्को प्रचण्ड बन्न नखोज, दुर्भाग्य परिणाम होला

Advertisement

काठमाडौं । तत्कालिन विद्रोही माओवादीमा नेतृत्व तहमा रहेर सँगै काम गरेका पुष्पकमल दाहाल प्रचण्डले आफूलाई नेत्रविक्रम चन्द विप्लवले मार्न खाजेको आरोप लगाएका छन् । योङ कम्युनिस्ट लिगको कार्यक्रममा बिहीबार उनले विप्लव समूहले आफूलाई मार्ने षड्यन्त्र गरेको आरोप लगाएका हुन्।

विप्लवले एक नम्बरमा आफूलाई टार्गेट गरेको दावी गर्दै प्रचण्डले आफूलाई मार्दैमा परिवर्तन नबाँच्ने बताए । उनले जनयुद्धको निर्माता, योजनाकर्ता र कमान्डर तथा शान्तिप्रक्रियाको पनि नेतृत्वकर्ता भएको नाताले आफूलाई शान्तिप्रक्रिया सम्पन्न गर्न अन्तिमसम्म लड्नुको विकल्प नरहेको बताए ।

प्रचण्डले स्रोतको हवाला दिँदै भने, ‘एक नम्बरमा आफूलाई सिध्याउन विप्लवले माइन्युट गरेको छ रे । यसबारे सरकारको तर्फबाट पनि आफूलाई जानकारी प्राप्त भएको छ । उनले ५२ सालको नक्कल नगर्न विप्लवलाई चेतावनी पनि दिए। प्रचण्डले भने, ‘ती साथीहरू सम्झिँदा दया माया लागेको छ। नक्कल गरेर पास भइन्नु । महेन्द्रको नक्कल गर्न खोज्दा ज्ञानेन्द्र असफल भए । मैले ऊ बेलै कलाविहीन नौटंकी हुन्छ भनेको थिएँ, सत्य भयो।’

उनले यो ५२ साल होइन भन्दै भने, ‘अहिले राजतन्त्र पनि छैन, संविधानमा समावेशी मसानुपातिक प्रतिनिधित्वको अधिकार छ। सँगै लडेका साथीहरू सरकारमा छन्। परिस्थिति हेर्नु पर्दैन ?’ विप्लवले अर्को प्रचण्ड बन्छु भनेको आफूले सुनेको बताउँदै उनले प्रचण्ड बन्न सजिलो नभएको बताए। आफूलाई जनताले प्रचण्ड बनाएको प्रचण्डको तर्क छ ।

एकैसमयमा दुईवटा प्रचण्ड बन्नै नसक्ने भन्दै उनले विप्लवलाई नयाँ बाटो खोज्न सुझाव दिए। प्रचण्डले भने, ‘केही गर्नु छ भने नयाँ बाटो खोज्नुस्, प्रचण्डको नक्कल गरेर अर्को प्रचण्ड बन्छु भन्नु भ्रममात्र हो। त्यो भ्रमले कहीँ पुगिँदैन। दुर्भाग्यपूर्ण परिणाममा पुग्छ। उनले गम्भीर भएर सोच्न पनि विप्लवलाई सल्लाह दिए । प्रचण्डले भने, ‘मेरो सुझाव छ अहिले पनि एकचोटी निधार खुम्च्याएर सोच्नुस्। यो ५२ साल होइन, ७५ साल हो, हाम्रै कारण राजनीतिक परिवर्तन आएको छ।

Advertisement

Advertisement

Advertisement