हाथवे फाइनान्सलाई ग्लोबल आईएमईले गर्ने भयो एक्वायर

काठमाडौं । हाथवे फाइनान्सलाई ग्लोबल आईएमई बैंकले विलय गर्ने भएको छ । समस्याग्रस्त अरुण फाइनान्सलाई सुधारेर हाथवे समुहले नयाँ नाम दिएको फाइनान्सलाई धेरै मर्जरमा गएको वाणिज्य बैंकले आफुमा विलय गर्ने भएको हो ।

बिहीबार एक समारोहकाबीच ग्लोबल आईएमई बैंक र हाथवे फाइनान्सले विलयसम्बन्धि सम्झौतामा हस्ताक्षर समेत गरिसकेका छन् । ग्लोबल आईएमई बैंकका सञ्चालक तथा मर्जर समिति संयोजक सुदर्शनकृष्ण श्रेष्ठ र हाथवे फाइनान्सका सञ्चालक एवं मर्जर समितिका संयोजक नवराज नेपालले विलय सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

शेयर आदान प्रदान अनुपातका सम्बन्धमा डीडीए प्रतिवेदन अनुसार अघि बढ्ने सम्झौता भएको बताइएको छ । ग्लोबल आईएमई बैंकको पूँजी १० अर्ब ३१ करोड रुपियाँ छ भने हाथवे फाइनान्सको पूँजी ३० करोड रुपियाँ छ ।

नेपाल राष्ट्र बैंकले तत्कालिन अवस्थामा समस्याग्रस्त घोषणा गरेको अरुण फाइनान्सको व्यवस्थापन हाथवे समुहले लिएर सुधार गर्दै हाथवे फाइनान्स नामाकरण गरेको थियो । दुवै संस्थाले राष्ट्र बैंकको मर्जर नीतिलाई सघाउँदै संस्थालाई अझै सबल बनाउन विलय सम्झौता गरिएको बताएका छन् ।