‘गृहको सहसचिव हुँ’ भन्दै करोडौं ठगी गर्ने सत्येन्द्र यादव उर्फ वीरेन्द्र अधिकारी पक्राउ

Advertisement

काठमाडौं । गृह मन्त्रालयको बहालवाला सहसचिव बताउँदै साढे पाँच करोड रुपैयाँ ठगी गर्ने रौतहट गौर–१ का ५७ वर्षीय सत्येन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई तारकेश्वर नगरपालिका पाँचपानेस्थित एक रिसोर्टबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले क्यानाडा लैजाने भन्दै ७० जनाभन्दा धेरै युवासँग रकम असुलेका थिए । परिसरमा ६ जनाले जाहेरी दिएपछि यादवलाई पक्राउ गरिएको प्रवक्ता डिएसपी होविन्द्र बोगटीले बताए । बोगटीका अनुसार यादवले ६ जनाबाट मात्रै एक करोड ८४ लाख रुपैयाँ असुल गरेका थिए ।

बोगटीले भने, ‘क्यानाडा लैजाने भन्दै थुप्रै युवासँग रकम असुलेको देखियो । प्रतिव्यक्ति पाँच लाख देखि १५ लाख रुपैयाँसम्म असुल गरेको जाहेरी परेको छ । सोही जाहेरीपछि उनलाई पक्राउ गरिएको हो । पीडितको बयानअनुसार यादवले साँढे पाँच करोड रुपैयाँ ठगी गरेका छन् ।’

को हुन् सत्येन्द्र यादव ?
प्रहरीका अनुसार सत्येन्द्र यादव उर्फ वीरेन्द्र अधिकारी वीर अस्पतालको सातौँ तहका डार्करुम टेक्निसियन हुन् । १७ लाख ६८ हजार ८ सय एक रुपैयाँ मूल्यबराबरको एक्सरेप्लेट खरिदमा हिनामिना गरेको प्रमाणित भएपछि काठमाडौं जिल्ला अदालतले उनलाई ८१ लाख ८४ हजार ८ सय एक रुपैयाँ जरिवानासहित चार वर्ष कैद सजाय सुनाएको थियो । लगत्तै फरार भएका उनी परिचय बदलेर वीरेन्द्र अधिकारी बनेका थिए । उनले अधिकारीकै आवरणबाट ठगी धन्दा चलाएको प्रहरीको भनाइ छ ।

यसरी गर्थे ठगी
विशेषगरी, भूकम्प प्रभावित क्षेत्रका युवासँग रकम असुलेको उनले बताए । प्रहरीका अनुसार भूकम्पपीडितका लागि क्यानाडा सरकारले विशेष भिसाको प्रबन्ध गरेको भन्दै उनले युवा जम्मा गर्थे र ‘गृह मन्त्रालयको सहसचिव वीरेन्द्र अधिकारी हुँ’ भनी परिचय दिन्थे । विश्वास दिलाउन युवालाई सहसचिवको परिचयपत्र पनि देखाउँथे । प्रत्येक युवासँग सुरुमा २० लाख माग गर्थे । थोरै कोटा रहेको भन्दै मनोवैज्ञानिक दबाब दिन्थे । र, रकम दिएको अरूलाई नभन्न सचेतसमेत गराउँथे । सामाखुसीस्थित एक क्याफेमा बोलाएर युवासँग रकम लिन्थे । त्यसपछि अचानक क्यानडा जानुपर्ने भन्दै फोन अफ गरेर सम्पर्कविहीन हुन्थे ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement