चार दिनमै चार करोड राजश्व सङ्कलन

Advertisement

काठमाडौँ । पर्यटन विभागले हिमाल आरोहण अनुमति ‘पर्मिट’ जारी गर्न शुरु गरेको चार दिनमै करीब चार करोड रुपियाँ राजश्व सङ्कलन भएको छ ।

सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमालबाट तीन करोड ९० लाख नौ हजार दुई सय ९७ रुपियाँ राजश्व उठेको विभागको पर्वतरोहण शाखाका रामेश्वर निरौलाले जानकारी दिए । यीमध्ये सबैभन्दा बढी सगरमाथाबाट तीन करोड ५३ लाख रुपियाँ राजश्व उठेको छ । विभागले यो सिजनको गत फेब्रुअरी २७ मा पहिलो आरोहण पर्मिट जारी गरेको थियो । पछिल्लो मार्च २३ देखि २५ सम्म तीन दिनमै तीन करोड ८७ लाख रुपियाँ राजश्व उठेको छ ।

वसन्त ऋतुको यो याममा हिमाल आरोहणका लागि १५ भन्दा बढी आरोही दलले पर्मिटका लागि निवेदन दिएकामा विभागले सोमबारसम्म नौ समूहलाई आरोहण अनुमति दिएको छ । यीमध्ये तीन सगरमासहित ल्होत्से, अन्नपूर्ण, कुम्बकर्ण, पुमरी, थापा पिक र छोपबमरी रहेका छन् । वैशाख महीनासम्म आरोहण अनुमति लिने भएकाले आरोहीको सङ्ख्या बढ्ने विभागको अनुमान छ ।

सन् २०१८ को यही मौसम ९वसन्त ऋतु० मा सगरमाथासहितका हिमाल आरोहणका लागि १०७ आरोही समूह गएका थिए । तीमध्ये सगरमाथा आरोहणका लागि ३४ समूह गएका थिए । सन् २०१७ को सोही याममा सगरमाथासहितका हिमाल आरोहणका लागि १०८ आरोही दल गएका थिए ।

सगरमाथा आरोहणको रोयल्टी ऋतुअनुसार फरक–फरक हुन्छ । विदेशी आरोहीले वसन्त ऋतुमा ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्नेछ । विभागका अनुसार सन् २०१८ को वसन्त ऋतुमा ४१ करोड २८ लाख ८४ हजार ६३८ रुपियाँ रोयल्टी जम्मा भएको छ । योमध्ये सबैभन्दा धेरै सगरमाथाबाट मात्रै ३५ करोड १४ लाख ९८ हजार ३१२ रुपियाँ रोयल्टी उठेको छ । सरकारले आरोहणका लागि ४१४ हिमाल खुला गरेको छ, अझै आरोहणयोग्य १३ सयभन्दा बढी हिमाल रहेका छन् ।

Advertisement

Advertisement

Advertisement