मदन खरेलले नियोजितरुपमा 'वाइडबडी' उडाएनन्, निगम धरासायी बनाउने खेल हुँदैछः युनियन

Advertisement

काठमाडौं । सरकारी स्वामित्वको नेपाल वायुसेवा निगममा कार्यकारी अध्यक्ष भएर आएका मदन खरेल आएपछि निगमका कर्मचारीहरु झन रुष्ट भएका छन् । खरेल निगममा आएको छ महिनाभन्दा बढि भइसक्दा पनि निगमको वित्तीय अवस्था सुधार, बजार विस्तार र प्रशासनिक सुधारका लागि कुनै काम गर्न नसकेको कर्मचारी युनियनहरुका प्रतिनिधिहरुको भनाई छ ।

प्रधानमन्त्रीको गृहजिल्लाका खरेललाई निगममा वाइडबडी जहाज आइसकेपछि एकाएक कार्यकारी अध्यक्ष बनाएर भित्राइएको थियो । आएलगत्तै उनले निगमको वित्तीय अवस्था कमजोर रहेको र जहाजको ऋण तिर्नसक्ने अवस्था नरहेको भन्दै पत्रकार सम्मेलन गरेर श्वतपत्र जारी गरेपछि कर्मचारीहरु उनीप्रति सशंकित र रुष्ट भएका हुन् ।

लामो समयदेखि अन्तर्राष्ट्रिय उडानका लागि नयाँ जहाज आएपछि खुशी भएका कर्मचारीहरु यी जहाजलाई कार्ययोजनाअनुसार नयाँ गन्तव्यमा लैजान खरेलले पहल गर्नुको सट्टा महाप्रवन्धक सुगतरत्न कंसाकारलाई गलत देखाउने नाममा निगमलाई असर गर्नेगरी गलत प्रचार गर्ने काम भएको, नयाँ जहाजलाई नयाँ गन्तव्यमा लैजान आलटाल गरेको, आन्तरिक उडानलाई पनि लथालिंग बनाउन नियोजितरुपमा लागेको भन्दै कर्मचारीहरुले चौध सय कर्मचारीको भविश्य अन्योल बनाउने गरी भइरहेका पछिल्ला गतिविधि आफूहरुलाई अस्वीकार्य रहेको बताए ।

निगमकै आधिकरिक युनियनका अध्यक्ष सुभाष डाँगीले खरेल निगम व्यवस्थापनमा पूर्णरुपमा असफल भएको भन्दै यो अकर्मन्यताको स्थिति अब धेरै दिन रहन नहुने बताए । उनले भने– बल्ल जहाज आएको अवस्था छ । तर जहाजहरु उँडन सकेको छैन् । यति बेलासम्म त धेरै गन्तव्यमा पुगिसक्नुपर्ने हो । किन पहल भइरहेको छैन् ? हामीले पनि बुझन सकेको छैन ।

उनले वाइडबडीका लागि नयाँ उडान गन्तव्य खोज्न समस्या नभएर नभएर नभई नियोजितरुपमा आलटाल गर्ने काम अहिलेको व्यवस्थापनबाट भइरहेको भन्दै निगमलाई व्यवसायिक हिसावले चल्न नदिएर धरासयी बनाउने खेल भए आफूहरु चुप लागेर नबस्ने स्पष्ट पारे । डाँगीले चाँडो भन्दा चाँडो जहाज उडाउन आफूहरुले यसअघि पर्यटनमन्त्रीदेखि पर्यटन सचिवलाई दबाब दिएको तर अहिले पर्यटन मन्त्री नहुँदा कुरा राख्न नपाएको बताए ।

उनले भने, ‘हामीले जहाज उडाउने कुरा पटक पटक व्यवस्थापनलाई पनि भनेको छौं, मन्त्रालयलाई पनि भनेको छौं । तर सुनिएको छैन् । किन आलटाल भइरहेको छ ? हामीले बुझ्नै सकेका छैनौं । नयाँ जहाजका लागि बजारको समस्या होइन्, पहलको मात्रै खाँचो हो । जहाज उड्यो भने निगमको आर्थिक अवस्थामा पनि सुधार हुन्छ, ऋण तिर्न पनि समस्या हुँदैन् ।’

साथै, डाँगीले निगमको अन्तर्राष्ट्रिय उडानका लागि थप जहाजहरु ल्याउने कुरालाई अहिलेको व्यवस्थापनले बन्द गरेकोप्रति पनि असन्तुष्टि जनाए । निगमलाई विदेशी कम्पनीहरुसँग प्रतिस्पर्धा गरेर अघि बढाउने हो भने प्रशस्त जहाजहरु चाहिने बताउँदै खरिद प्रक्रियालाई रोक्ने काम गर्न नहुने बताए ।

आधिकारिक युनियनकै अर्का नेता मनोज शाहले नयाँ कार्यकारी अध्यक्ष आएपछि बजार विस्तार र निगम सुधारका लागि कुनै पहल नभएको बताए । उनले कार्यकारी अध्यक्ष मौन बस्नुका कारण आफूहरुले पनि बुझन नसकेको बताए । शाहले भने– जहाज चलाइयो भने न निगमको अवस्था सुधार हुने हो, जहाज उँडाउन पहल नै भएन् मुल कुरा । काँग्रेसनिकट युनियनका अध्यक्षतारिणी दाहालले भने एउटा कार्यकारी हुँदाहुँदै अर्को कार्यकारी बनाउने कुरा गलत हो भन्दै महाप्रवन्धक कंसाकार यो विषयमा मौन बस्न नहुने बताए ।

निगमकै अर्का एक कर्मचारीले भने खरेललाई निगम सुधारका लागि नभई सुधार रोक्नका लागि ल्याइएकोले उहाँबाट सकारात्मक कुराको आशा गर्नु गलत हो भन्छन् । नाम उल्लेख नगर्ने शर्तमा उनी भन्छन्– यहाँ ठूलठूला राष्ट्रिय अन्तर्राष्ट्रिय जहाज माफियाहरु छन् । उनीहरुलाई निगमले जहाज ल्याएको मन परेको छैन् । जहाज ल्याउने कुरामा उनीहरुले भनेअनुसार पनि हुन सकेन् । त्यो भएपछि यस्ता माफियाहरुले खेल्ने नै भए ।

नयाँ जहाजहरु आएपछि खुशी भएका निगमका कर्मचारीहरु जहाज चलाउन भइरहेको आलटालबाट निराश बन्दै गएका छन् । स्रोत भन्छ– जहाज खरिदमा अनियमितता भयो भएन् ? त्यो अनुसन्धानको पाटो हो, त्यो भइराखोस् । तर २८ बर्षसम्म जहाज ल्याउन नदिएर निगमलाई ठूलो क्षति भइरहेको बेला बल्ल आएको जहाज पनि नउडाउने कुरा अति नै हो । निगम धरासायी हुनबाट रोक्न युनियन र आम कर्मचारी एक हुनुपर्छ ।

कसैको प्रलोभन र राजनीतिक दबाबमा गलत कुराको विरोध नगर्ने हो भने निगम उठ्नै नसक्नेगरी थला पर्ने भन्दै उनले अबौं रुपियाँ ऋण दायित्व बोकेको संस्था बचाउन एक हुनुपर्ने बेला आएको बताए । स्रोत भन्छ– सम्पूर्ण कर्मचारीले वाइडबडी विमानको आगमनलाई निगमको भविश्य निर्धारण गर्ने एक शान र गौरबको रुपमा लिनुपर्ने एक ऐतिहासिक पाइलाको रुपमा लिइरहेको थियो। तर खरेल सरले आउने बितिक्कै वाइडबडी विमान खरिद गर्नु ठूलो गल्ती हो भनेझैं श्वेतपत्र जारी गर्नुभयो । संस्थाको प्रमुख आफैले आफ्नो संस्था डुब्न लाग्यो, खत्तम भयो भनेर भन्दै हिँड्दैन । उहाँको नियत सुरुदेखि नै ठिक थिएन् ।

उनले भने, ‘सायद संसार मै यो पहिलो घटना होला कि एक व्यापारी संस्था प्रमुख आफैले आफ्नो संस्था खतम छ, बर्बाद छ, अबदेखि हाम्रो संस्थालाई कसैले भविष्यमा ऋण दिने काम नगर भनेर पत्रकार सम्मेलन गरेको भनेको ।’ खरेलको कार्यशैली हेर्दा उनी निगम बनाउन आएको नभई उनलाई कुनै गिरोहले आफ्नो उद्देश्य पूरा गर्न ल्याएको हुनसक्ने कर्मचारीहरुको आरोप छ ।

खरेल नेतृत्वको सञ्चालक समिति निर्णय कार्यान्वयनमा समेत कमजोर बन्दै गएको छ । मन्त्रालयका सचिवहरुलाई जस्तो सञ्चालकहरु खरेललाई गन्दैनन् । धेरै पहिले लिलाम बिक्री गरिसक्नुपर्ने पूरानो बोइङको फाइल सञ्चालक समितिले निर्णय नगरेर अडकिएको छ । सचिव हुँदाको जस्तो सञ्चालक समितिको बैठकमा अनुशासन र शालिनता पनि देखिँदैन् । हरेक बैठकमा चर्काचर्की भइरहेको हुन्छ । ठूला निर्णयहरु गर्न अहिलेको सञ्चालक समितिलाई निकै सकस हुने गरेको छ ।

यसअघि सचिव यज्ञप्रसाद गौतम अध्यक्ष हुँदा चिनियाँ विमान खरिदको निर्णय भएको थियो, सचिव सुशील घिमिरे अध्यक्ष हुँदा दुईवटा न्यारो बडी भित्रिएको थियो, पर्यटन सचिव अध्यक्ष हुँदा दुईवटा वाइडबडी खरिद आयोजना पास भएको थियो । राष्ट्रिय ध्वजाबहाक जहाजहरु उडाउने निगम जस्तो संवेदनशील संस्थामा कमजोर र प्रयोजित मानिसहरुलाई भर्ना गरेर सरकारले नै संस्थाहरुलाई धरासायी बनाउने काम गरेको कर्मचारीहरुको गुनासो छ ।

आधिकारिक युनियनकै अर्का नेता शाहले सचिव नै अध्यक्ष हुँदा काम गर्न सजिलो हुन्छ, सरकारलाई निगमका कामकारवाहीबारे जानकारी हुन्छ, बाहिरबाट कार्यकारी नबनाउनु भनेर त्यति बेला नै आग्रह गर्दा पनि आफूहरुको कुरा सुनुवाई नभएको भन्दै त्यसैको परिणाम अहिले भोग्नुपरेको बताए ।

उनले भने सचिवलाई अध्यक्ष नबनाएर बाहिरको मान्छेलाई अध्यक्ष बनाउँदा कम्युनिकेशन ग्याप हुन्छ, त्यो नहोस भनेर सुरुमै हामीले सरकारको ध्यानाकर्षण गराएको पनि हो । तर हाम्रो कुरा सुनिएन् । पहिला सञ्चालक बनाएर अध्यक्ष बनाइयो । त्यही बेलामा कृष्णप्रसाद देवकोटा (तत्कालिन पर्यटन सचिव)ले पनि छोडेको बेला पर्यो । त्यही मौका छोपेर ल्याइयो । सरकारले नै कुरा नबुझेपछि...., नेपालका दलहरु यस्तै त हुन् ।

शाहले स्वार्थ बोकेर आएका मान्छेहरुको पहिलो स्वार्थ आफ्नो हुन्छ, त्यसपछि मात्रै संस्था हुन्छ भन्दै गलत नियतबाट इन्जिन मर्मतको ठेक्का अघि बढाउँदा अहिले ठेक्का अलपत्र परेको उदाहरण दिए । उनले बाह्य उडानबाटै नभएर अहिले आन्तरिक उडान पनि लथालिंग अवस्थामा रहेको बताए ।

निगमले लामो गन्तव्यमा उडाउन ल्याएका यी दुई वाइडबडी जहाजहरु दक्षिण कोरिया, जापान, चीन, साउदी अरेबिया लगायत देशमा उडाउने भनेको थियो । जहाज किन्ने बेलामा नै यो कुराको प्लान बनाइएको थियो । युरोपबाहेक अन्त जहाँसुकै जान पनि निगमलाई कुनै समस्या छैन । सामान्य पहलको मात्रै जरुरी हो । तर खरेलले वाइडबडीलाई नयाँ गन्तव्यमा उडाउन आलटाल आलआल गर्दै आएका छन् र न्यरो बडी उडाएकै केही गन्तव्यमा वाइडबडीलाई उडाउँदै आएका छन् ।

निगम स्रोत भन्छ– नेपाल वायुसेवा निगम भएको नेपाल सरकारको संस्था हो । राष्ट्रिय ध्वजाबहाक उडानलाई तत्काल युरोपबाहेक अन्त जुनसुकै राम्रो गन्तव्यमा जान समस्या छैन । तर विभिन्न बहामा ढिलाई गर्ने र निगमलाई बुवाउने, अनि कंसाकारले वाइडबडी ल्याएर निगम डुवायो भन्न भोलि पाइहालिन्छ ।

निगम सञ्चालक समितिले वाइड बडी जहाज खरिद प्रक्रियामै रहँदा जापान र कोरियाको लागि सिधा उडान गर्ने प्रक्रिया थाले पनि त्यसलाई अहिले ढिलो ढिलो गर्ने काम भइरहेको छ । कोरियामा टेन्डरबाट प्यासिफिक एअर एजेन्सीलाई जिएसए पनि गरिएपछि थप कुनै काम खरेलले अघि बढाएनन् भने नेपालीहरुको धेरै बसोबार रहेको जापानको टोकियोमा वाइडबडी उडाउने कंसाकारको योजना खरेललाई मन परेन र अघि बढिसकेको प्रक्रियालाई रोकेर उनी ओशाकातिर लाग्दा त्यहाँको प्रक्रिया पनि अन्योल परेको छ ।

वाइडबडी खरिदमा अनियमितताको कुरा ल्याइएपछि कंसाकारको कार्यकारी अधिकार खोसेर खरेललाई कार्यकारी अध्यक्ष बनाइएको थियो । तर कंसाकार हुँदा जुन रफ्तारमा जहाज खरिददेखि उडान सञ्चालनका लागि काम भएका थिए, त्यो अहिले कुनै पनि भएका छैनन् । पछिल्लो समयमा हिमालय एयरलाइन्सका सञ्चालक आङछिरिङ शेर्पाको हेलिकप्टर दुर्घटनामा निधन भएपछि खरेल अन्योलमा परेका छन् ।

खरेलले उनकै इशारामा काम गर्दै आएका थिए । शेर्पाकै निर्देशनमा उनले वाइडबडीको उडान टोकियोबाट ओशाका सारेका थिए । बजारका हिसावले टोकियो राम्रो भएको र हिमालय एयरलाइन्सले पहिलोदेखि नै त्यहाँ उडानको योजना बनाएकाले शेर्पाले खरेललाई वाइडबडीको डेष्टिनेशन परिवर्तन गर्न निर्देशन दिएका थिए । गएको फेब्रुअरीदेखि नै आशाका उडान गर्छु भनेका खरेलले ग्राउण्ड ह्याण्डलिङ नपाएको जस्ता आधारहिन कुरा गर्दै वाइडबडीलाई नयाँ गन्तव्यमा उडाउनै चाहेका छैनन्– स्रोत भन्छ ।

युनियनका प्रतिनिधिहरुले आफूहरुले यी सबै गतिविधि हेरिरहेको र सकेसम्म युनियनले अवरोध सिर्जना गर्यो भन्ने नकारात्मक कुराहरु बाहिर ल्याउने बाताबरण किन बनाउने भनेर ? पर्खिएको बताउँदै तर निगम बचाउने कष्टमा आफूहरुले सम्झौता नगर्ने बताए । निगमसँग पर्याप्त जहाज नहुँदा नेपालको ठूलो बजारमा विदेशी एयरलाइन्सहरुको एकलौटी जस्तो अवस्था रहेको छ ।

Advertisement

Advertisement

Advertisement