जनताको जलविद्युत कार्यक्रमको पैसा साञ्जेन र रसुवागढीलाई, बुढीगण्डकीबारे मन्त्री अस्पष्ट

Advertisement

काठमाडौं । जनताको जलविद्युत कार्यक्रमको अनुसुची हेरफेर गरेर सान्जेन जलविद्युत आयोजना र रसुवागढी जलविद्युत आयोजनालाई जनताको जलविद्युत कार्यक्रममा समावेश गरिएको छ ।

उर्जामन्त्री वर्षमान पुनको अध्यक्षतामा सोमबार बसेकोे जनताको जलविद्युत संयोजन समितिकोे वैठकले दुवै आयोजनाको एक करोड ५४ लाख कित्ता शेयर जारी गर्ने निर्णय समेत गरेको छ ।

साथै, राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना बारेको आजको छलफलमा पुर्नस्थापना, पुर्नवास तथा मुआव्जा निर्धारणसँग सम्बन्धित रहेको र छलफलमा प्रधानमन्त्री भइसकेका प्रभावित क्षेत्रका नेता बावुराम भटराईसहित गोरखा र धादिङ जनप्रतिनिधि सहभागी रहेको उर्जा मन्त्रालयले जनाएको छ ।

छलफलमा मन्त्री पुनले सरकारसँग मुआब्जा वितरणका लागि प्रर्याप्त बजेट रहेको भन्दै यो वर्ष मुआव्जा वितरणको काम अघि बढ्ने बताए । उनले पुर्नवास र पुर्नस्थापनासम्वन्धी नीति मन्त्रिपरिषद बैठकमा लगेर स्वीकृत गराउने तयारी भइरहेको बताए ।

बुढिगण्डकी जलविद्युत परियोजना राष्ट्रिय गौरवको आयोजना भएकाले जसरी पनि अगाडी बढ्ने पुनको भनाई छ । आयोजना विवादास्पद र बदनाम चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप अफ कम्पनीलाई दिएको भन्दै विरोध भइरहेको बेला मन्त्री पुनले त्यसबारे केही बोलेनन् । यसअघि उनले गेजुवालाई उक्त आयोजना सुम्पने विषयमा कुनै निर्णय भइनसकेको बताए पनि पछिल्लो समयमा भने यस विषयमा मौन् छन् ।

प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल भने जसरी पनि गेजुवालाई नै बुढीगण्डकी दिनुपर्ने पक्षमा देखिन्छन् । यसअघि दाहाल सरकारले बुढीगण्डकी गेजुवालाई निर्माण गर्न जिम्मा दिए पनि संसदीय समितिहरुको निर्देशनलाई आधार बनाउँदै शेरबहादुर देउवा नेतृत्वको सरकारले सो निर्णय उल्टाएको थियो । अहिले ओली नेतृत्वको सरकारले फेरि सोही कम्पनीलाई विना प्रतिस्पर्धा आयोजना जिम्मा लगाएको छ ।

Advertisement

Advertisement

Advertisement