युरोपका सफा सडक बढार्ने ब्रुमर काठमाडौंका धुले सडकमा एक साता पनि टिकेन

brumer

काठमाडौं । धेरै धुलो र फोहर हुने काठमाडौंका सडकहरु बढार्न युरोपियन ब्रुमर काम नलाग्ने यसअघि नै टेण्डरका क्रममा विज्ञदेखि काठमाडौं महानगरपालिकाका कतिपय कर्मचारीहरुले मेयर विद्यासुन्दर शाक्यलाई सुझाव दिएका थिए ।

तर उनले त्यो सुझावलाई लत्याउँदै उनले सोही युरोपियन (इटालीको) ब्रुमर ‘डेलेभो’को नेपाली एजेन्टले हालेको बोलपत्र स्वीकृति नहुने अवस्था नआउँदासम्म टेण्डर रद्द गरिरहे । उसको स्पेसिफिकेशनसँग मिल्नेगरी तेस्रो पटक गरिएको ठेक्कामा डेलेभो पर्ने निश्चित भएपछि बल्ल मेयर शाक्यले टेण्डर रद्द गरेनन् ।

इटालियन ब्रुमर डेलेभो युरोपका सडकहरुलाई लक्षित गरी डिजाइन गरिएको सडक बढार्ने इन्त्र हो, जहाँका सडकहरुमा नेपाल, भारत, बंगलादेश जस्ता मुलुकमा जस्तो सडकमा धेरै धुलो हुँदैन् । यो ब्रुमर विशेषगरी ठूलो रंगशाला, विमानस्थल, सपिङ कम्प्लेक्सका लागि लागि मात्रै मात्रै ठिक छ, काठमाडौंका सडकहरु बढार्दैन भन्दा भन्दै पनि मेयर शाक्य सोही ब्रुमर ल्याउन मरिहत्तै गर्नु निकै चाखलाग्दो विषय छ ।

आखिरी यसअघि अनुमान गरिएजस्तै डेलेभो एक साता नहुँदै बिग्रिएर क्रेनले तान्नुपर्ने अवस्था आयो । आइतबारदेखि सञ्चालनमा आएको ब्रुमर सोमबार पानी परेको भनेर चल्नै सकेन् । तेस्रो दिन चल्ने क्रममा काठमाडौंकै सफा सडकमध्येको एक बालुवाटार खण्डमा नै सडक बढार्दाबढार्दै ब्रुमर बिग्रिएर तानेर लानुपर्ने अवस्था आयो ।

जबकी यी ब्रुमरहरुले प्रतिघण्टा १० किलोमिटरभन्दा बढि सडक सफा गर्ने भनिए पनि अहिले काठमाडौं महानगरपालिकाले किनेका पाँच वटै ब्रुमरलाई लगाएको भागअनुसार एउटा ब्रुमरको क्षमताभन्दा कम छ । क्षमताभन्दा न्यून काम गर्दा सुरुकै दिनमा यसरी प्राविधिक समस्या देखिन थालेपछि यी ब्रुमर पनि यसअघि सार्क सम्मेलनमा महानगरपालिकाले भित्राएका चिनियाँ ब्रुमरकै गति हुने देखिएको छ । उक्त चिनियाँ ब्रुमरहरु सोही सार्क सम्मेलनदेखि नै बिग्रिएर अहिलेसम्म महानगरको टेकु कार्यालयमा मिल्किएको छ ।

के छ समस्या ?
अहिले काठमाडौं महानगरपालिकाले झण्डै १२ करोड रुपियाँमा खरिद गरेका यी ब्रुमरहरुमा भ्याकुममा धेरै धुलो हुनासाथै चोक हुने हुन्छ । साथै यसले सुख्खा धुलो मात्रै बढार्ने भएकाले सडकमा हुने हिलो, कपडा तथा ढुँगाका टुक्राहरु टिप्न सक्दैन् ।

डेलेभोमा एउटै मात्रै इन्जिनले ब्रुमर पनि चल्ने र गाढि पनि गुड्ने भएकाले ब्रुमरमा समस्या आउनासाथै गाडि नै बिग्रिएर तान्नुपर्ने हुन्छ । युरो ४ मापदण्डका भनिए पनि यी ब्रुमरहरुको ट्याङ्की भरिएपछि सडकमा बढारेको धुलो उल्टै माथि फालेर बाताबरण प्रदुषित बनाउने हुन्छ । यसअघि सडक विभागले ललितपुर महानगरपालिकालाई उपलब्ध गराएको डेलेभोको ब्रुमरबाट सोही समस्या आएको थियो ।

साथै, यी ब्रुमरहरुले पिच सडकमै भएका खाल्टाखुल्टीको फोहर पनि सफा गर्न सक्दैन् । यसको बत्तिमा पनि बढि चमक नहुने भएकाले हुस्सु लागेको वा धुलो उडेको बेला सडक सफा गर्न समस्या हुन्छ । अर्को मुख्य समस्या पानी परेको बेला डेलेभोका ब्रुमरहरु नचल्ने भएकाले पानी पर्नासाथै सडक हिलै हुने र धुलो बेपत्ता उड्ने काठमाडौंका सडकहरुमा यी ‘सोफेस्टिकेटेड’ ब्रुमरहरु थन्क्याएर राख्नुपर्ने हुन्छ ।

अहिलेको प्रविधिको युगमा समेत झण्डै नौ सयको संख्यामा स्वीपरहरु राखेर सडक सफा गर्दै आएको काठमाडौं महानगरपालिकालाई आधुनिक प्रविधि प्रयोग गरी छिटो छरितोसँग सडक सफा गर्न महानगरवासीले आग्रह गर्दै आएका थिए । तर ढिलो भए पनि ब्रुमर ल्याउन चासो देखाएको महानगरपालिकाका अधिकारीहरु कमिशनको लोभमा पर्दा ब्रुमरमा भएको ठूलो लगानी खेर जाने चिन्ता बढेर गएको छ ।

यी इटालियन ब्रुमरहरुको स्पियर पार्टसमेत नेपालमा सजिलै नपाउने र प्रविधिकहरुसमेत उतैबाट मगाउनुपर्ने भएकाले यसको मर्मत झन महंगो पर्ने देखिएको छ । केही समयका लागि ठेकेदार कम्पनीले यसको मर्मत र सञ्चालनको जिम्मा लिए पनि दीर्घकालका लागि महानगरपालिकामाथि नै दायित्व बढ्ने देखिएको छ ।