त्रिशुली थ्री ‘बी’ जलविद्युतको आइपीओ खुल्यो, प्रधानमन्त्री र उर्जामन्त्रीले किने

शिवश्री हाइड्रोपावर

काठमाडौं । त्रिशुली थ्री ‘बी’ जलविद्युत् कम्पनीले आइपीओ खुल्ला गरेको छ । कम्पनीले ३७ करोड ५ लाख रुपियाँ बराबरको ३७ लाख ५ हजार कित्ता आइपीओ निष्कासन गरेको हो । आज बिहीबार प्रधानमन्त्री, प्रधानमन्त्रीको श्रीमती र उर्जामन्त्रीलगायतले सेयर किनिसकेका छन् । प्रधानमन्त्री ओलीले १० हजार कित्ताका लागि आवेदन दिएका हुन् ।

यसमध्ये १ लाख ११ हजार १ सय ५० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । यो कुल सेयर कित्ताको ३ प्रतिशत हो । बाँकी ३५ लाख ९३ हजार ८ सय ५० कित्ता सेयरमा भने सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

ss-college

कम्पनीको सेयरमा पहिलो चरणमा प्रतिकित्ता १० रुपियाँ तिरेर आवेदन दिन सकिने छ । प्रतिकित्ता अंकित मूल्य १०० रुपियाँ भए पनि बाँकी रकम कम्पनीले दोस्रो चरणमा माग गर्नेछ । यो आइपीओमा चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा वैशाख ६ गतेसम्म भर्न सकिनेछ ।

त्रिशुलीको यस आइपीओमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले न्यूनतम १ सय कित्ता देखि अधिकतम १० हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् । यसमा आइपीओमा सि–आस्वा मार्फत आवेदन दिन सकिनेछ ।

सरकारले फागुन २ गते घोषणा गरेको ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत त्रिशुलीको आइपीओ जारी हुन लागेको हो । उक्त घोषणा अनुसार पहिलो किस्ता अन्तर्गत लगानीकर्ताले आवेदनका साथ खरिद गर्न प्रतिबद्धता गरेको रकमको १० प्रतिशत बुझाउनुपर्छ ।

आयोजना निर्माणको न्यूनतम ७५ प्रतिशत भौतिक प्रगति हासिल भएपछि मात्रै प्रतिबद्धता अनुसारको बाँकी ९० प्रतिशत रकम दोस्रो किस्तामा बुझाउनुपर्ने व्यवस्था छ ।

त्रिशुली जलविद्युत आयोजनाको कुल क्षमता ३७ मेगावाट रहेको छ । सरकारले जनताको जलविद्युत कार्यक्रम अन्तर्गत ६ खर्ब ९५ अर्ब ८० करोड रुपियाँ लागतमा १९ वटा आयोजना निर्माण गर्ने लक्ष्य लिएको छ ।