एन्फाले प्रत्येक महिला फुटबल खेलाडीलाई एक लाख रुपियाँ दिने निर्णय

Advertisement

विराटनगर । अखिल नेपाल फुटबल सङ्घ एन्फाले पाँचौ साफ फुटबल प्रतियोगिता खेल्ने प्रत्येक खेलाडीलाई एक लाख रुपियाँ नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । एन्फाको शनिबार साँझ यहाँ सम्पन्न १८औँ वार्षिक साधारणसभापछि आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता किरण राईले निर्णय सार्वजनिक गरेका हुन् ।

यसअघि पाँचौ साफ फुटबल खेल्ने खेलाडीलाई प्रदेश सरकारले एक लाख रुपियाँ तथा विराटनगर महानगरपालिकाले ५० हजार रुपियाँ प्रदान गर्ने निर्णय गरिसकेको छ । यसैगरी एन्फाले आर्थिक वर्ष २०७५/७६ का लागि २३ करोड ७४ लाख ५० हजार रुपियाँको अनुमानित वार्षिक बजेटसमेत स्वीकृत गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले साफ फुटबल सफलतापूर्वक सम्पन्न गर्न सबैको सहयोग प्राप्त भएकामा धन्यवाद दिँदै प्रदेश नं १ मा आगामी दिनमा मुख्यमन्त्री आमन्त्रण फुटबल तथा १० देखि १२ वर्ष उमेरका महिलाका लागि फुटबल प्रशिक्षण कार्यक्रम चाँडै सञ्चालन गर्ने जानकारी गराए ।

उनले प्रदेश सरकारको सहयोग प्राप्त भए विराटनगरमा महिला फुटबल प्रशिक्षण एकेडेमी सञ्चालन गर्ने आश्वासनसमेत दिए । विराटनगरको शहीद रङ्गशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसारको निर्माण सम्पन्न भएकामा खुशी व्यक्त गर्दै त्यसको संरक्षण गर्ने जिम्मेवारीसबैको काँधमा आएको उनको भनाइ थियो ।

साफ महिला फुटबल सम्पन्न गर्न विराटनगर महानगपालिकाबाट रु एक करोड २० लाख रुपियाँ र प्रदेश सरकारबाट रु ५० लाख भौतिक पूर्वाधारका लागि प्राप्त भएको र सोही शीर्षकमा खर्च भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । साफ खेलकूदबाट प्रतियोगिता सम्पन्न गर्न रु एक करोड ६५ लाख प्राप्त हुने विश्वास गरिएको छ ।

पत्रकार सम्मेलनमा साफ महिला फुटबलसम्बन्धी सम्पूर्ण खर्च तथा आम्दानी आगामी एक हप्ताभित्र सार्वजनिक गरिने प्रवक्ता राईले जानकारी दिए । यस्तै एन्फाले खेलकूद पत्रकारिताका लागि तीनदिने प्रशिक्षण कार्यक्रम गर्ने अध्यक्ष शेर्पाले बताए। यसैगरी खोटाङ, नवलपुर र मनाङ जिल्लाका फुटबल सङ्घलाई आगामी एक वर्षका लागि पर्यवेक्षकका रुपमा अस्थायी सदस्यता प्रदान गर्ने निर्णय साधारणसभाले गरेको छ ।

Advertisement

Advertisement

Advertisement