विपन्नलाई निःशुल्क विद्युत् मिटर बितरण सुरु, अब चोरी घट्छः प्राधिकरण

Advertisement

काठमाडौं । आर्थिक अवस्था कमजोर भएका विपन्न वर्गीय घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गर्ने सरकारको कार्यक्रम कार्यान्वयन सुरु गरेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले मुलुकभर रहेका आफ्ना वितरण केन्द्रहरुमार्फत विपन्न वर्गलाई निःशुल्क मिटर जडान सुरु गरेको जनाएको हो । विपन्नले प्राधिकरणको मापदण्डअनुसारको ५–३० एम्पिएर क्षमताको बक्ससहितको सिंगल फेज इनर्जी मिटर, एमसीबी बक्स निःशुल्क पाउने छन् ।

प्राधिकरणले मिटर जडानका लागि सेवा शुल्क नलिने जनाउँदै सम्बन्धित स्थानीय तहले उपलब्ध गराएको विपन्न वर्गको सिफारिसका आधारमा निःशुल्क मिटर जडान गरिदिने जनाएको छ ।

मिटरको एक हजार ९३५ रुपियाँ, एमसीबीको मूल्य, अधिकतम २ वटा पोल (करिब १ सय मिटर) सम्मको सर्भिस केबल, जडान गर्दा लाग्ने सेवा शुल्कसहित नयाँ मिटर जडान गर्दा लाग्ने जम्मा तीन हजारदेखि तीन हजार पाँच सय रुपैयाँबराबरको लागत विपन्न वर्गले निःशुल्क पाउने छन् । यो रकम जुटाउन नसक्दा त्यस्ता समुदायले चोरी (हुकिङ)मार्फत विद्युत प्रयोग गर्दै आएको प्राधिकरणको ठहर छ ।

सरकारले चालु आर्थिक वर्षमा विपन्न वर्गलाई निःशुल्क मिटर जडान कार्यक्रम कार्यान्वयन गर्न ४० करोड रुपियाँ विनियोजन गरेको छ । सरकारले उपलब्ध गराएको रकमलाई प्राधिकरणले आफ्ना ८ वटा क्षेत्रीय कार्यालयलाई ५÷५ करोड रुपैयाँ बाँडफाँड गरेको थियो । क्षेत्रीय कार्यालयले प्राप्त रकमलाई विपन्न वर्गको संख्याका आधारमा शाखा कार्यालयलाई बाँडफाँड गरेका छन् ।

प्राधिकरण जनकपुर क्षेत्रीय कार्यालयले निःशुल्क मिटर जडान कार्यक्रम प्रभावकारी देखिएको र लक्षित समुदायबाट राम्रो प्रतिक्रिया प्राप्त भएको जनाएको प्राधिकरणबाट प्राप्त समाचारमा जनाइएको छ । सो कार्यालयले ३ हजारभन्दा बढी विभिन्न वर्ग घरधुरीमा निःशुल्क मिटर जडान गरिसकेको छ ।

Advertisement

Advertisement

Advertisement