पत्रकार सम्मेलन गरेर अर्थमन्त्रीले भने– लगानीका लागि निकै अनुकुल परिस्थिति बनेको छ

investment-summit-press-meet

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले लगानीका लागि पहिलाको भन्दा निकै अनुकुल बनेको बताउँदै अपेक्षाअनुसार विदेशी लगानी आउनेमा सरकार आशावादी रहेको बताएका छन् ।

लगानी सम्मेलनको तयारीबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्था र सरोकारवाला सरकारी निकायका प्रमुखहरुलाई समेत राखेर लगानी सम्मेलन सफल हुने आशा व्यक्ति गरे ।

ss-college

उनले विदेशी लगानीकर्ताका लागि सहज परिस्थिति बनाउन दुई वटा आर्थिक ऐनहरु ल्याइएको र दुई वटा आउने क्रममा रहेको भन्दै करको विषयमा रहेको अन्योलता र असहता अब हटेको र नाफा लैजाने कुरामा पनि समस्या नरहेकोले विदेशी लगानीका लागि नेपाल अनुकुल बनेको बताए ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दले लगानी सम्मेलन प्रभावित नहुने खतिवडाको विश्वास छ । उनले मुलुक बनाउने र जनताको हितको कुरामा कसैबाट पनि अवरोध हुन नहुने भन्दै जनताको संवृद्धिका लागि पनि विप्लव समूहबाट सहयोग हुने आशा व्यक्त गरे ।

निजी क्षेत्रका प्रतिनिधिहरुले भने लगानी सम्मेलन सफल बनाउन आफूहरु पनि लागेको बताउँदै तर लगानी गर्ने कुरामा सरकारले स्वदेशी र विदेशी भनेर भेदभाव भने गर्न नहुने बताए ।

उनीहरुले विदेशी लगानीकर्ताका लागि नेपाल अनुकुल ठाउँ रहेको र अहिले भएकाहरुले राम्रो प्रतिफल लान सफल भइरहे पनि त्यो कुरालाई नेपालले मार्केटिङ गर्न नसकेको बताएका थिए । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघकी भवानी राणा, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले बोलेका थिए ।

अर्थमन्त्री खतिवडाले भने लगानी सम्मेलन सफल बनाउने कुरामा निजी क्षेत्रदेखि सबैको साथ हुनुपर्ने भन्दै सबैले मुस्कानका साथ लगानीकर्तालाई स्वागत गर्नुपर्ने बताए । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र उद्योग मन्त्रालयकी सचिव यमकुमारी खतिवडाले एकद्धार प्रणालीबाट लगानीकर्तालाई सहज सेवा दिने कुराको लागि तयारी भइरहेको बताउँदै यथासक्यो यो सेवा सुरु गरिने बताएका थिए ।