‘मैले काम गरेका हरेक कम्पनीलाई नम्बर १ बनाएँ, महालक्ष्मीलाई पनि बनाउँछु’

Advertisement

बीमा कम्पनीहरुमा सबैभन्दा कान्छो महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड आकर्षक योजनाहरुसहित तीब्र बजार विस्तार गर्न लागिपरेको छ । कम्पनीलाई दुई बर्षभित्रमा जीवन बीमा कम्पनीहरुमा अब्बल तुल्याउने सोचका साथ काम गरिरहनुभएका यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश भट्टराईसँग कर्पोरेट नेपालकी समाचारदाता कमला भुसालले गरेको कुराकानीको सार प्रस्तुत छः

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी तपाईंहरुले जन्माएपछिको डेढ दुई महिनाको प्रगति के कस्तो छ ?

गत माघ २७ गतेदेखि नै कारोबार सुरु गर्ने घोषणसहित तीन वटा प्रोडक्ट लञ्च गरेका हौं । तर के छ भने जीवन बीमा उद्योग भनेको मूलतः अभिकर्तामाथि निर्भर व्यवसाय हो । बैंकिङ व्यवसाय भनेको डाइरेक्ट कस्टुमरसँगको व्यवसाय हो । तर बीमा व्यवसायमा डाइरेक्ट व्यापार गर्न सकभर पाइँदैन । उनीहरुले अभिकर्ता उत्पादन गर्नुपर्छ । अभिकर्ता मान्छेको घर–घरमा गएर उपभोक्तालाई कन्भिन्स गरेर बीमा प्रोडक्ट बिक्री गर्ने हो । त्यसैले हामीले जबसम्म अभिकर्ता उत्पादन गर्न सक्दैनौं, तबसम्म जीवन बीमा व्यवसाय हुँदैन । त्यसकारण त्यो कुरा बुझेर हामीले माघ २७ गतेबाट आक्रामकरुपमा मुलुकरभर अभिकर्ता उत्पादनका लागि एक महिनामा ३५ जिल्लामा ७५ वटा अभिकर्ता तालिम, अन्तरक्रिया र छलफल कार्यक्रम गर्यौं । त्यसपछि कालीकोट, जुम्ला, स्याङ्जा गरी अहिलेसम्म मोटामोटी ४० वटा जिल्लामा अभिकर्ताको सञ्जाल फैलाइसकेका छौं । फागुन महिनामा अभिकर्ता तालिम सकियो । अब त्यही तालिमको आधारमा चैत महिनाभरीमै मुलुकाज्यभर २३ वटा शाखाको स्वीकृति लिएका छौं । यी शाखामध्ये काठमाडौं उपत्यकामा १० वटा र मेचीदेखि महाकालिसम्ममा १३ वटा शाखा खोल्ने तयारी गरेका छौं । नौ वटा सञ्चालनमा आइसकेका छन् । अब काठमाडौंमा १० वटा र बाहिरी जिल्लामा चारवटा गरेर २३ वटा सञ्चालनमा आउँदैछन् । हरेक दिन बैंकसँग सम्झौता पनि गरेका छौं । आउने हप्ता अझै सात वटा बैंकसँग सम्झौता गर्ने तयारीमा छौं । अहिलेसम्मको प्रगति यही नै हो ।

तपाईंहरुले फरक खालका प्रोडक्टहरु ल्याएका छौं भन्नुभएको छ । तपाईंहरुले ल्याएको ‘महालक्ष्मी डबल सावधिक बीमा योजना’ र लगानी फिर्ता म्यादी बीमा योजना’का मुल विशेषता के हुन् ? 

हामीले ग्राहकसँग सोझै कुराकानी गर्दैनौं । पहिले अभिकर्तासँग कुराकानी गर्छौ, अभिकर्तालाई हाम्रो प्रोडक्टको विषयमा बताउँछौं । उनीहरुले त्यसका फाइदा बेफाइदा बुझेपछि बीमितलाई बुझाउँछन् । त्यसमा के–के शर्तहरु छन् ? भन्ने कुरा अभिकर्तालाई तालिम दिन्छौं । त्यसपछि अभिकर्ता गाउँ–गाउँ पुग्छन् । उनीहरुले ग्राहकले के कस्तो प्रोडक्ट चाहेका छन् ? त्यो सबै अनुसन्धान गरेर हामीले नयाँ प्रोडक्ट बनाएका छौं । हाल गरेको अध्ययन अनुसन्धान र तालिमबाट आएको फिडव्याकको आधारमा नयाँ प्रोडक्ट बनाउने तयारीमा छौं ।

अहिले नेपालमा जति पनि बीमा कम्पनीहरु छन्, उनीहरुले बीमा प्रोडक्ट बेच्न जाँदाखेरी लामो अवधिको बीमा, जसमा बचत र सुरक्षा दुबै दिनेगरी प्रोडक्ट बनाएको हुन्छ । त्यो बिक्री गर्न गर्छन् । तर अहिले नेपालमा मानिसहरुलाई सुरक्षाभन्दा पनि लगानी फिर्ता चाहिएको छ । बीमा बनाउने मान्छेले बीमा बनाएवापत मैले के पाउँछु ? भन्छ । तर जति पनि कम्पनीहरु छन्, गाउँमा गएर १५ वर्षमा तपाईंको पैसा डबल हुन्छ भन्दै आए । तर साँच्चे भन्ने हो भने १५ वर्षमा त्यो पैसा डबल हुने हैन । मैले यो कुरा चाहीं सबै ठाउँमा भन्ने गरेको छु । डबल हुनका लागि १५ वर्ष नै ७० रुपियाँ बोनस चाहिन्छ । त्यो ७० रुपियाँ बोनस आजसम्म कुनै पनि कम्पनीको १५ वर्षमा हुन सकेको छैन । त्यसैले डबल नहुन सकेको अवस्थामा ग्राहकको चाहनालाई लिएर सिधै एउटा प्रोडक्ट बनायौं त्यो हो डबल बीमा योजना । यसमा तपाईंले यसमा जम्मा गरेको पैसा भुक्तानी अवधि सकिएपछि डबल पाउनुहुन्छ । यसमा बोनसको कुरा छैन् । अहिले अरु कम्पनीहरुले यति बोनस उति बोनस भनेर प्रचार गरिरहेका छन्, तर बोनस भनेको घटबढ भइरहन्छ । बैंकको नाफा घटबढ भएजस्तै बोनस पनि घटबढ हुन्छ । त्यहाँ कहिले बढि हुन्छ, कहिले घटी हुन्छ । उसको पैसामा लगानी गरेकोमा भुक्तानी अवधिपछि फिर्ता पाउने बेलामा डबल पाउँदैन । तर हाम्रो यो प्रोडक्ट डबल नै भनेर ल्याएकोले ग्यारेन्टी छ । यो प्रोडक्ट सबैले मन पराएका छन् यसमा कहीं पनि शर्त पनि छैन र झुक्किने डर पनि छैन् ।

अर्कोतर्फ लगानी फिर्ता भनेर नेपालमा अहिलेसम्म कसैले ल्याएको थिएन् । हामीले निर्जीवन बीमामा तपाईंले एक वर्षको लागि घर, गाडी, कृषि पशु बीमा गर्नुहुन्छ, केही भयो भने जोखिम कभर गर्छ । र केही भएन भने त्यो पैसा आम्दानीरुपमा हुन्छ । मान्छेले ठूलो पैसामा कुनै बीमा गर्यो भने त्यसमा केही नहुँदाखेरी बीमितले फिर्ता नपाउँदा उसको मनमा चसक्क हुन्छ । मैले यत्रो पैसामा बीमा गरे तर कम्पनीले फिर्ता नदिएरै सबै लग्यो भन्ने उसले सोच्छ । उसको त्यही भावनालाई हामीले बुझेर लगानी फिर्ता योजना ल्यायौं । यसमा बीमितले बीमा गर्दा जीवनको जोखिम कभर भयो र यदी त्यो अवधिमा केही भएन भने बीमितको पैसा पूरै फिर्ता पनि आयो । यी दुईवटा बीमा योजनाका विशेषता हुन् ।

यसअघि नै सञ्चालन भएका बीमा कम्पनीहरुबीच तीब्र प्रतिस्पर्धा भइरहेको बेला तपाईंहरु कसरी आफ्नो बजार विस्तार गर्र्नुहुन्छ ?

महालक्ष्मी भन्दा अगाडी १८ वटा कम्पनीहरु छन् । ती कम्पनीसँग प्रतिस्पर्धा गर्न त कठिन र चुनौतीपूर्ण छ । तर बीमा समितिले भर्खरै प्रकाशित गरेको तथ्यांकमा अहिलेसम्म १७ प्रतिशतमात्र बीमाको बजार कभर भएको छ । अझै पनि ८३ प्रतिशत बजार खाली छ । त्यही अवसरलाई नै हेरेर नयाँ नयाँ प्रोडक्ट लिएर अभिकर्तालाई त्यही अनुसारको तालिम र सेवाग्राहीलाई गुणस्तरीय सेवा लिएर बजारमा जाने सोच बनाएका छौं । त्यही तरिकाले गइराखेका पनि छौं । हामीले ल्याएको नयाँ प्रोडक्टको प्रतिक्रिया पनि राम्रो आइराखेको छ । जीवन बीमामा कहाँनेर समस्या छ ? कहाँ अफर छ ? भन्ने मैले बुझेकोले मैले टीमलाई राम्ररी लिएर यी १८ वटा कम्पनीसँग प्रतिस्पर्धा गरेर अगाडी लिएर जान सक्छु भन्ने विश्वास छ । नेपालका बीमा कम्पनीमा धेरैजस्तो नयाँ मान्छेहरु काम गर्छन । उनीहरुलाई बीमा बुझाउन समय लाग्छ । हाम्रो चाहीँ कम्पनी नयाँ भए पनि सञ्चालनकर्ता भने लामो समयदेखि नै जीवन बीमासम्बन्धी काम गरिराखेका हुनाले हामीलाई विश्वास छ यो कम्पनी राम्रोसँग चल्छ ।

संस्थापक पुँजी त पुर्याइसक्नुभयो । साधारणलाई सेयर चाहीं कहिले दिनुहुन्छ नि ?
पूँजी त बीमा समितिले तोकेको पूँजी कम्पनी सञ्चालन गर्ने बेलामै पुगिसकेको थियो । सेयर जारी गर्न भने कम्पनी सञ्चालन भएको एक वर्ष काम नगरिकन धितोपत्र बोर्डले अनुमति दिँदैन त्यसैले एक वर्षपछि आइपीओ जारी गर्छौं । पब्लिकको लागि भनेर हामीले ६० करोड रुपियाँ छृट्टाएका छौं ।

आउँदो असारसम्म ५० करोड बीमा शुल्क आर्जन गर्ने, दुई बर्षभित्र १० वटा जीवन बीमा कम्पनीमध्ये पहिलो हुने र पाँच बर्षमा सम्पूर्ण बीमा कम्पनीहरुमा उत्कृष्ट हुने बताउनुभएको छ । त्यो पूरा गर्नसक्नुहुन्छ । संभव छ ?

मैले यो कुरालाई यसअघि नै प्रतिबद्धता व्यक्त गरेको छु । यो मेरो मिसन र भिजन हो । १९ औं कम्पनीमा महालक्ष्मी लाइफ छ प्रतिस्पर्धामा जानको लागि नयाँ प्रोग्रामहरु बनाइएन भने कम्पनी अगाडी बढ्न सक्दैन । महाकवि लक्ष्मीप्रसाद देवकोटाले भन्नुभएको ‘उद्देश्य के लिनु, उँडी चन्द्र छुनु एक’ । त्यसैले लक्ष्य जहिले पनि ठूलो लिनुपर्छ । सानो लक्ष लियो भने त्यो भन्दा कम हुन्छ । लक्ष्य ठूलो लियो भने सेल्फ गाइड गर्छ । हाम्रो कम्पनीले प्रेसर दिएर टार्गेट बनाउँदैनौं । आफै छलफल गरेर अगाडी बढेका छौं । त्यसैले यो कम्पनीलाई पनि एक नम्बर बनाउने सकिने विश्वास छ ।

कम्पनीलाई एक नम्बर बनाउने अरु पनि आधार केही छ ?

विगतमा काम गरेको नेपाल लाइफलाई मैले एक नम्बर बनाए । एशियन लाइफलाई पनि एक नम्बरमा बनाए । यहाँ आउनुअगाडी त्यही विश्वासले महालक्ष्मी बैंकको सिइओ थिए । त्यो बैंकलाई पनि विकास बैंकमा एक नम्बरमा बनाएर छोडे । तीन वटा कम्पनीलाई एक नम्बर बनाएको हुनाले यस कम्पनीलाई पनी नम्बर १ बनाउन सकिने मेरो विश्वास छ । मुख्य त हिजो काम गरेको सफलता नै आधार हो ।

पछिल्लो समयमा बीमाको बजार अलिअलि बढ्न लागेको हो कि जस्तो देखिन्छ । तर पनि ८३ प्रतिशतभन्दा बढि बजार खाली नै छ । यति धेरै कम्पनी हुँदा पनि बजार विस्तार किन ढिलो भइरहेको हो ?

जीवन बीमा उद्योगले नेपालमा ५० वर्ष नाघिसकेको छ । हिजोको दिनमा जुन रफ्तारमा जानुपर्ने हो, त्यो रफ्तारमा जान सकेन । सही कुरा हो । तर अहिले जुन बीमा समितिको अध्ययक्ष हुनुहुन्छ, उहाँले आक्रामक हिसावले काम गर्नुभएको हुनाले अहिले १७ प्रतिशतसम्म पुगेको हो । कम्पनीहरु पनि अहिले धेरै गाउँमा पुगेका छन् । यसले गर्दा बीमा उद्योगको भविष्य र सम्भावना राम्रो छ ।

बजारमा निकै अस्वस्थ प्रतिस्पर्धा पनि देखिन्छ । बीमा गर्नेहरुलाई नभएको बोनसको आशा देखाएर बीमा गराउने कुरा तपाईंले नै गर्नुभयो । दावी भुक्तानी गर्ने कुरामा पनि सकेसम्म ढिलो गर्ने कुरा छ । यी कुरा कहिलेसम्म सुधार हुन्छ ?

नयाँ कम्पनीहरुको सुरुमा प्रिमियमको रिजर्ब नभएको अवस्थामा र शाखा विस्तार गर्ने अवस्थामा खर्च बढी हुने हुँदा बोनस हुँदैन । त्यसकारण जे छ बोनस आफ्नो हुने यथार्थ बोनस भनेर प्रोडक्ट बेच्यो भने जनताको बीमाप्रति विश्वास बढ्छ । हिजोको दिनमा सबैले डबल हुन्छ भनेर बेचे । मान्छेले डबल पाएनन् । अनि बीमाप्रति अविश्वास देखिएको हो । त्यसैले जनताको विश्वासलाई नतोडौं भनेर डबल बीमा योजना ल्याएको हो । यसमा बोनसको कुनै कुरा नै छैन् । बीमा उद्योगमा लाग्नुभएका साथीलाई बीमा बेच्दा सत्य बोलेर ग्राहकलाई नझुक्काउन र ग्राहकलाई नझुक्किन म आग्रह गर्छु । अर्को कुरा दावी बीमा भुक्तानी ढीला हुने भनेको चाहीँ कानुनी कागज हो । ढिलो पेश भयो भने मात्रै भुक्तानी ढिलो हुने हो । सबै प्रक्रिया पुगेपछि एक हप्ताभित्रमै पाइन्छ । अहिले कम्पनीहरुको प्रतिस्पर्धा पनि छ । त्यसकारण जति छिटो कागजपत्र पुग्छ, त्यति नै छिटो भुक्तानी हुन्छ ।

कुनै पनि देशको आर्थिक विकासको मापन त्यो देशमा कतिले बीमा गर्छन ? भन्ने कुराले पनि निर्धारण गर्छ । बिमाको अपेक्षाकृत विकास हुन नसक्नुमा कमजोरी कस्को हो ? बिमा कम्पनीको, बिमा समितिको ? सरकारको ?

देश विकासमा बीमा उद्योगको भूमिका ठूलो हुन्छ । जीडीपीमा बीमा उद्योगको योगदान दुई अढाई प्रतिशत मात्रै छ । किनकी बीमा भनेको यस्तो संरचना हो त्यसले घर घरमा भएको पैसाको बचत र सुरक्षाको हिसाबले बैंकमा जम्मा गरेर बैंकको माध्यमबाट लगानी गर्दा राष्ट्रिय अर्थतन्त्रलाई त्यसले ठूलो टेवा पुर्याएको हुन्छ । अहिले बीमा उद्योग बढेको देख्दा नेपालमा पाँच वर्षभित्रमा अर्थतन्त्रमा पाँच प्रतिशतभन्दा बढि योगदान दिन सक्ने सम्भावना रहेको छ ।

पछिल्लो समयमा बैंकहरुलाई संस्थागत एजेन्ट बनाउने क्रम निकै बढेको छ । यसबाट तपाईंहरुलाई बढि लाभ छ कि बैंकहरुलाई ?

संस्थागत एजेन्ट भएर बैंकले देशका कुनाकाप्चाबाट बीमा पोलिसी बिक्री गर्नु एउटा सकरात्मक पक्ष हो । तर अहिले बैंकास्योरेन्स भनेर जुन शब्द प्रयोग बीमा बेच्नु चाँही गलत हो । बैकास्योरेन्स भनेको डिपोजिट होल्डरको लोनीलाई टार्गेट गरेर ल्याउने प्रोडक्ट । त्यो बैंकले मात्र बेच्ने प्रोडक्टलाई बैंकास्योरेन्स भनिन्छ । अभिकर्ता र बैंक दुबैले प्रोडक्ट बेच्दा विकृति देखा परेको छ । अब भने एउटा बैंकले एउटा मात्रै बीमा कम्पनीसँग काम गर्न पाउने ऐन ल्याइँदैछ ।

बीमाको विकासमा बैंकहरुको पनि महत्वपूर्ण भूमिका हुन्छ । बैंकहरु लगानीयोग्य पुँजीको अभावबाट मुक्त हुन सकेका छैनन् । सेयर बजार घट्या घट्यै छ । यसले जीवन बीमाको बजारलाई केही असर गर्दैन् ?

सेयर बजार घटिरहेको बेलामा र बैंकको व्याज बढेको बेलामा मान्छेहरुको बीमाप्रतिको आकर्षण कम हुन्छ । नेपालीहरुलाई सुरक्षाभन्दा पनि लगानीको रिटर्न चाहिएको छ । बीमा भनेको लामो अवधिमा रिटर्न दिने संस्था हो बैकहरुले वर्षेनी रिटर्न दिने संस्था भएकाले बैंकले मुद्दतीमा मासिक व्याज दिइरहेको अवस्थामा मान्छेको आवश्यकतालाई हेरेर जीवन निर्बाहको लागी पैसा चाहिएको छ भने उ बैंकमै जान्छ । किनकी बीमाले एउटा निश्चित पिरियडपछि दिने र सबैभन्दा ठूलो आकर्षण जोखिम कभर गर्ने, सँगसँगै बचतको निश्चित अबधिपछि भुक्तानी दिने हुनाले आकर्षण कम रहन्छ ।

अहिले स्वास्थ्य बीमाको माग र आवश्यक निकै बढेर गएको छ । सरकारले यसलाइ अघि बढाए पनि सबै जनतासम्म पुगेको छैन । सबैको स्वास्थ्य बीमा हुने दिन कहिले आउला ?

स्वास्थ्य बीमा प्राइभेट सेक्टरले गर्दा नक्कली बिलहरु पेश गरेर पैसा लिइरहेको अवस्थामा पनि सरकारले बीमा त ल्यायो । अझै पनि सबैको पहुँच पुगेको छैन । जसले स्वस्थ्य बीमा गर्छ, उसले भुक्तानी लिन जाँदाखेरी भुक्तानी भेरीफाई गर्ने निकाय बीमाको टीपिए (थर्ड पार्टी एडमिनिस्टेटर) नभएको अवस्थामा बिल भेरिफई गर्ने निकाय नभएर स्वास्थ्य बीमा असफल भएको छ । नेपालमा कानुन र आदेश छैन् । मान्छेमा नैतिकता छैन । त्यसले गर्दा मान्छेहरु नक्कली काम गरेर कमाउँ भन्ने मनस्थिति छ । त्यो मनस्थिति नहटेसम्म स्वास्थ्य बीमा सफल हुन गाह्रो छ ।

बैंकहरुमा जस्तै बीमा कम्पनीहरुको मर्जर वा एक्विजिशनको संभावना कत्तिको देख्नुहुन्छ ?

नेपालमा १९ वटा जीवन बीमा कम्पनीको आवश्यकता छैन भविष्यमा पनि रहँदैनन् । तर अहिले के छ भने सुरुको दिनमा जसरी आए अब भविष्यमा जो सक्छ टिक्छ, जो सक्दैन विलय हुन्छ । अबको पाँच वर्षपछि जीवन बीमा कम्पनीमा पनि मर्जरको लहर आउँछ । बढीमा मलाइ लाग्छ ७ देखि १० वटा जीवन बीमा कम्पनीको आवश्यकता छ ।

बीमा कम्पनीको सेवालाई पनि डिजिटलाइज गर्ने कुरामा तपाईंहरुको योजना वा तयारी के भइरहेको छ ?

यसमा हामी ब्रान्च लेस इस्योरेन्सको कन्सेप्ट लिएर आएका छौं । ठाउँठाउँमा ट्याबलेट दिने, दक्ष जनशक्ति राखेर ट्याबलेटको माध्यमबाट बीमाका सम्पूर्ण कागज पठाउने । अनि यहाँबाट फेरिफाई गरेर हामीले ओके गरेपछि उसले त्यहीबाट हाम्रो खातामा पैसा रेमिट्यान्स गरेपछि मान्छे यहाँ आइरहनु परेन । हामी अब एक वर्ष भित्रमै टेक्नोलोजी डिजिटलाइजेशनमा जान्छौं । त्यही हिसाबले सफ्टव्रलाई अगाडी बढाएका छौं ।

Advertisement

Advertisement

Advertisement