गुणस्तरीयताका लागि हाइटेक स्याउ नर्सरी

Advertisement

खलङ्गा । स्याउका गुणस्तरीय बिरुवा उत्पादनका लागि तयार गरिएको हाइटेक नर्सरी निर्माणको अन्तिम चरणमा पुगेको छ । जुम्लाको चन्दननाथ नगरपालिका–८ उमगाडमा तयार गरिएको हाइटेक नर्सरीको काम अव अन्तिम चरणमा पुगेको प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालय ‘सुपरजोन’ जुम्ला शाखाले जनाएको हो ।

उक्त शाखाका प्राविधिक ईन्द्र सुवेदीले सत्रखम्बा फलफूल नर्सरीका किसान अम्मरबहादुर रावत र कालिका फलफूल नर्सरीका रतनबहादुर रावतलाई हाइटेक नर्सरी सञ्चालनका लागि रु एक करोड १७ लाख सहयोग गरिएको र यो कार्यक्रम यसै वर्ष सञ्चालनमा आउने बताउनुभयो । हाइटेक नर्सरीबाट गुणस्तरीय बिरुवा उत्पादन गर्न सकिने र एक वर्षमा एक नर्सरीले ७५ हजार बढी बिरुवा उत्पादन गर्न सक्ने उनिहरुको जिकिर छ ।
नर्सरीका किसानलाई नर्सरी सञ्जीवनी हाइट नर्सरीले प्राविधिक ज्ञान दिइरहेको छ । जुम्लालाई अझै धेरै बिरुवाको आवश्यकता हुनाका साथै अन्य जिल्लामा पनि गुणस्तरीय बिरुवा निर्यात गर्ने उद्देश्यका साथ दुई हाइटेक नर्सरी घर बनाइएको हो । सो नर्सरीबाट उत्पादन भएको एक बिरुवाबाट करीब २० देखि ३० केजीसम्म स्याउ फल्ने अनुमान गरिएको छ ।

जुम्लामा योभन्दा पहिला जिल्ला कृषि विकास कार्यालयअन्तर्गत स्वीकृत गरिएका नर्सरीमार्फत पनि वर्षेनी बिरुवा उत्पादन हुने गरे पनि अपुग हुने गरेको थियो । हामीले आफ्नै तरिकाले विगतमा स्याउको बिरुवा उत्पादन गरेका थियौँ अब भने आधुनिक प्रविधिद्वारास्याउ उत्पादन गर्ने अवसर मिलेको नर्सरी धनी रतन रावतले जानकारी दिए ।

प्रशस्त स्याउ फल्ने यहाँ स्याउखेतीलाई आधुनिकीकरण गर्ने उद्देश्यका साथ लागू गरिएको सो परियोजनाले जिल्लाको चन्दननाथ र तातोपानी गाउँपालिकामा काम गरिरहेको उक्त कार्यालयले जनाएको छ । गत वर्ष जिल्ला कृषि विकास कार्यालयमा दर्ता भएका नर्सरीबाट करीब एक लाख बिरुवा बिक्री भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत भरत कँडेलले जानकारी दिए । उनका अनुसार गुणस्तरीय बिरुवा जति उत्पादन भए निर्यात हुने सम्भावना छ ।

Advertisement

Advertisement

Advertisement