माथिल्लो त्रिशुली–३ ‘बी’को आईपिओ अधिकतम ३० कित्ता पाउने, अधिकांशलाई २० मात्रै

Advertisement

काठमाडौं । ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गतको माथिल्लो त्रिशुली–३ ‘बी’ जलविद्युतले निष्काशन गरेको आयोजनाको शेयरमा आवेदन गरेका अधिकांश आवेदकले २० कित्ता शेयर पाउने भएका छन्। यस्तै अधिकतम शेयर पाउनेले ३० कित्ता हात पार्ने भएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको उपस्थितिमा मन्त्रालयमा अपरान्ह १ बजे सो आईपिओ बाँडफाँड गरिँदै छ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार उक्त आईपिओमा एक लाख ५४ हजार ६२४ आवेदनबाट ६ करोड ४५ लाख ५२ हजार ९०० कित्ताको आवेदन परेको थियो। आईपिओबाट कम्पनीले ६४ करोड ५५ लाख २९ हजार रुपियाँ संकलन गरेको छ।

यस कम्पनीको आईपिओमा प्रधानमन्त्री केपी शर्मा ओलीले १० हजार कित्ता तथा ऊर्जामन्त्री वर्षमान पुनले एक हजार कित्ता शेयरको लागि आवेदन दिएका छन्। धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार प्रत्येक आवेदकलाई १० कित्ताका दरले बाँडफाँड गर्दा सबै आवेदकलाई २० कित्ताका दरले बाँडफाँड गर्न पुग्ने देखिन्छ।

कुल ३७ लाख ५ हजार कित्तामध्ये कर्मचारीलाई छुट्टाएर ३५ लाख ९३ हजार ८५० कित्ता शेयर निष्काशन गरिएको हो। निर्देशिका अनुसार सबै आवेदकलाई २० कित्ताका दरले शेयर बाँडफाँड गर्दा ३० लाख ९२ हजार ४८० कित्ता शेयर बाँडफाँड हुनेछ। बाँकी ५ लाख एक हजार ३७० कित्ता शेयर एक लाख ५४ हजार ६२४ आवेदकमध्ये गोलाप्रथाबाट ५० हजार १३७ जना आवेदकले थप १० कित्ताका दरले प्राप्त गर्नेछन्। यसअनुसार ३२ प्रतिशत आवेदकले ३० कित्ताका दरले पाउनेछन् भने ६८ प्रतिशत आवेदकले २० कित्ता मात्र हात पार्नेछन्।

यसअनुसार एक लाख ४ हजार ४८७ जना आवेदकले २० कित्ता शेयर पाउने देखिन्छ भने ५० हजार १३७ जना आवेदकले ३० कित्ताका दरले शेयर पाउनेछन् । माथिको तथ्याङ्कमा आवेदन गरेका आवेदकको माग आवेदन रद्ध हुँदा भने तथ्याङ्कमा केही फरक पर्न सक्नेछ ।

नुवाकोट र रसुवामा निर्माणाधीन ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली–३ ‘बी’ जलविद्युत आयोजनाले ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत पहिलो कम्पनीको रुपमा शेयर निष्काशन गरेको हो।

पहिलो चरणमा १० प्रतिशत बराबरको ३ करोड ७० लाख ५० हजार रुपियाँ बराबरको ९३ लाख ७० हजार ५०० कित्ताको लागि मात्र शेयर माग गरिएको हो। बाँकी रकम आयोजनाको भौतिक प्रगति ७५ प्रतिशत पूरा भएपछि दोस्रो चरणमा माग गर्नेछ।

Advertisement

Advertisement

Advertisement