श्रृखलावद्धरुपमा प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ का एसईईका बाँकी सबै परीक्षा स्थगित

Advertisement

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेश नं २ मा माध्यमिक शिक्षा परीक्षा (एसइई)को बाँकी रहेका विषयका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

श्रृङ्खलावद्ध रूपमा प्रश्नपत्र बाहिरिएको सन्दर्भमा उत्पन्न परिस्थिति र सम्बन्धित प्रदेशका सामाजिक विकास मन्त्रीको अनुरोधमा प्रदेश नं २ मा यही चैत २१ गतेसम्म सञ्चालन हुने सबै परीक्षा अर्को सूचना प्रकाशित नभएसम्म स्थगित गर्न मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ । मन्त्रालयले प्रश्नपत्र बाहिरिएको सन्दर्भमा प्रश्नपत्रको सिलवन्दी र प्याकेटको सिलवन्दी परीक्षण गरिरहेको जनाउँदै स्थगित भएका परीक्षा यही चैत महिनाभित्रै गर्ने गरी सूचना प्रकाशित गरिने पनि सो मन्त्रालयले जनाएको छ ।

परीक्षा स्थगित हुँदा २६२ परीक्षा केन्द्रका ७० हजार ५६८ परीक्षार्थी प्रभावित भएको मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । अन्य प्रदेशमा सञ्चालन हुने र प्रदेश नं २ मा यही चैत २२ गतेका लागि तय भएको परीक्षा भने यथावत रूपमा सञ्चालन हुने जानकारी दिइयो ।

मन्त्रालयले प्रश्नपत्रको सुरक्षा सतर्कता अपनाउन सबै जिल्ला परीक्षा समन्वय समितिलाई निर्देशन दिएको छ । प्रदेश नं २ अन्तर्गतका परीक्षा केन्द्रमा विज्ञान र सामाजिक अध्ययन विषयका प्रश्नपत्र परीक्षा अगावै बाहिरिएपछि परीक्षा सञ्चालन तथा व्यवस्थापन उच्चस्तरीय समितिको बैठकले उक्त निर्देशन दिएको हो । पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सो अप्रिय घटनालाई आपराधिक घटनाका रूपमा लिएर थप जिम्मेवार र संवेदनशील भई प्रदेश सरकार, स्थानीय तह, अभिभावक, विद्यार्थी सङ्गठन, शिक्षाप्रेमी, शिक्षक समुदायलगायतलाई परीक्षा तयारी र सञ्चालनमा सहजीकरण गर्न अपिल गरे ।

उनले आगामी दिनको परीक्षाको तयारीमा जुटिराख्न सम्पूर्ण परीक्षार्थीलाई अनुरोधसमेत गर्नुभएको छ । प्रदेश नं २ मा शुक्रबार सञ्चालन भएको अनिवार्य सामाजिक अध्ययन विषयको प्रश्नपत्र पनि परीक्षा अगावै बाहिरिएको घटनाको पुष्टि गर्दै उनले आजको परीक्षा स्थगित गरिएको र त्यसबाट परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई परेको गम्भीर असरप्रति दुःख व्यक्त गरे ।

परीक्षा अगावै प्रश्नपत्र बाहिरिएका कारण परीक्षाको तयारी गरेर बसेका विद्यार्थीलाई परेको मर्का, असुविधा र मनोवैज्ञानिक तनावप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको मन्त्री पोखरेलले बताए । “अति गोप्यरूपमा निर्माण र छपाइ गरी परीक्षा केन्द्रसम्म पु¥याइने प्रश्नपत्रजस्तो अतिसंवेदनशील लाखौँ विद्यार्थीको भविष्यसग जोडिएको परीक्षा अगावै बाहिर ल्याएर कानूनको उल्लङ्घन गर्ने कार्यको घोर भत्र्सना गर्दछु”, उनले भने ।

यही चैत १० गतेदेखि सञ्चालनमा रहेको एसइई यही चैत १४ गते प्रदेश नं २ अन्तर्गतका परीक्षा केन्द्रमा सञ्चालन भएको अनिवार्य विज्ञान विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएपछि उक्त दिनको परीक्षा रद्द गरी चैत २२ गते सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डले निर्णय गरेको थियो ।

प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कारवाही अघि बढाउन समिति गठन गरी आवश्यक अनुसन्धान प्रारम्भ भइसकेको जनाउँदै मन्त्रालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अनुरोध र गृह मन्त्रालयको निर्देशनमा केन्द्रीय अनुसन्धान टोली खटाइसकेको जानकारी दिएको छ ।

उक्त घटनाका सम्बन्धमा मन्त्रालयद्वारा गरिएको अपिलमा भनिएको छ, ‘परीक्षा रद्द र स्थगनबाट विद्यार्थीलाई पर्न गएको असुविधाप्रति अभिभावक, विद्यार्थीलगायत सम्पूर्ण सरोकारवालाले चासो व्यक्त गर्नु स्वाभाविकै हो, सुरक्षित वातावरणमा विद्यार्थीले परीक्षा दिन पाउने अधिकारको संरक्षण गर्न सरकार प्रतिबद्ध छ । स्थगित भएका परीक्षालाई चैत २२ गते पछि कसरी गर्न सकिन्छ भन्ने कोणबाट छलफल भइरहेको छ ।’

Advertisement

Advertisement

Advertisement