आज एक दर्जन परियोजनामा लगानी सम्झौता गर्ने तयारी

investment-summit-kathmandu-2019

काठमाडौं । सरकारले विदेशी लगानी जुटाउन आयोजना गरेको लगानी सम्मेलनको दोस्रो दिन शनिबार १२ वटा परियोजनामा लगानी सम्झौता हुने भएको छ ।

लगानी बोर्डका अनुसार यातायात, कृषि, वनपैदवार लगायतको क्षेत्रमा लगानी गर्ने गरी समझदारी पत्रमा विदेशी लगानीकर्ता र नेपाली पक्षबीच हस्ताक्षर हुन लागेको हो । सम्मेलनको अघिल्लो चरणमा यातायात र पूर्वाधार क्षेत्रमा छलफल हुने र त्यसपछि एक दर्जन परियोजनामा लगानी सम्झौता हुने बोर्डको भनाई छ ।

सम्मेलनमा भाग लिन ४० मुलुकका छ सय लगानीकर्ता काठमाडौंमा भेला भएका छन् । सम्मेलनमा लगानीका लागि ३० खर्ब रुपियाँभन्दा बढि लगानी हुने ७७ वटा परियोजनाहरु प्रस्तुत गरिएको छ । सरकारले ठूलो मात्रामा विदेशी लगानी भित्राएर देशमा संवृद्धि ल्याउने भन्दै यो सम्मेलन गरेको हो ।