‘नेपाल नयाँ आत्मविश्वासका साथ अघि बढेको छ, नयाँ उत्साहका साथ अघि बढेको छ’

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राजनीतिक अस्थिरताको अन्त्य भएसँगै मुलुक विकास र समृद्धिको यात्रामा नयाँ आत्मविश्वास र उत्साह लिएर अघि बढेको तर्क अघि सारेका छन् ।

रिपोर्टर्स क्लबको कार्यक्रममा आइतबार उनले भने, ‘आज नेपाल नयाँ आत्मविश्वास र उत्साहका साथ अघि बढिरहेको छ । अब पहिलेको जस्तो अवस्था छैन् । हामी आज हिजोकोभन्दा फरक अभियान र यात्रामा होमिएका छौं । हिजो हामी राजनीतिक लडाई लड्यौं । अधिकार प्राप्तिको लागि संघर्ष गर्यौं । हामीले प्राप्त गरेका परिवर्तनका उपलब्धिहरुलाई संस्थागत गर्दै अघि बढेका छौं ।’

ओलीले आफूहरुले द्वन्द्व व्यवस्थापन गरेको पनि स्पष्ट पारे । उनले भने, ‘हामीले मुलुकका समस्या कुशलतापूर्वक समाधान गर्दै आएका छौं । निरंकुशतालाई समाप्त पारेका छौं । अहिले हाम्रो काँधमा समृद्ध नेपाल र सुखी नेपाली बनाउने जिम्मेवारी आएको छ ।’

प्रधानमन्त्री ओलीले नेपाल एक्लैले पनि बनाउन सक्ने बताए । यद्धपी नेपाल एक्लैले बनाउँदा केही विलम्ब हुने तर्क गरे । उनले भने, ‘त्यसैले समृद्धिको लागि हामी सहकार्य गर्छौं । हाम्रो कोहीसँग पनि दुश्मनी छैन् । असमझदारी छैन् । छिमेकहरुसँगपनि असमझदारी छैन् । हामी हाम्रो सार्वभौमिकता र समानताको आधारमा सम्बन्ध अघि बढाउन चाहन्छौं ।’

नेपालभित्र जातको नाममा, भूगोलको नाममा अनेक नाउमा फाटो ल्याउन खोज्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरुलाई पनि आफूहरुले पराजित गरेको प्रधानमन्त्रीको दाबी छ । उनले आफूहरुले पृथकतालाई अन्त्य गरेको स्पष्ट पारे । उनले भने,‘देश टु्क्रयाउँछु भनेर माग राख्ने पृथकवादलाई अन्त्य गरेका छौं ।’

मुलुकको विकास र समृद्धिको लागि सबैले एकजुट भएर प्रयत्न गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ । उनले थपे, ‘हिजोमात्रै काठमाडौंमा सम्पन्न भएको लगानी सम्मेलन उत्साहपूर्वक र उपलब्धिमूलक रह्यो ।’

प्रधानमन्त्री ओलीले मुलुकमा केन्द्रीय, प्रदेश र स्थानीय सरकार गठन भएर संविधान कार्यान्वयनतर्फ अघि बढिरहेको पनि सुनाए । उनले भने, ‘संविधानका प्रावधानअनुसार हामी अघि बढिरहेका छौं । अधिकार, स्रोत तथा विभिन्न स्रोत बाँडफाँड र कर्मचारी समायोजना गरेर अघि बढेका छौं ।’ सरकारको पहिलो वर्ष कानुन निर्माण गर्नेदेखि लिएर विकासको लागि जग हाल्ने आधार वर्षको रुपमा काम भएको उनको दाबी छ ।

Advertisement

Advertisement

Advertisement