अर्थ समितिमा खर्चको कार्ययोजना पेश गर्न मन्त्रालयहरुलाई निर्देशन

Advertisement

काठमाडौं । संघीय संसद्को अर्थ समितिले चालु आर्थिक वर्षको बजेटमा अपेक्षि लाभ प्राप्त हुने गरी जेठ १५ सम्म बजेट कार्यान्वयनका लागि गरिने कामको कार्यतालिकासहित कार्ययोजना पेस गर्न मन्त्रालयहरूलाई निर्देशन दिएको छ। विगतमा पनि यस्ता निर्देशन जारी भईसकेको भए पनि अब भने प्रत्येक दिनको प्रगति मूल्यांकन गर्ने पद्धतिको विकास गरी लागू गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अर्थ मन्त्रालयलाई समितिले निर्देशन दिएको हो ।

समितिले विकास खर्च बढी विनियोजन भएका मन्त्रालय, महालेखा परीक्षक, महालेखा नियन्त्रक र कर्मचारी व्यवस्थापन गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारीसँग समितिले आइबार र सोमबार छलफल गरेको थियो। समितिले विकास खर्च बढाउन कानुनी तथा नीतिगत अवरोध रहेको भए यस्तो समस्याका सम्बन्धमा १५ दिनभित्रै जानकारी गराउन अर्थ मन्त्रालयलाई आग्रह गरेको छ।

चालु आवको वर्षको पहिलो ६ महिनामा पुँजीगत खर्च कुल विनियोजित तीन खर्ब १३ अर्ब ९९ करोडमध्ये १७.७ प्रतिशत मात्र छ। अर्थ मन्त्रालयले पहिलो ६ महिनामा ३५ प्रतिशत पुँजीगत खर्च हुने अनुमान गरेको भए पनि विकास खर्चको अवस्था विगत वर्षको तुलनामा सुधार हुन सकेको छैन। अर्थ समितिले विकास आयोजनामा बजेट विनियोजन गर्दा आयोजनाको खर्च गर्ने क्षमता विश्लेषण गरेरमात्र विनियोजन गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ।

अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले भने -‘आयोजनाको पूर्वतयारी र खर्च गर्ने क्षमता विश्लेषण गरेर बजेट विनियोजन गर्न तथा मध्यकालीन खर्च संरचनामा समावेश भएका आयोजनामा मात्र बजेट विनियोजन गर्न निर्देशन दिएका छौं,  ‘खर्चलाई तीव्रता दिन आगामी वर्ष कार्यान्वयन हुने आयोजनाका लागि बजेट माग गर्दा खरिद गुरु योजना, बोलपत्र दस्ताबेज, खरिद योजना र भुक्तानी योजनासमेत पेस गर्न आग्रह गरिएको छ।’

यो निर्देशन नयाँ होईन पहिला पनि अर्थ समितिले खर्चको विवरण पेश गर्न निर्देशन दिईसकेको थियो । बजेट विनीयोजन गर्दा आयोजनामा लाग्ने खर्चको विवरण विश्लेषण गरेर मात्र अर्थतन्त्रलाई व्यवस्थित गर्न सकिने भएकाले समितिले यस्तो निर्देशन दिएको हो ।

Advertisement

Advertisement

Advertisement