कृषि तथा डेरी उद्योगमा विदेशी लगानीको विरोध भइरहेको बेला शर्मा भन्छन्– होइन, ल्याउनुपर्छ

Advertisement

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् पूर्व राजदुत शंकर शर्माले नेपालमा विदेशी लगानीको अवस्था सन्तोषजनक नरहेको बताएका छन् ।

रिपोटर्स क्लवमा शनिबार उनले भने, ‘अहिले हाम्रो विदेशी लगानीको अवस्था त्यति सन्तोषजनक छैन । अहिले जिडिपीको ०.५ प्रतिशत मात्रै विदेशी लगानी छ, नेपालमा प्रतिव्यक्ति २ डलरभन्दा कम नै विदेशी लगानी छ, जबकी हामीभन्दा धेरै पछाडि विदेशी लगानी भित्र्याउन थालेको भारतको प्रति व्यक्ति ३३ डलर छ, र चीनको १०० डलर छ ।’

शर्माले विदेशी लगानी धेरै भित्र्याउनको लागि नेपालले कम्पिटिटिभ वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘हामीले भारतभन्दा धेरै अगाडि विदेशी लगानीको ढोका खोल्यौं, तर अहिले हामी भारतभन्दा धेरै पछाडि परेका छौं । हुन त हामी राजनीतिक अस्थिरताबाट लामो समय गुज्रियौं, अहिले मुलुकमा राजनीतिक स्थायित्व आएको छ, यो विदेशी लगानी भित्र्याउनको लागि पनि शुभ संकेत हो ।’

शर्माले भारतमा विदेशी लगानी बढ्नुको मुख्य कारण नै नयाँ लगानी ऐन भएको तर्क गरे । उनले नेपालमा पनि लगानी ऐनलाई कम्टिटिभ बनाउनुपर्नेमा जोड दिए । शर्माले लगानीकर्तालाई प्रोत्साहनको लागि एकद्धार प्रणाली अपनाउनुपर्ने सुझाव दिए । उनले भने, ‘सबै कुरालाई एउटै पोर्टलबाट प्रक्रियामा ल्याउनुपर्छ ।’

उनले ९–१० प्रतिशत आर्थिक वृद्धि हाँसिल गर्नको लागि प्रत्येक वर्ष १५ खर्बको बजेट बनाउनुपर्ने र नेपालले आफै सात खर्ब र बाँकी आठ खर्ब विदेशी लगानी आवश्यक पर्ने सुनाए । शर्माले भने, ‘समृद्धि हाँसिल गर्न हामीसँग खानी हुनुपर्छ, तर छैन । जस्तो रसियासँग खानी छ, उसले तेल एक्सपोर्ट गर्छ ।’

नेपालको लगानीको लागि ऐनमा लेख्दैमा मात्रै नहुने भन्दै कार्यान्वयन पक्ष पनि बलियो बनाउनुपर्नेमा शर्माले जोड दिए । उनले भने, ‘नेपालमा कार्यान्वयन पक्ष अत्यन्तै फितलो छ ।’ उनले मन्त्रालय, विभाग र अन्य सरोकारवाला निकायहरुबीच पनि सहकार्य हुनुपर्नेमा जोड दिए ।

विशेष आर्थिक क्षेत्र भनेर घोषणा गरिए पनि अहिलेसम्म किन त्यहाँ यथेष्ट फ्याक्र्टी सञ्चालन नभएको भन्दै शर्माले प्रश्न तेर्साए । उनले भने, ‘भैरहवामा विशेष आर्थिक क्षेत्र घोषणा गरियो, त्यहाँ ३८ वटा प्लट छन् । तर, अहिलेसम्म ४ वटा कम्पनीले फ्याक्र्टी बनाएका छन् । अरु किन बनेन् ?’

त्यस्तै शर्माले यसअघि भएको लगानी सम्मेलनमा आएको १४ खर्बको प्रतिबद्धता अहिलेसम्म किन आएन भन्र्दै अर्को प्रश्न तेर्साए । उनले भने, ‘अहिले जिडिपीको ३ प्रतिशतमात्रै पूर्वाधार विकासमा खर्च भएको छ, यसलाई बढाएर ९–१० प्रतिशत पुर्याउनुपर्छ ।’

सरकारले विदेशी लगानीको लागि हाम्रा यी–यी ‘नेगेटिभ–लिष्ट’ हुन भनेर पहिले नै भनिदिनुपर्ने पनि शर्माको सुझाव थियो । उनले कृषिलगायत साना तथा मझौला उद्योगमा विदेशी लगानी ल्याउनुपर्ने आफ्नो व्यक्तिगत राय रहे पनि अहिलेलाई सरकारले त्यसलाई रोकेको सुनाए ।

शर्माले भने, ‘कृषि तथा डेरी उद्योग भनेको त प्रोसेसिङ ईण्डष्ट्री हो, यसमा लगानी आउँदा त कृषकहरुलाई नै फाईदा हुन्छ । यसले किसानलाई उत्साहित बनाउँछ । यदि हामी यसमा पनि भ्यालू एक्सचेन्जमा जाने हो, यसले फाईदा नै गर्छ ।’

Advertisement

Advertisement

Advertisement