पाठकलाई ७८ लाख घुस दिने लम्बोदर फरार, नेपाल छाडेर भागिसकेको अनुमान

Advertisement

काठमाडौं । भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपाने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छलेर फरार भएका छन्। गत साता अख्तियारले अनुसन्धानको दायरमा रहेका तत्कालीन आयुक्त राजनारायण पाठकसहितका आरोपित विदेश भाग्न सक्ने आशंकामा अध्यागमन विभाग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीलाई सतर्कता अपनाउन निर्देशन दिएको थियो।

कलेजको स्वामित्व विवाद मिलाइदिने भन्दै अख्तियारका तत्कालीन आयुक्त पाठकलाई बुझाएको ७८ लाख घुस प्रकरणमा न्यौपानेमाथि अनुसन्धान भइरहेको थियो। घुस प्रकरणमै अख्तियारले बिचौलिया ज्ञानेन्द्र झा र आयुक्त पाठकका भाइसमेत रहेका पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ विभागका डिन शुभनारायण पाठकसँग बयान लिइसकेको छ। दुवैजनाको बयान सकेर अख्तियारले न्यौपानेसँग बयान लिन थालेको गरेको थियो। तर अख्तियारले दोस्रोपटक बयानका लागि बोलाउँदा न्यौपाने नआएपछि उनी नेपाल छाडेर भागेको रहस्य खुलेको हो।

दोस्रोपटक बयानका लागि बोलाइएको समयमा उपस्थित नभएपछि अख्तियारले न्यौपानेको खोजी गरेको थियो। अख्तियारको फन्दामा पर्ने भएपछि उनी फरार भएका हुन्। थप बयान अख्तियारले हिरासतमै लिएर लिने सुइँको पाएपछि उनी फरार भएको स्रोतको भनाइ छ। ‘न्यौपानेसँग एकपटक बयान लिएका थियौं, अर्को बयानका लागि भोलि आउँछु भनेर निस्किएका उनी अख्तियारलाई नै छलेर फरार भएको पाइयो,’ उच्च स्रोत भन्छ, ‘हामीले घर, नातागोता, आफन्तलगायत सबै ठाउँमा उनको खोजी गरिसक्यौं, कतै फेला परेका छैनन्।’

न्यौपाने बयानका लागि नआएपछि अख्तियार प्रहरी र अनुसन्धान अधिकृतको संयुक्त टोलीले उनको विशालनगरस्थित घरमा खानतलासी पनि लिएको थियो। स्रोतले न्यौपाने भारत गएको हुन सक्ने आशंका गरेको छ। ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट न्यौपाने कतै गएको रेकर्ड भेटिँदैन,’ स्रोत भन्छ, ‘अहिलेसम्मको अनुसन्धानले न्यौपाने स्थलमार्ग हुँदै भारत गएको हुन सक्ने हाम्रो आशंका छ।’ अख्तियारका प्रवक्ता सहसचिव प्रदीपकुमार कोइराला न्यौपाने फरार भएको विषयबारे खुल्न चाहेनन्।

‘अनुसन्धानका क्रममा भएको विषयमा मेरो कुनै टिप्पणी छैन,’ उनले भने, ‘अनुसन्धानले पूर्णता पाएपछि यस विषयमा विस्तृत कुरा गरौंला।’ अनुसन्धान क्रममा भएका वा बोलाइएका व्यक्ति कानुनी प्रक्रियाबाट भागे अख्तियारसँग भएका तथ्य÷प्रमाणका आधारमा प्रतिवेदन तयार हुने प्रवक्ता कोइरालाले स्पष्ट पारे।

नेपाल प्रहरीको एपिसी खरिदमा भएको बहुचर्चित सुडान घोटाला प्रकरणका मुख्य योजनाकार बेलायती नागरिक माइकल राइडरलाई बोलाउँदा नआएपछि अख्तियारले प्राप्त प्रमाणकै आधारमा उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उक्त प्रकरणमा राइडर विशेष र सर्वोच्च अदालत दुवैबाट दोषी ठहर भइसकेका छन्। अनुसन्धान क्रममा फरार न्यौपाने उपस्थित भएनन् भने सुडान प्रकरणकै जस्तो भएका प्रमाणका आधारमा मुद्दाको अभियोजन गरिने अख्तियारका अधिकारीले बताए।

अख्तियारका अनुसार फरार न्यौपाने इन्जिनियरिङ कलेजको स्वामित्व विवाद र अख्तियारका आयुक्त पाठकलाई ७८ लाख रुपैयाँ घुस दिने मुख्य योजनाकार हुन्। कलेजको विवाद मिलाइदिने भन्दै आयुक्त पाठकले दुईपटक गरी ७८ लाख रुपैयाँ लिएको बिचौलिया झाले स्वीकार गरिसकेका छन्। घुस लिएको पुष्टि भएपछि आयुक्त पाठकले फागुन ३ गते नै पदबाट राजीनामा दिइसकेका छन्। कलेजको विवाद र घुस प्रकरणमा संलग्न आरोपितको बयान सकेर मात्रै आयुक्त पाठकलाई बोलाउने अख्तियारको तयारी छ।

नागरिक दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement