लगानी सम्मेलन आजबाट, यस्तो छ तयारी र कार्यक्रम

Advertisement

काठमाडौं । ठूलो मात्रामा लगानी जुटाएर मुलुकमा आर्थिक संवद्धि ल्याउने उद्देश्यले सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन शुक्रबार बिहान होटल सोल्टीमा सुरु हुँदैछ । सम्मेलनमा लागि आवश्यक सबै तयारी पूरा भएको लगानी बोर्डले जनाएको छ ।

सम्मेलनमा सहभागी हुन आउने पाहुना तथा सहभागीमध्ये धेरैजसो राजधानी आइसकेका छन् । यस सम्मेलनमा ४० मुलुकका छ सय प्रतिनिधि सहभागी हुने जनाइएकोमा बिहीबारसम्म चार आइसकेको र बाँकी शुक्रबार आउने जनाइएको छ । सम्मेलन होटल सोल्टीमा हुँदैछ ।

सम्मेलनमा सहभागी हुन आउनेको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालय र बोर्डका कर्मचारी खटिएका छन् भने विमानस्थलमा सहजरुपमा प्रवेशाज्ञा, मोबाइलको सिमकार्ड तथा सम्बन्धित होटलमा पुर्याउने व्यवस्था गरिएको छ ।

यसअघि २०७३ सालमा गरिएको लगानी सम्मेलनमा १४ खर्ब रुपियाँभन्दा बढिको लगानी प्रतिवद्धता आए पनि त्यसको प्रगति अहिलेसम्म न्यून रहेको बेला त्यो स्थिति दोहोरिन नदिन लगानीसम्वन्धी कानुनदेखि अन्य आर्थिक कानुनमा सुधार, एकद्धार प्रणालीबाट सेवा दिने तयारी गरिएको छ ।

यस सम्मेलनका लागि सरकारले ५० र निजी क्षेत्रबाट २५ आयोजना गरी कूल ७७ आयोजनालाई ‘शो केश’ मा राखेको छ । आन्दोलनरत नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबाट हुनसक्ने संभावित अवरोध र विस्फोटका घटनालाई नियन्त्रण गर्न राजधानी काठमाडौंको सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ ।

सम्मेलनमा प्रमुख प्रतिपक्षी दलबाट शेरबहादुर देउवासहित तीन जनालाई बोलाइएको छ । देउवाले आफ्नो तर्फबाट प्रतिनिधित्व गर्न अर्थमन्त्री भइसकेका सो पार्टीका नेता रामशरण महतलाई निर्देशन दिएका छन् ।

सम्मेलनमा सातवटै प्रदेशका तर्फबाट पनि थप केही योजना प्रस्तुत गर्ने तयारी गरिएको छ । सम्मेलनकै लागि सातै प्रदेशका मुख्यमन्त्रीसमेत काठमाडौँ आइपुगेका छन् । प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने यस सम्मेलनमा काठमाडौंस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपालका निजी क्षेत्र, गैरआवासीय नेपाली तथा स्वदेशी लगानीकर्ता पनि सहभागी हुने बोर्डले जनाएको छ ।

नेपालमा लगानीको अवसरबारे जानकारी दिइने यस सम्मेलनमा कृषि, जलविद्युत्, उद्योग, पर्यटन, यातायात शहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्रसम्बन्धी परियोजना प्रस्तुत गरिनेछ । सम्मेलनलाई नै ध्यानमा राखेर सरकारले हालै सङ्घीय संसद्बाट ‘सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन’, ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन’ पारित गर्नुका साथै ‘विशेष आर्थिक क्षेत्रसम्बन्धी ऐन’ समेत संशोधन गरिसकेको छ ।

सम्मेलनमा रु ६४ करोडदेखि रु तीन खर्ब ५० अर्बसम्मका परियोजना प्रस्तुत हुनेछन् । त्यसमा नलगाड जलविद्युत् आयोजना, एआर–६, सुनकोशी दोस्रो र तेस्रो, तमोर जलाशयुक्त आयोजना, पश्चिम सेती, तल्लो अरुण, पश्चिम सेती र एसआर–६ संयुक्तलाई प्रमुख आयोजनाका रुपमा राखिएको छ । बोर्डका अनुसार रु ३१ खर्ब बराबरको परियोजनाको सूची तयार गरिएको छ ।

सम्मेलनका क्रममा नै एक दर्जन बढी परियोजनासँग समझदारीमा हस्ताक्षर गर्ने तयारीसमेत गरिएको छ । सरकारका प्रवक्ता एवं सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले लगानी सम्मेलनबाट विश्वलाई नयाँ नेपाल निर्माणको सन्देश दिन चाहेको बताउँदै लगानीमैत्री वातावरणका लागि नीतिगत सुधारका साथमा अघि बढेको बताए ।

विसं २०४६ को परिवर्तनपछि बनेको सरकारले विसं २०४८ मा लगानी सम्मेलनको आयोजना गरेको थियो । यस्तै दुई वर्ष पहिले २०७३ सालमा पनि लगानी सम्मेलनको आयोजना गरिएको थियो ।

Advertisement

Advertisement

Advertisement