काठमाडौं नजिकै रहेको जुगल हिमाल पहिलो पटक आरोहण खुला

Advertisement

काठमाडौं । राजधानीबाट नजिक रहेको सिन्धुपाल्चोकको जुगल हिमाल आरोहण पहिलोपटक खुला गरिएको छ । काठमाडौँबाट १४५ किलोमिटर दूरीमा रहेको उक्त हिमाल आरोहण खुलासँगै शुक्रबार आरोही दल त्यसतर्फ जाने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

आरोहण खुला गरिएसँगै जुगल हिमशृङ्खला ग्याल्जेन चुली प्रथम आरोहण तथा अध्ययन गर्न आरोही आधारशिविरतर्फ जाने भएका हुन् । जुगल हिमाल समुद्री सतहबाट छ हजार १५१ मिटर उचाइमा छ ।

प्रदेश ३ सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र जुगल गाउँपालिकाको कार्यालयले संयुक्तरुपमा आरोहण तथा अध्ययनका लागि सहयोग गर्ने जनाइएको छ । एउटा आरोहणको नेतृत्व सगरमाथा आरोही माया गुरुङ र अर्को माधव सापकोटाले नेतृत्व गर्नेछन् ।

ग्याल्जेन चुली आरोहण तथा अध्ययनका लागि प्रदेश नं ३ सरकारको मन्त्रिपरिषद् बैठकले चुली आरोहण गर्न सिन्धु पर्यटन परिषद्लाई रु ४० लाख अनुदान सहयोग गर्ने निर्णय गरेको थियो । प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले प्रदेश नं ३ को आर्थिक समृद्धिसँग जोडिएको काठमाडौँबाट नजिको ‘पिक’ प्रचारप्रसार भएमा पर्यटन क्षेत्रमा सहयोग पुग्ने बताए ।

हालसम्म औपचारिकरुपमा मानव पाइला नपुगेको ग्याल्जेन चुली जुगल हिमशृङ्खलाका ११ वटा मध्येको एक रहेको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । यससँगै अब आरोहणका लागि ४१५ हिमाल भएका छन् । अझै एक हजार ३०० भन्दा बढी हिमाल आरोहणका लागि योग्य रहेको बताइन्छ । सम्भावित जोखिम, पर्यटन प्रवद्र्धनका सम्भाव्यता, रक क्लाइम्बिङ, आइस क्लाइम्बिङसम्बन्धी अध्ययन गर्ने र जुगल हिमाल आरोहणलाई प्रवद्र्धन गर्न भिडियो वृत्तचित्र तयारी गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत प्रचारप्रसार गरिने आयोजकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement