उर्जामन्त्री भन्छन्– सरकार मात्रै होइन्, उर्जा प्रवद्र्धकहरु पनि सुध्रिनुपर्छ

Advertisement

काठमाडौं । उर्जामन्त्री बर्षमान पुनले लाइसेन्स होल्ड गर्नेभन्दा अर्को व्यवसाय गर्न उर्जा प्रवद्र्धकहरुलाई सल्लाह दिएका छन् । ५० मेगावाटभन्दा माथिका जलविद्युत आयोजनाले भोग्दै आएको समस्या र यसको समाधानबारे आयोजित छलफलमा उनले लाइसेन्स होल्ड गरेर बस्ने प्रवद्र्धकहरुलाई यस्तो सल्लाह दिएका हुन् ।

पुनले सर्वे, डिजाईनको चरणमा रहेका आयोजनाहरुको अवस्था सुन्दा अलि फरक अनुभुति भएको भन्दै त्यसका लागी सबै लगानीकर्ता र परामर्शदाताहरुलाई समयमा काम गर्न आग्रह पनि गरे । उनले आफ्नो चाहना प्रवद्र्धकहरुले भोग्दै आएका समस्यालाई उनीहरुकै सुझावका आधारमा हल गरौं भन्ने हो भन्दै भने, ‘सर्वेक्षणलगायतका काम समयमा नहुने, विभिन्न वहाना खोज्ने अवस्था हो भने त्यसमा हामीले साथी भाई नै हो, राम्रो मुखले नै भन्छौ यसमा काम नगर्नुहोस । अरु केही काम गर्नुहोला भन्ने पनि हो ।’

मन्त्री पुनले लाईसेन्स होल्ड गरेर नबस्न सुझाव दिँदै यो भन्नलाई नै आजको कार्यक्रम आयोजना गरिएको बताए । उनले भने, ‘हामी हाम्रा कमजोरी सुधार्छौ, तपाईंहरुका समस्या हल गर्छौ । तपाईहरु पनि जिम्मेवार बन्नुपर्यो ।’

किन पटक–पटक समय थप्नुहुन्छ ? प्रश्न सोधिने गरेको भन्दै पुनले भने, ‘मलाई बेला बेला सचिवज्यु, डिजीसापहरुले भन्नुहुन्छ, विभिन्न शक्ति केन्द्रहरुको दबाव, फोन गर्न लगाउंनुहुन्छ । नियमन निकाय धाउने, दबाव दिने पनि गर्छन् । म कुनै पनि संवैधानिक निकायलाई आरोपित गर्न चाहान्न ।’

तर, पहिले पहिले शक्ति केन्द्रमा गएर दबाव दिने, आफू अनुकुल नभए रोक्ने काम पनि हुन्छ रे भन्दै पुनले यसले बाहिर लगानीकर्ता र देशभित्रकै नयाँ लगानीकर्तालाई राम्रो सन्देश जांदैन भने । उनले त्यतिमात्र नभएर सरकारले सहयोग गर्दैन भनेर पनि सुचना प्रवाह गर्ने काम हुन्छ भन्दै यसले यो क्षेत्र राम्रो छैन् भन्ने सन्देश जान्छ, नयाँ लगानीकर्ता पनि आउंदैनन् भने ।

मन्त्री पुनले यस्तो प्रवृत्तिले समग्रमा देशलाई राम्रो गर्दैन् भन्दै यसमा जिम्मेवार भएर सोच्न सल्लाह दिए । उनले प्रवद्र्धकहरुले राखेका समस्या हल गर्न आफूले कोशिस गर्ने बताए । उनले प्रवद्र्धकहरुसँग नियमित अन्तरक्रिया गर्ने पनि बताए ।

मन्त्री पुनले आफूलाई गिट्टी, वालुवा, स्थानीय समदुायसँगको समस्या, सुरक्षा र निर्माण सामाग्रीको अभाव भएको गुनासो आउने बताउँदै यसमा मैले सरोकारवालाहरुसँग छलफल गरेर समाधानको लागी कोसिश पनि बताए ।

सुधारका कुरामा मन्त्री, विभागले मात्रै नभएर प्रवद्र्धकहरुले पनि सुधार गर्नुपर्ने धेरै कुरा छन् भन्दै यसै सुधारका लागि यस किसिमको अन्तरक्रिया गर्नुपरेको बताए । उनले हाम्रो समस्या भनेका साझा समस्या हुन भन्दै सबैले मिलेर समाधान गर्नुपर्ने बताए ।

Advertisement

Advertisement

Advertisement