आठ करोडको लागतमा खानेपानी योजना

Advertisement

नवलपरासी । नवलपरासीको मध्यविन्दु नगरपालिका–१३ मा करीब आठ करोड रुपियाँको लागतमा खानेपानी योजना निर्माण कार्य शुरु गरिएको छ ।खानेपानीको समस्या झेल्दै आएका यस क्षेत्रका बासिन्दाले खानेपानी योजना निर्माण सम्पन्न भएपछि शुद्ध खानेपानी पिउन पाउने भएका छन् ।

यस क्षेत्रमा खानेपानीको समस्या भएपछि प्रदेश सरकारको बजेटमार्फत खानेपानीको योजना शुरु गरिएको हो ।‘मैनाघाट खानेपानी योजना’ अन्तर्गत मैनाघाटमा डिप बोरिङ निर्माणको काम सम्पन्न गरिएको छ । १३५ मिटरको गहिराईबाट भूमिगत पानि निकालिएको वडाध्यक्ष अजुर्न पगेंनीले जानकारी दिए । अब खानेपानी वितरणका लागि अन्य ओभरहेड ट्यांकी निर्माण, पाइप विस्तार, लगायतका कार्य गरिने उनले जानकारी दिए ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दमौली गण्डकी प्रदेशको सात करोड ९१ लाखको लागतमा योजना शुरु गरिएको हो । केन्द्र सरकारले समेत केही बजेट विनियोजन गरेको उनले बताए ।

दुई वर्षमा योजना सम्पन्न गर्ने गरी काम गरिएको हो । योजना सम्पन्न भएसँगै खानेपानीको समस्या झेल्दै आएका मैनाघाट, दुवाकुन, मगरसिंगालगायत करीब ५०० घरपरिवार लाभान्वित हुने उनले बताए ।

सत्र सय हेक्टरमा चैते धान रोपाइ

यसैगरी नवलपुरमा एक हजार ७७५ हेक्टर क्षेत्रफलमा चैते धानको रोपाइ भएको छ ।केही छिटफुट स्थानमा बाहेक नवलपुरका सबै पकेट क्षेत्रमा चैते धान रोपाइ सकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । नवलपुर चैते धानको पकेट क्षेत्र मानिन्छ । यहाँ असारेभन्दा चैते धान खेती राम्रो हुने केन्द्रले जनाएको छ ।

गैडाकोट, अमरापुरी, देवचुली, कावासोती, मध्यविन्दु, कुमारवर्ती, अरुणखोला, रजहर, चिलाहा, रतौल, मगरकोट, पिठौली लगायतका क्षेत्रमा चैते धानको राम्रो उत्पादन हुन्छ । यस्तै जिल्लाको पहाडी क्षेत्र बुलिंटार, डेढगाउँमा समेत चैते धान खेती राम्रो हुन्छ ।

चैते धान खेती हुने यी स्थानहरुमा सिमसार क्षेत्र भएकाले सिँचाइ नभए पनि धानको उत्पादन राम्रो हुने गरेको छ । गतवर्ष पनि १ हजार ७७० हेक्टर क्षेत्रफमा चैते धान रोपिएको थियो भने सात हजार २९९ मेट्रिकटन धान उत्पादन भएको थियो ।जिल्लामा चैते धान दुई, चैते धान तीन, चैते धान चार, सिएच ४५, हर्दिनाथ जस्ता जातका धान लगाउने गरिएको छ ।

चैते धानमा असारे धान जस्तो रोग र किरा नलाग्ने साथै फल पनि बढी लाग्ने हुंदा उत्पादन पनि राम्रो हुने गरेको कृषि प्राविधिक नरेन्द्र भण्डारीले बताए ।

Advertisement

Advertisement

Advertisement