अहिलेको आधुनिक युगमा पनि हावाहुरीको पूर्वानुमान गर्ने यन्त्र छैन नेपालमा

Advertisement

काठमाडौं । बारा र पर्सामा आइतबार साँझ शक्तिशाली हावाहुरी आउनुभन्दा केही समयअगाडि मात्र साँझ ६ बजे मौसम पूर्वानुमान महाशाखाले निकालेको बुलेटिनमा नेपालको मध्य भूभागमा मेघ गर्जनसहित वर्षा हुने अनुमान गरिएको थियो। त्यसको केही समयपछि नै आएको शक्तिशाली हावाहुरीको पूर्वानुमान भने सो महाशाखाले गर्न सकेन। सोमबार महाशाखाद्वारा जारी विज्ञप्तिमा भने बारा र पर्सामा क्रियाशील मौसम प्रणाली हालसम्मकै शक्तिशाली रहेको जनाइएको छ। त्यसको गति ९० किलोमिटर प्रतिघन्टा भन्दा बढी रहेको महाशाखाको भनाइ छ।

हवाई उड्डयनका लागि सिमरा विमानस्थलमा जडित मौसम स्टेसनले पनि हावाहुरीको पूर्वसंकेत गर्न सकेन। महाशाखाका अनुसार हावाहुरीको छुट्टै अनुमानका लागि आवश्यक पद्धति र उपकरण नेपालमा छैनन्। महाशाखाले मेघ गर्जनसहित वर्षा हुने अनुमान मात्र गर्ने गरेको छ।

महाशाखााका अनुसार हावाहुरी आउने पूर्वानुमान गर्न राडार नेटवर्क टेक्नोलोजी, विविध टेक्नोलोजी र इनसेम्बर वेदेर फोरकास्टिङ (संख्यात्मक मौसम पूर्वानुमान पद्धति) आवश्यक पर्ने मौसमविद् सुजन सुवेदीले बताए। हावाहुरी अनुमान गर्न थप प्रविधि र जनशक्ति आवश्यक पर्ने उनको भनाइ छ। ‘अब हावाहुरीको पूर्वानुमानबारे अध्ययनका लागि थप प्रविधि आवश्यक छ,’ उनले भने। अहिले नेपालमा भएको प्रविधिबाट हावाहुरीलाई मेघ गर्जनसहित वर्षा हुने अनुमानभित्र राखिएको उनले जानकारी दिए।

बारा–पर्साको हावाहुरी अहिलेसम्मकै शक्तिशाली
महाशाखाद्वारा जारी विज्ञप्तिमा यस विषयलाई उठाइएको छ। ‘हालको न्यून जनशक्ति र अत्याधुनिक प्रविधि, जस्तैः मौसमी राडार नेटवर्क, स्वचालित मौसमी केन्द्रको नेटवर्क कमी हुँदा पनि पूर्वानुमान महाशाखाले आफ्नो दैनिक मौसम पूर्वानुमानमा यस्ता मौसमी गतिविधिलाई समेट्ने कोसिस गर्दै आएको छ,’ विज्ञप्तिमा भनिएको छ। यस प्रकारका मौसम प्रणालीले पार्ने जनधनको क्षति न्यून गर्न हावाहुरीलगायत मौसमको पूर्वानुमान र चेतावनीका लागि पर्याप्त जनशक्तिका साथै अध्ययन–अनुसन्धानसहित अत्याधुनिक प्रविधि अत्यावश्यक रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मौसम पूर्वअनुमान गर्न देशभर १६ ठाउँमा फिल्ड स्टेसन राखिएका छन्। नेपालको आफ्नै सेटलाइट नहुँदा जापानको सेटलाइटबाट इमेज लिनुपरेको मौसमविद् गंगा नगरकोटीले बताइन्।

देशभरका १६ वटा स्टेसनबाट आएका सूचना र सेटलाइट इमेजका आधारमा मौसमको पूर्वानुमान गर्ने गरिन्छ। यसैगरी डिफरेन्ट मोडल आउटपुट (विविध नमुना अध्ययन)बाट पनि मौसम पूर्वानुमान गर्ने गरिएको सुवेदीले जनाए। स्थानीय मौसम गतिविधि र माथिल्लो वायुमण्डलमा निम्न चापीय क्षेत्र निर्माण भई बारा र पर्सामा अनुमान गरेभन्दा शक्तिशाली हावाहुरी आएको सुवेदीको भनाइ छ। यसैगरी मौसमविद् नगरकोटीले बारा पर्सामा अनुमान गरिएभन्दा बढी हावाहुरी आएको बताइन्। ‘मध्यक्षेत्रमा हावाहुरी आउने अनुमान त गरेका थियौं तर अनुमानितभन्दा शक्तिशाली आयो,’ उनले भनिन्।

नागरिक दैनिककबाट ।

Advertisement

Advertisement

Advertisement